Friday, October 25, 2024

पत्रपत्रिकामा आज : यार्चाको रखवाली, पर्वतारोहण छैन सरकारको प्राथमिकतामा

काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले वातावरणीय मुद्दा खासै समेटेका छैनन् । कान्तिपुर दैनिकमा ‘यार्चाको रखवाली’ शीर्षकमा तस्वीर र समाचार प्रकाशित छ।

यार्चा संकलन खुला भई नसकेपनि हिमालका काख र पाटनहरु यतिखेर यार्चा रखवाली गर्नेको भीडले भरिएको छ । सुरविन्द कुमार पुनले यो फोटोसँगै शब्द पनि लेखेका हुन् ।

‘मकवानपुर भूक्षयको उच्च जोखिम’ शीर्षकमा प्रताप विष्टले हेटौंडाबाट कान्तिपुरमै समाचार लेखेका छन् । समाचार अनुसार भूक्षय र पहिरोको दृष्टिकोणले मकवानपुर उच्च जोखिम क्षेत्र मानिन्छ । भुकम्पपछि भौगर्भिक सूचना प्रणलीबाट गरिउको अध्ययन अनुसार मकवानपुरमा साना–ठूला गरेर १ हजार ६३ पहिरो गइसकेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले शुक्रबार सार्वजनिक गरेको १०० दिने कार्ययोजनामा पर्वतारोहण कतै उल्लेख नभएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

‘योजनामा परेन पर्वतारोहण’ शीर्षकमा छेटु शेर्पाले सो समाचार लेखेका हुन् । सोही पत्रिकामा हरिणको फोटो पनि प्रकाशित छ । गोकर्ण गल्फ क्लबको चौरमा रहेका हरिणको तस्वीर सुनिता डंगोलले खिचेकी हुन् ।
त्यसैगरी गोरखाबाट शिव उप्रेतीले ‘ठेकेदार मालामाल विकास निर्माण सुस्त’ शीर्षकमा लेखेको समाचार पनि सोही पत्रिकामा प्रकाशित छ । यस्तै फौजी किराले मकैखेती सखाप पारेको स्याङ्जाको खबर पनि छ ।

नागरिक दैनिकमा सहरी विकासको कुरुप नमुना समेटिएको समाचार पहिलो पृष्ठमै प्रकाशित छ । हिमाल लम्साल र खिलक बुढाथोकीले लेखेको खबरमा ‘दशकौं बित्यो, पूरा भएनन् आयोजना ’ शिर्षक दिइएको छ ।

राजधानी दैनिकमा ‘चट्याङ लागेर १३ जना घाइते, दुई गम्भिर’ शीर्षकको समाचार प्रकाशित भएको छ । राजधानीमै पर्यटकीय हब बन्दै गरेको मुस्ताङको ढुम्बातालको समाचार पनि छ । चीनको एक कम्पनीलाई चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिइएको खबर पनि धेरै पत्रपत्रिकाले प्रकाशित गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकालाई घेरो लगाएको चक्रपथमा रेल सञ्चालनको संभाब्यता अध्ययन गर्न चाइना रेल–वे २५ औं व्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार