२८ चैत, काठमाडौं ।
स्थानीय वायु, बंगालको खाडी र पश्चिमी वायुको तेहेरो प्रभावले देशैभरीको मौसम प्रभावित बनेको छ ।
हल्का र मध्यम वर्षा धेरै ठाउँमा जारी छ । अन्यत्रको तुलनामा कोशी र मधेशका विभिन्न भेगहरूमा वर्षाको मात्रा केही बढी छ । छिटपुट र हल्का वर्षासँगै मौसम धुमिने क्रम आज बिहीबार दिनभरजसो जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘कोशी, मधेश, वाग्मती, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’
कोशी र मधेश प्रदेशका केही भेगहरूमा भारी वर्षाको सम्भावना यथावत रहेको, उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
२४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम पानी परेमा हल्का वर्षा मान्ने गरिन्छ । १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १ सय मिलिमिटरसम्मलाई ‘भारी’, २ सय मिलिमिटरलाई ‘भारी वर्षा’ र २ सय भन्दा माथिको वर्षालाई मौसमविद्हरू ‘अति भारी’ मान्ने गर्छन् ।
चैते झरीसँगै पश्चिमी वायु सक्रिय बनेपछि काठमाडौंसहित देशका धेरै भेगमा बढेको प्रदूषण घटेको छ । बुधबार (२७ चैत)सम्म २ सय र सो भन्दा माथि रहेको काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) आज विहानदेखि निकै सुधार आएको छ ।
औसतमा उपत्यकाका तीनै जिल्लाको एक्युआई १ सय ५० हाराहारी छ । आज अपराह्सम्ममा वायु गुणस्तर अझै सुधार हुने वातावरण विभागको प्रक्षेपण छ ।