वन विज्ञ डा. बज्राचार्यको निधन

२ असार, काठमाडौँ ।

प्राकृतिक स्रोत व्यवस्थापन तथा वन अर्थशास्त्रका ज्ञाता डा. केशरमान बज्राचार्यको निधन भएको छ ।

ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ९१ वर्षीय बज्राचार्यलाई केही समययता छाती सम्बन्धी स्वास्थ्य समस्या थियो । सोमबार (१ असारमा) साँझ उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२५ असार, १९९३ मा काठमाडौँमा जन्मिएका डा. बज्राचार्य नेपालको वन क्षेत्रको विकास, वन योजना निर्माण, सामुदायिक वन व्यवस्थापन तथा प्राकृतिक स्रोतका ज्ञाता हुन् ।

विगतमा राष्ट्रिय वन योजना कार्यदलका टोली नेता, वन उत्पादन विकास बोर्डका परियोजना प्रमुख, संयुक्त राष्ट्र संघीय खाद्य तथा वन संगठन (एफएओ) मा वन अर्थशास्त्री समेत रहेका बज्राचार्य वन र प्राकृतिक स्रोतसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा प्राविधिक सल्लाहकार थिए ।

साथै उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा नेपाल वन प्राविधिक संघ (एनएफए) का पूर्व अध्यक्ष हुन् । डा. बज्राचार्यले नेपालमा वैज्ञानिक वन व्यवस्थापन, वन नीतिको विकास तथा सामुदायिक वन अभियानलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वन प्राविधिकहरू स्मरण गर्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार