Wednesday, November 5, 2025

खेतमा भेटियो विषालु रसेल भाइपर

१९ कात्तिक, धनगढी ।

कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो ।

धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको स्थानीय भोजराज ढुंगानाले जानकारी दिए । उनले भने, ‘अजिंगर फेला परेको भनेर स्थानीयले मलाई खबर गरे, गएर हेर्दा अत्यन्त विषालु सर्प रसेल भाइपर रहेछ ।’

ढुंगानाका अनुसार सो क्षेत्रमा पछिल्लो ३ वर्षयता लगातार यी सर्प देखा परेका छन् । गत वर्ष घरमा मान्छे सुतेको खाटमुनि रसेल भाइपर भेटिएको थियो । बेलैमा देखा परेपछि उद्धार गरेर सुरक्षित स्थानमा छोडिएको ढुंगानाको भनाइ छ ।

त्यसैगरी २ वर्षअगाडि पनि खेतमा धान काट्ने बेला मेसिनले च्याप्दा मरेको अवस्थामा सर्प भेटिएको थियो । सर्प संरक्षण एवं उद्धारमा सक्रिय टीकापुरका लक्ष्मण उपाध्यायले कैलालीमा रसेल भाइपर सर्प नियमित भेटिइरहेको बताए ।

आफूले पनि थुप्रै रसेल भाइपरको उद्धार गरिसकेको सुनाउँदै यो सर्पले टोकेमा मान्छेको तत्काल मृत्यु हुने गरेको उनले उल्लेख गरे । उपाध्यायले यो वर्ष कैलालीको टीकापुर क्षेत्रबाट विभिन्न प्रजातिका ६ सय २८ वटा सर्पको उद्धार गरेर मान्छेलाई सम्भावित जोखिमबाट जोगाएका छन् ।

केही वर्षदेखि सर्प उद्धारको काम गरिरहेकाले हालसम्म ३ हजार ५ सय ५३ वटा सर्प उद्धार गरिसकेको उनको भनाइ छ ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार