Tuesday, April 15, 2025

हुँदैछ वर्षा, प्रदूषण घट्ने प्रक्षेपण

२६ चैत, काठमाडौं ।

काठमाडौं उपत्यकासहित अन्यत्र वायु प्रदूषणको समस्या बढिरहेका बेला पश्चिमी तथा स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशका विभिन्न भेगहरूमा मध्यम, हल्का र छिटपुट वर्षा हुने भएको छ ।

आज अपराह्बाट कोशीदेखि लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा गराउने मौसमी प्रणालीको असर देखिने भएको हो । पर्सी बिहीबार (२८ चैत)सम्म वर्षा गराउने प्रणाली सक्रिय भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज (मंगलबार)को तुलनामा भोलि बुधबार र पर्सी बिहीबार वर्षाको प्रभाव केही बढी देखिने छ । ‘ठूलो र निरन्तर वर्षा होइन, हल्का र मध्यम प्रकृतिको वर्षा हुनेछ’, उनले भने, ‘अहिलेको मौसमी प्रणालीले बढिरहेको प्रदूषणलाई हटाउन मुद्दत गर्नेछ ।’

बंगालको खाडीबाट वर्षा गराउने जलवाष्प नेपाल प्रवेश गरेको र पश्चिमी वायु पनि केही बढी सक्रिय भएकाले प्रदूषण रोकथाममा अहिलेको मौसमी प्रणाली सहयोगी बन्ने उनको भनाइ छ । वर्षा गराउने प्रणाली र प्रदूषणले काठमाडौंसहित देशका धेरै भेगको आकाश प्रष्ट नखुलेको दाहालले बताए ।

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले बुलेटिन जारी गरेको छ । अहिलेको मौसमी प्रणालीले कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूमा छिटपुट वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार