३२ असार, चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आतंक सिर्जना गरिरहेको जंगली हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिएर दाह्रा काटिएको छ ।
निकुञ्ज प्रशासन र सुरक्षा निकायको टोलीले बुधबार राति नियन्त्रणमा लिएर सो हात्तीलाई स्याटेलाइट कलर जडान समेत जडान गरिएको छ । ध्रुवे हात्तीले चितवन निकुञ्ज र आसपासका भेगमा अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ ।
यही २० असारमा भरतपुर महानगर–२३, बेलहट्टाका पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका र उनका ४ वर्षीय छोरा भरतको यही हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । पछिल्लो यो घटना पश्चात निकुञ्ज प्रशासनले ध्रुवे हात्तीको निरन्तर खोजी र निगरानी गरिरहेको थियो ।
घटनापश्चात् थप जनधनको क्षति हुन नदिन निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नयाँ गोरख गणका नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाहरूको समन्वयमा हात्तीको निरन्तर खोजी र निगरानी भइरहेको थियो।
यही क्रममा निकुञ्जभित्रको सुखिभार पोस्ट नजिकैको क्षेत्रमा फेला परेको ध्रुवेलाई प्राविधिक टोलीले डार्ट गरि बेहोस बनाएर नियन्त्रणमा लिएको हो । यो हात्तीको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित कलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
उनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दाह्रा समेत काटिएको हो । दाह्रा काटिएपछि हात्तीलाई पुनः प्राकृतिक बासस्थानमा छाडिएको छ । स्याटेलाइट कलर प्रविधि जडान गरिसँगै कारण अब हात्ती विचरण गरिएको क्षेत्र तत्कालै पत्ता लाग्ने भएकाले नियमित अनुगमनसँगै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा ठूलो सहयोग पुग्ने निकुञ्जको विश्वास छ ।





