Friday, October 18, 2024

बाँदर नियन्त्रण गर्न वनमा फलफूलका बिरुवा

६ साउन, गोरखा
पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनमै’ कार्यक्रम घोषणा गरेको छ । सोही अनुसार शनिबार (५ साउनमा) एकै दिन खाली जमिन, खोल्सा तथा सामुदायिक वनमा ६ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।

‘पन्ध्रौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार नगरपालिका क्षेत्रका जंगलमै बाँदरका लागि खाने कुरा उब्जाउन फलफूलका बिरुवा लगाउने योजना बनाएका थियौँ’, उनले भने । सोही कार्यक्रमअन्तर्गत सामुदायिक जङ्गल तथा खाली जग्गामा फलफूलका बिरुवा सार्न थालिएको हो ।’

जंगलमा बाँदरका लागि आहारको व्यवस्था गर्न सकिए बाँदरलाई जंगलमै रोक्न सकिने उनको भनाइ छ । नगरपालिकाले वन उपभोक्ता समिति, टोलसुधार समितिलगायतसँग समन्वय र सहकार्य गरेर बाँदर नियन्त्रणका लागि जंगलमा फलफूलका बिरुवा लगाउन थालेको हो ।

पहिलो चरणमा गाउँघरमा वरपर उपलब्ध हुने फलफूलजन्य बिरुवा आँप, केरा, कटहर, वरपीपल, स्वामी, किम्बु, अम्बा, लिची, कटहर, लप्सीलगायत बिरुवा रोपिएको नगरप्रमुख चिन्तनले बताए । सामुदायिक वन, खोल्सी तथा बाँझो जमिनमा लगाइएको फलफूलको उत्पादन हुन थालेसँगै बाँदर जंगलमा भुल्ने र बाँदरबाट खेतीबाली जोगाउन सकिने विश्वास नगरपालिकाको छ ।

नगरभित्रका कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका सदस्य, टोलसुधार समितिका सदस्य, नगरवासी, राजनीतिक दलका प्रतिनिधिलगायतका पनि सहभागितामा वृक्षरोपण गरिएको हो । चिन्तनले भने, ‘फलफूलका बिरुवा रोपिएका स्थानको संरक्षण र दिगोपनाका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै बाँकी स्थानमा वृक्षरोपण गर्ने नगरपालिकाको योजना छ ।’ सबै पक्ष मिलेर काम गर्न सकियो भने दीर्घकालीन रुपमा बाँदरबाट बालीनाली जोगाउन सकिने उनको विश्वास छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार