
काठमाडौं– वन क्षेत्र घट्दै गइरहेका बेला वन तथा वातावरण मन्त्रालयले हरेक स्थानीय तहमा कम्तिमा १० प्रशित कायम गर्ने योजना अगाडि सारेको छ।
सहरी क्षेत्रमा सडक किनारा र सार्वजनिक क्षेत्र र घर छेउछाउ तथा ग्रामीण क्षेत्रमा सार्वजनिक क्षेत्र, खेतवारीमा पनि रुखविरुवा रोपेर हरियाली कायम गर्ने योजना रहेको मन्त्रालयका प्रवक्ता धनन्जय पौडेलले बताए।
नेपालमा हाल वन र बुट्यान क्षेत्र गरी ६६ लाख १० हजार हेक्टर वन क्षेत्र (मुलुकको कुल भुभागको ४४ दशमलव ७४ प्रतिशत) रहेको छ। तर, ७ सय ५३ स्थानीय तहमध्ये झण्डै एक सय ३२ तहमा वन नै नरहेको प्रवक्ता पौडेल बताउँछन्।
‘पूर्वपश्चिम राजमार्गको उत्तरतिर तुलानात्मक रुपमा बढी वन छ। तर, तराई–मधेस र भित्री मधेस कम वन छ,’ उनले भने, ‘भौगोलिक क्षेत्रमा वनको सन्तुलन कायम गर्न पनि कम्तिमा १० प्रतिशत हरियाली भनेका हौं।’
यद्यपी, कतिपय स्थानीय तहमा ६० प्रतिशतभन्दा बढी वन क्षेत्र रहेको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा ‘नेपाल स्वच्छ वातावरण महाभियान २०७५’ सुरुवात गर्दैछ। उक्त महाभियान अन्तर्गत आगामी एक वर्षभित्र सबै स्थानीय तहसँग समन्वय र सहकार्य गरेर हरियाली प्रवर्द्धन गरिने पौडेलको भनाइ छ।
रणनीति
प्रवक्ता पौडेलका अनुसार हरियाली प्रवर्द्धनका लागि सहरी क्षेत्रमा सहरी वन कार्यक्रमलाई अघि सारिने छ, भने ग्रामीण भेगमा निजी र कृषि वनलाई प्रवर्द्धन गरिनेछ। मुलुकमा २ हजार ४ सय ५८ निजी वन रहेपनि सहरी क्षेत्रमा न्यून छ।
उनी भन्छन् ‘निजी वनलाई प्रोत्साहन गरिरहेकै छौं। तर, कम जमिन भएकाहरूलाई ‘रुख मात्र के खाने? भन्ने समस्या हुन्छ। त्यसका लागि कृषिसँगै रुख रोप्न प्रोत्साहन गरिनेछ।’ फलफूल, तरकारी, अन्नबाली, घाँससँगै रुख रोप्नुलाई कृषि वन भनिन्छ। पौडलका अनुसार कृषि वनलाई दर्ता गर्नुपर्देन्, जसरी निजी वन दर्ता गर्नु अनिवार्य रहन्छ।
यी बाहेक सरकारी तथा सार्वजनिक संस्थान, विद्यालय, पाटीपौवा र अन्य खाली चौरमा हरियाली कायम गर्न आवश्यकता अनुसार रुख विरुवा, फलफूल रोप्न नर्सरीलाई प्रवद्र्धन गरिने उनले बताए।
अहिले विशेषगरी काठमाडौं उपत्यकामा हरियाली न्यून रहेको र सडक किनारामा पनि हरियाली प्रवर्द्धन गरिएको तथा हाल स्तरोन्नति भइरहेको चक्रपथ किनारामा पनि रुखविरुवा रोप्नतर्फ नसोचिएको भन्दै आलोचना भइरहेको छ।
प्रवक्ता पौडेल हरियालीले अक्सिनको मात्रामा बढाउने तथा प्रदूषण नियन्त्रणमा पनि केही हदसम्म सहयोगी भूमिका खेल्ने र वातावरण पनि सुन्दर बनाउने भएकाले सबैले हातेमालो गर्न जरुरी ठान्छन्।
मन्त्रालयले सहरी क्षेत्रमा सहरी वनको अवधारणा अघि सारेको छ। नेपालले सन् २०१५–२०२५ को दशकलाई एक घर–एक रुख, एक गाउँ–एक वन तथा एक सहर–एक पार्कको नारासँगैै वन दशकको घोषणा गरेको परिवेशमा सहरी वनको अवधारणा अघि सारिएको बताउने पौडल भन्छन्, ‘सहरको स्वस्थता अनि दीगोपन यहाँको हरियालीसँग जोडिएको छ।’ त्यसका लागि सबै स्थानीय तहसँग छलफल हुने उनले बताए।





