Friday, September 20, 2024

पत्रपत्रिकामा वातावरण समाचार : कामीरीताको कीर्तिमान, तस्करको निशानामा रेडपाण्डा

काठमाडौं –आज प्रकाशित दैनिक पत्रपत्रिकाले कामीरीता शेर्पाले कीर्तिमान राखेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । सर्वोच्च शिखर सगरमाथा चुचुरोमा २२ औँ पटक पाइला टेक्दै सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका थामेका शेर्पाले नयाँ विश्व किर्तीमान गरेका हुन् । यस अगाडी २१ औं पटकको रेकर्ड बनाएका उनले बुधबार धेरैपटक सगरमाथा चढ्ने नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

त्यस्तै हुम्लामा मकालु एयरको कार्गे जहाज दुर्घटनामा चालका दलका दुबै सदस्यको मृत्यु भएको खबर सबै पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

‘तस्करको निशानामा रेडपाण्डा’ शिर्षकको समाचार कारोबारले दैनिकले छापेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौंको २०७४ सालको तथ्यांक हेर्दा सबैभन्दा बढि रेडपाण्डाको छालाको विक्री तथा ओसारपसारका घटना देखिएका छन् । राससको खबरलाई कारोबारले प्रकाशित गरेको हो ।

यस वर्ष १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ । यस्तै स्याङ्जाको गल्याङ नगरपालिका –७ को पटकाङमा चट्याङ पर्दा स्थानीय यामलाल अधिकारीको कुखुरा फार्मका बेच्ने तयारीका ४ सय ५० वटा कुखुरा मरेको खबर पनि सो दैनिक पत्रिकामा छ ।

कान्तिपुर दैनिकमा दार्चुलाको अपीनाम्पा संरक्षण क्षेत्रमा सेना राख्न माग गरिएको खबर छ । मनोज बडुले लेखेको समाचारमा सीमा र संरक्षणका लागि सेनाको इकाई स्थापनाको माग सरोकारवाला निकायले गरिसकेका छन् ।

म्याग्दीको रुप्से झरना मासिने गरी विद्युत उत्पादन गर्न चलखेल सुरु भएको समाचार कान्तिपुरमा छ । त्यसैगरी लाङटाङ र गोसाइँकुण्ड प्लास्टिकमुक्त बनाइने शीर्षकको खबर बलराम घिमिरेले लेखेका हुन् ।

३ वर्ष्भित्र रणनितीक योजना बनाएर अभियान थालिएको हो । कान्तिपुरमै कपनको धूलो र हिलोको व्यथा समेटेर विमल खतिवडाले खबर लेखेका छन् । यस्तै ललितपुर खोकनाको एउटा रुखको छहारीमा आराम गर्दै बसेका सर्बसाधारणको फोटो पनि प्रकाशित छ ।

राजधानीमा ‘वन्यजन्तु हिँड्न अन्डरपास’ शिर्षकमा समाचार प्रकाशित छ । चितवनबाट आएको खबरलाई राजधानीले राससबाट लिएको हो । नारायणगढ–मुलिन सडक आयोजनाले वन्यजन्तुमैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न चारवटो ‘अन्डरपास’ निर्माण गरेको छ ।

अन्नपूर्ण पोष्टमा ‘डम्पिङ साइट भरियो’ शीर्षकको समाचार छेटु शेर्पाले लेखेका छन् । उपत्यकाको फोहोर विसर्जन गर्ने एउटै स्थल नुवाकोटको ओखरपौवा ल्यान्डफिल्ड साइट फोहोरले भरिएको छ । त्यस क्षेत्रमा अब फोहोर विर्सजन गर्न झण्डै नसकिने अवस्था सिर्जना भएको छ ।

सुनकोसी नदी दोहनमा जनप्रतिनिधीको आडमा व्यवसायीको दादागिरी चलेको खबर सिन्धुलीबाट नागरिकमा अनिल भण्डारीले लेखेका छन् । हाकाहाकीले केही समय अगाडी सुनकोसी दोहनको सम्बन्धमा विशेष रिपोर्ट प्रकाशित गरेको थियो ।

त्यस्तै नागरिक दैनिकमै सरकारी मिलेमतोमा बाग्मती नदीमा ठेकेदारहरुले दोहन गरेको समाचार मदन ठाकुरले लेखेका छन् । यस्तै ‘मेलम्ची खानेपानी अन्तिम चरणमा’ शिर्षकको खबर नागरिक दैनिकमा प्रकाशित छ । मुस्ताङ र खोटाङमा पर्यटकको आकर्षण सम्बन्धी खबर छ ।

ताजा समाचार

सम्बन्धित समाचार