Friday, October 25, 2024

प्लास्टिक र बोतलले कुरुप बन्दैछन् पर्यटकीय स्थलहरू (भिडियाेसहित)

म्याग्दी– राउण्ड अन्नपूर्णको मुक्तिनाथ, जोमसोम, मार्फा, रुप्सेछहरा, तातोपानी, घोडेपानी, खोप्रा, घान्द्रुक लगायतका पदमार्ग सिसा र प्लास्टिकजन्य फोहोरको थुप्रोले कुरुप बन्न थालेका छन्।

पर्यटकीय पदमार्गका उत्कृष्ट गन्तब्यहरु मात्र होइन सडक सञ्जालमा जोडिएका सवै दुर्गम भेगका वस्तीहरु विभिन्न मदिरा, पेय पदार्थ र मिनरल वाटरका बोटलहरु,चाउचाउ, विस्कुट, चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदूषित भएका हुन्।

तर, यसको समाधान गर्नेतर्फ कसैको पनि ध्यान पुगेको छैन। प्लास्टिक सहजै नसड्ने, जमिनले ग्रहण गर्न नसक्ने, वर्षाेंसम्म जस्ताको तस्तै रहने एक प्रकारको प्राकृतिक ग्याँसको सहउत्पादन हो। हामीकहाँ उपलब्ध हुने अधिकाँश प्लास्टिकका कच्चा पदार्थ प्राकृतिक ग्यास र पेट्रोलियम हुन्।

बाह्य पर्यटकहरु मात्र होइन बेनी–जोमसोम घुम्न आउने आन्तरिक पर्यटक र शैक्षिक भ्रमणमा आउने स्कुल तथा कलेजका विद्यार्थीहरुले समेत वातावरण र प्रदूषणको व्यवहारिक ज्ञान नराख्दा यस्ता सामग्रीहरु यत्रतत्र फाल्ने गर्दछन्।

‘सडकसँगै गाडी पुग्यो तर बस-गाडी पार्किङ स्थलमा फोहोरको थुप्रो लाग्यो। न बिक्री गर्नेले डष्टवीन राखेका छन्। न उपभोक्ताले आफ्नो फोहोर आफैले व्यवस्थापन गर्छन। ब्यापारी र उपभोक्ता दुवैमा संस्कारको अभाव देखियो,’ यस क्षेत्र घुम्न आएकी छात्रा प्रीति कार्कीले भनिन् । ‘होटल तथा रेष्टुरेन्टको अगाडि चिटिक्क देखिन्छ तर पछाडि सिसाका बोटल र फोहोरको थुप्रो छ।’

प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न अन्नपूर्ण सर्किटका पर्यटकीय वस्तीमा प्रयास थालिए पनि त्यो प्रभावकारी छैन। आन्तरिक पर्यटकको चाप बढेपछि पर्यटकीय क्षेत्र र पदमार्गमा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन झन चुनौतिपूर्ण बन्दै गएको छ। आफूले प्रयोग गरेपछि यस्ता सामग्रीहरु जथाभावी नफाल्न आन्तरिक एवं वाह्य दुवै पर्यटकलाई आग्रह गदै जनचेतना जगाउन आवश्यक देखिन्छ। यस्ता फोहरलाई व्वस्थापन गर्न स्थानीय सरकारले छुट्टै व्यवस्था गर्न आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ।

‘सिसा र प्लास्टिकजन्य बोटल, झोला समेतका फोहोरजन्य पदार्थ ब्यवस्थापन गर्न गाउँपालिका-नगरपालिकाले छुट्टै स्थानीय कर लगाउनुपर्छ,’ एक्याप अन्र्तगत गठित अन्नपूर्ण गाउँपालिका, संरक्षण समितिका संयोजक तेज गुरुङले भने, ‘वियर, पानी, पेयपदार्थ, चाउचाउ समेतका प्लास्टिक प्याकि¨को खोल गर्ने व्यवस्था नभएकाले समस्या भएको हो।’

वस्ती तथा पदमार्ग यत्रतत्र सिसाको बोटलहरुको थुप्रो लाग्न थालेपछि पर्यटकीय वस्ती घोडेपानीका केही व्यवसायीले खाल्डो खनेर पुर्न थालेका छन्।  तर त्यो पर्याप्त छैन। घोडेपानीमा मात्र होइृन अन्नपूर्ण पदमार्गका प्रायः सवै वस्तीमा प्रयोग गरी फालिएका खाली सिसाका बोटल र चाउचाउ, विस्कुट, चकलेट, खानेतेलका प्याकेट समेतले प्रदुषण गरेको छ।

‘वियरसमेत विभिन्न मदिराका सिसाजन्य बोटलहरुले पर्यटकीय क्षेत्र तथा माथिल्ला वस्तीको सौन्दर्य घटेपछि चार वटा ठूला खाडल बनाई पुरेका छौं, थप दुई वटा निर्माण भैरहेका छन,’ अन्नपूर्ण गाउँपालिका, ६ घारका सचिव बाबुराम भट्टराईले भने, ‘वस्ती क्षेत्रमा यत्रतत्र थुप्रो लागेका वोटलहरुले प्रदूषणमात्र गरेको छैन, फुटेका सिसाका टुक्राहरु खेतवारी तथा वाटोमा पुगेकोले स्थानियको खुट्टामा गाडिने समेतका दुर्घटनाको जोखिम पनि बढाएको छ।’

पर्यटकीय वस्तीमा मात्र होइन वस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र वेस क्याम्पमा पनि यस्ता सिसाजन्य बोटलहरु समस्याको रुपमा छन । यस्ता सिसा र टिनका बोटलहरुले हिमाली पर्यावरणमा गम्भीर प्रभाव परिरहेको छ। धौलागिरी वेस क्याम्प लगायत अन्नपूर्ण, निलगिरी, चुरेन समेतका हिमाली क्षेत्रमा यत्रतत्र सिसाका बोटल र क्यानका बोटलले फोहोर भएका छन्।

‘ढुवानीको सहज नभएकोले पुनःप्रयोग गर्न सकिने यस्ता सिसाको बोटलहरु यहीं थुप्रिएका हुन्। एक्याप सिसाको पुनःप्रयोगको प्रयास गर्दैर्छौं। अन्यथा सडकको पहुँच मार्गसम्म ढुवानी गराएर कवाडीमापुर्याउन लगाउछौं,’ एक्याप घान्द्रुकका संरक्षण अधिकृत विदुर कुईकेलले भने, ‘पर्यटकीय वस्तीमा मिनरल वाटरका बोटलहरु विस्थापित गरि सकेका छौं।’

‘घोडेपानीमा प्लाष्टिक जन्य फोहोर ब्यवस्थापन गर्न छुट्टै ‘फोहोर घर’ निर्माण गरेका छौं। तर नसढ्ने खालका सिसाका बोटल समस्या भएका छन्। पुनःप्रयोगका लागि लैजाने कवाडीवाला ढुवानीमा लागत बढी पर्ने भएकोले लैजान मान्दैनन्।’ घोडेपानीका पर्यटन ब्यवसायी टेकसर बुद्धुजाले भने, ‘आवश्यक पर्दा निकाल्न मिल्ने गरी अहिले लुकाउन मात्र खाडलखनी सिसाबोटल गाडेका हौं।’

हामीकहाँ प्रयोगमा आइसकेका र सार्वजनिक स्थलमा रहेका प्लाष्टिक संकलन गरेर पुनः प्रयोग तथा उत्पादन गर्ने कार्य निकै कठिन छ।

पछिल्लोपटक नेपालमा मात्र होइन विश्वभर नै प्लाष्टिकको प्रदूषण र यसको घातक असरको बारेमा चिन्ता व्यक्त भइरहेको छ। जमिनमा मात्र होइन, समुन्द्रमा समेत पछिल्लो समय प्लाष्टिकको प्रदूषण निकै बढिरहेको छ। यसको प्रयोगका बारेमा शिक्षित वर्गमा समेत पर्याप्त जानकारीको अभाव रहेको छ। यस पटकको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषण निर्मुल पारौं.’ सके पुनः प्रयोग नसके बहिस्कार गरौं’ रहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार