परराष्ट्रले स्थापना ग-यो ‘वातावरण कूटनीति शाखा’

५ असोज, काठमाडौँ ।

जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ ।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले पारिरहेको प्रभावलाई अन्तर्राष्ट्रियस्तरमा जोड्न मन्त्रालयले यस्तो शाखा स्थापना गरेको हो । यसअघि परराष्ट्रमा यस्तो छुट्टै शाखा थिएन ।

मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचना खडा भएको हो । यो शाखाको नेतृत्व तत्काललाई मन्त्रालयका उप–सचिवले गर्ने बताइएको छ ।

संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप) तथा अन्य वातावरण र जैविक विविधताका अन्तर्राष्ट्रिय सभा/सम्मेलनहरूमा नेपाल निरन्तर सहभागी भइरहँदा विगतमै परराष्ट्र मन्त्रालयमा यस्तो शाखा हुनुपर्ने बहस हुँदै आएको थियो । ‘वातावरण कूटनीति शाखा’ ले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्ने र सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने छ ।

नेपालका लागि कोप र वातावरणका अन्य अन्तर्राष्ट्रिय सभा सम्मेलनको फोकल निकाय संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालय हो । मन्त्रालयको जैविक विविधता महाशाखाले यस्ता पक्ष नियाल्दै आएको छ ।


ताजा समाचार

सम्बन्धित समाचार