Tuesday, May 6, 2025

वायुमण्डलमा रातो झण्डा

डा. कृष्णप्रसाद ओली
१७ वैशाख, काठमाडौँ ।

विश्व तापमानको वृद्धि कम गर्ने विषयको बहस सुरू भएको दशकौँ बितिसक्यो । यो बीचमा विश्व तापक्रमको वृद्धि र यसले जलवायुमण्डलमा पारेको असर र वायुमण्डल प्रदूषण मापन गर्ने केन्द्रहरू स्थापना भए ।

प्रभावलाई रोक्न विश्वभरि नै धेरै प्रयासहरू भए र भइरहेका छन् । त्यस्ता प्रयासहरूका बाबजुद विश्वमा औद्योगिक क्रान्ति सुरू हुनपूर्व अर्थात् ‘जीवाश्म इन्धनको’ अत्यधिक प्रयोगभन्दा अगाडिको वायुमण्डलमा कार्बनडाइअक्साइड (सीओ–टु) को मात्राभन्दा जीवाश्म ऊर्जाको प्रयोगपछि अत्यधिक बढेको पाइएको छ ।

वर्तमानमा मानवीय क्रियाकलापबाट कार्बनडाइअक्साइडको उत्सर्जन मानव इतिहासमा नै सबैभन्दा बढी पाइएको छ । हालै प्राप्त वैज्ञानिक तथ्यांकअनुसार सन् १८५० लाई आधार वर्ष मान्ने हो भने हाल वायुमण्डलमा कार्बडाइअक्साइडको मात्रा १ सय ८२ प्रतिशतले बढेको छ । बढ्नेक्रम जारी छ । त्यसको विस्तृत अध्ययन र विश्लेषण बेलायतस्थित विश्व स्रोत संस्था वल्ड रिसर्च इन्स्टिच्युटले गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय कानून प्रतिपादनका बाबजुद कार्बनडाइअक्साइड उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरू संयुक्तराज्य अमेरिका, चीन, भारत, युरोपियन युनियन, रसिया, जापान, ब्राजिल, इन्डोनेसिया, इरान र क्यानडाजस्ता राष्ट्रहरूले दरिलो कदम नचलाए वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्व घटाउन असम्भवजस्तै छ ।

पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्वको वैज्ञानिक मापनको सन् १९५६ देखि अमेरिकाको हवाईस्थित ‘माउना लावो’ मापन केन्द्र स्थापनाका भएसँगै सुरू गरिएको थियो । सो केन्द्रको हालैको मापनअनुसार २०२५ को मार्च महिनामा नै वायुमण्डलमा दैनिक मापनको कार्बनडाइअक्साइडको घनत्व ४ सय ३० पीपीएमभन्दा बढेको पाइएको छ ।

यो नै एउटा मापन केन्द्र हो, जसले पृथ्वीको सबैभन्दा लामो समयको वायुमण्डलीय कार्बनडाइअक्साइडको घनत्व मापन गरेर तथ्यांक राखेको छ ।

अन्तर्राष्ट्रिय ‘क्रोयोस्फियर’ सम्बन्धी काम गर्ने संस्था ‘इन्टरनेसनल क्रोयस्फियर क्लाइमेट इनिसिएटिभ (आईसीसीआई) एउटा अर्को संस्था हो, जो पृथ्वीको हिमाच्छादित भूभागको संरक्षणमा लागिपरेको छ । यो संस्थाको अध्ययनअनुसार हालैमा हाम्रो वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्वको मुख्य थ्रेसहोल्ड ४ सय ३० पार्टस पर मिलियन (पीपीएम) नाघेको बताइएको छ ।

औसत दैनिक वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४ सय ३० पीपीएम नाघ्न लागेको सम्भवतः पृथ्वीको ३० लाख वर्षमा यो पहिलो पटक होला । जसले जीवाश्म इन्धनबाट हुने उत्सर्जनको कारण जलवायु परिवर्तनको प्रकोपमा रातो झन्डा देखाउनुको साथै अझ अत्यधिक खतराको बाटोतिर धकेलेका छ । यो कुरा आईसीसीआईको प्रतिवेदनमा पनि उल्लेख छ ।

विश्व वायुमण्डलको ‘ग्लोबल एयर रिपोर्ट २०२४’ अनुसार वायु प्रदूषणका कारण २०२१ मा विश्वमा ८.१ मिलियन मानिसको मृत्यु भएको थियो । जसमा भारतमा मात्रै करिब २.१ मिलियन मानिसहरूको मृत्यु भएको बताइएको छ ।

दक्षिण एसियाका अरू देशहरूमा पनि वायु प्रदूषणबाट मृत्यु हुनेको संख्या धेरै छ । वायु प्रदूषणका अलावा तापक्रम वृद्धिका कारण अरू समस्याहरू पनि देखा परेका छन् ।

वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढेको कारण पृथ्वीको ध्रुवीय र मध्यमान समुद्री क्षेत्रमा रहेका सामुद्रिक, प्राणीहरूमा सामुद्रिक जलको रसायनमा परिवर्तन भई अत्यन्त हानिकारक प्रभावहरू देखिन लागेका छन् ।

उत्सर्जित कार्बनडाइअक्साइडमध्ये करिब २५ प्रतिशतजति समुद्रमा नै घुलिने हुँदा समुद्रमा ‘कार्बोनिक एसिड’ बन्न गई सामुद्रिक प्राणीहरूको खाद्यशृंखला र उनीहरूको हड्डी र खबटा बन्ने प्रक्रियामै नकारात्मक प्रभाव पर्ने कुरा अध्ययनहरूले देखाएका छन् ।

हिमालय र तिब्बती पठारमा हिउँ र पहाडहरूले विश्वको जलवायु पद्धतिलाई सुचारू रूपले राख्न अत्यन्त महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ अवस्थित विशाल अग्ला पर्वतमालाहरू जसमा र जसको वरपर हिमनदी, हिउँ र पर्माफ्रस्ट बसेका छन् । तिनीहरूको सञ्जालबाट धेरै नसा नदीहरूको उत्पत्ति भएको छ । त्यस्तो एक अर्कामा निर्भर अति नै जोखिमयुक्त ‘क्रोयोस्फियर’ आज धरापमा पर्न गएको छ ।

इसिमोड र यूएनडीपीको अध्ययनअनुसार हिमनदीहरूको पिण्डमा २००९ देखि २०१९ सम्ममा करिब ६५ प्रतिशत घटेको देखाएको छ । यसैगरी नेपालका अन्तरदेशीय नदीहरूका स्रोत रहेका करिब ४७ हिमतालहरू भविष्यमा फुट्ने सम्भावनामा छन् । यसरी हिमाल र हिमनदीहरू पग्लिँदा केवल स्वच्छ पानीको अभाव, ऊर्जा उत्पादन र सिँचाइमा हुने प्रभावमा मात्र सीमित नरही रोग–व्याधिहरू आउन सक्ने सम्भावना पनि छन् ।

यसैगरी, हिमालय र ध्रुवीय क्षेत्रमा रहेमा असंख्य हिमनदी र हिउँलगायत स्थायी रूपले जमेर रहेका क्षेत्रका वातावरणहरूमा (हिमनदी र पर्माफ्रस्ट) लाखौँ करोडौँको संख्यामा रहेका सूक्ष्म जीवहरू निष्क्रिय छन् । हिमाल र हिमनदीहरू पग्लिनुका साथै तिनीहरू आफू जमेर बसेको कैदखानाको अवस्थाबाट लाखौँको संख्यामा निस्किई अन्य पारिस्थितिकीय प्रणाली र मानव बस्तीहरूमा पसी कहिल्यै नदेखिएका रोगहरू आउन सक्ने सम्भावनाको खतरा बढेको छ ।

मानव र अन्य जैविक विविधताको रक्षाका लागि अनवरत कार्य गरिरहेका उपयोगी सूक्ष्म जीवहरू, हिउँ पग्लिएका अवस्थामा बाँच्न नसकी अन्य घात हुने सम्भावना पनि अध्ययनहरूले देखाएका छन् । निष्क्रिय रहेका रोगजनक सूक्ष्म जीवहरू जमेर रहेका ठाउँहरूमा हजारौँ र लाखौँ वर्षहरूदेखि रहेका हुन्छन् । हिउँ र हिमनदी पग्लिँदै गएपछि तिनीहरू बाहिर निस्कन्छन् ।

स्वास्थकर्मीहरूको अध्ययनअनुसार हालसम्मका महामारीहरू प्रायः दुई ठूला कारणहरूले हुने गरेका थिए । मानव जातिहरूको नयाँ ठाउँमा अतिक्रमण गरी बसोबास गरेका कारण नयाँ रोगव्याधि आउँथ्यो । त्यस्तै आफ्नो बासस्थानबाट विस्थापित भई मानव बसोबास गर्ने ठाउँमा आउजाउ गर्ने जंगली जनावरहरूसँगको उठबस र लसपसका कारण महामारी आएका थिए ।

हाल आएर अर्को तेस्रो कारणको कुरा उठिरहेको छ, त्यो भनेको निष्क्रिय रहेका रोगजनक सूक्ष्म जीवहरू र मानव जातिबीचको सम्भावित अन्तरक्रियामा वृद्धि । यो अवस्था खासगरी प्राकृतिक छेकवारहरू, जसले सदियौँदेखि मानव निर्मित र प्राकृतिक पर्यावरणीय पद्धतिलाई अलग राखेको थियो । पर्यावरणीय छपनीको काम गर्दथ्यो । त्यसलाई हामीले बिगा¥यौँ र ध्वस्त पा¥यौँ ।

त्यही छेकवारको अवस्था पृथ्वीका ध्रुवीय क्षेत्र, हिमाल, हिमनदीहरूको थियो । जो विश्व तापक्रमको वृद्धिसँगै द्रुत गतिमा पग्लिइरहेको छ । लाखौँ वर्षदेखि अहंरूपमा सुप्त अवस्थामा निष्क्रिय भई थिचिएर बसेका सूक्ष्म जीवहरूको जल तथा स्थलक्षेत्रका वातावरणमा हुन गइरहेको र हुन जाने विस्तारका कारण भविष्यमा अन्य नयाँ महामारीहरू आउने सम्भावना अझ बढेको छ ।

यी सबै अवस्था ल्याउने कारक तत्व भनेको हरितगृह ग्यास वृद्धि नै हो । यसकारण हरितगृह ग्यास उत्सर्जन घटाउनुबाहेक अन्य विकल्प देखिँदैन । खासगरी हरित र स्वच्छ ऊर्जाका क्षेत्रमा धेरै कार्यहरू सुरू भएका छन् । उदाहरणका लागि युद्धस्तरमा विकसित भएको स्वच्छ ऊर्जा उत्पादन प्रविधिमा विकास, विद्युतीय सवारीसाधन, लो अल्टिच्युड टेक्नोलोजी, ड्रोन प्रविधिको विकास, हाइड्रोजनको भण्डारण र ट्रान्स्पोर्ट, उद्योगमा हरित ऊर्जाको प्रयोग आदिले के देखाउँछ भने, वर्तमान जलवायु परिवर्तनको प्रभाव न्यून गरी पूर्णरूपमा कार्बन तटस्थतामा जाने प्रतिबद्धतामा राष्ट्रहरू लागेका देखिन्छ ।

उदाहरणका लागि, स्वच्छ ऊर्जा प्रवद्र्धन र विकासका लागि चीनले नवीन ऊर्जा, आणविक ऊर्जा, विद्युत् प्रसारण, विद्युत् भण्डारण, विद्युतीय यातायात साधन र रेल्वेमा ठूलो लगानी गरेको छ । औद्योगिकलगायत यातायात क्षेत्रहरूमा कार्बन फुटप्रिन्ट घटाउन, नवीन प्रविधि विकासमा छलाङ मारेको छ । स्वच्छ ऊर्जा विकासमा सन् २०२३ मा मात्र धेरै लगानी गरिएको थियो ।

सो लगानीबाट १.६ खरब डलर आम्दानी भएको थियो । यस्तैगरी, भारत सरकारले पनि स्वच्छ ऊर्जामा जोड दिँदै आएको छ । सन् २०३० सम्ममा सम्पूर्ण ऊर्जा खपतको ५० प्रतिशत जीवाश्म इन्धनभन्दा स्वच्छ ऊर्जावाट प्राप्त गर्ने र विस्तारै पूर्ण स्वच्छ ऊर्जामा जाने अठोट गरेको छ । स्वच्छ ऊर्जा प्रविधिमा द्रुतगतिको नवीन अविष्कार र त्यस्तो ऊर्जाको उत्पादन लागतमा कमी आउन लागेको हुँदा जीवाश्मा ऊर्जाबाट स्वच्छ ऊर्जामा फड्को मार्न लामो समय नलाग्ने अध्ययनहरूले देखाएका छन् ।

विस्तारै हिमनदी र हिमाल पग्लँदै सकिने त्रासदीपूर्ण दुःखद् घटना देख्नु नपरोस् र सामुद्रिक रसायनमा परिवर्तन आई सामुद्रिक प्राणीको अवसान नहोओस् भन्नेतर्फ सबै कार्बन उत्सर्जक राष्ट्रहरू शीघ्र लाग्नुपर्ने आवश्यकता छ । यसका लागि चीन, भारत, रूस, युरोप, ब्राजिल र अन्य देशहरू लागिपर्न थालेका छन् ।

प्रमुख औद्योगिक देशहरू अगुवा भएर हरित र स्वच्छ ऊर्जा प्रवद्र्धनमा लागेमा जीवाश्म ऊर्जालाई विस्थापित गर्ने वैकल्पिक स्वच्छ ऊर्जामा ठूलो अनुसन्धान भई पृथ्वीको रक्षा र मानव निर्मित वैश्विक सभ्यता चिरकालसम्म रहनेछ । यसो नगरे हामीले हाम्रा हिमाल हिमनदी पुनः देख्ने कुरा सपना मात्र हुनेछ, किनभने हिमाल हिमनदी र क्रोयोस्फियर बनाउन पृथ्वीले करोडौँ वर्ष खर्चिएको छ र यो बिग्रिएपछि पुनः निर्माण गर्न अति गा¥हो हुन्छ ।

वातावरणविद् ओली चीनका लागि नेपाली राजदूत हुन् । कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार