७ असोज, न्यूयोर्क।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।
उनले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै जलवायु संकट समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका हुन् । आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा गुटेरेसले यस्तो बताएका हुन् ।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित उच्चस्तरीय कार्यक्रममा गुटेरेससँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सम्बोधन गर्ने कार्यक्रम छ ।
टर्की र अस्ट्रेलियाले आगामी नोभेम्बरमा कोप–३१ जलवायु सम्मेलन सहआयोजना गर्दै छन् । गुटेरेसले रूसले युक्रेनमा आक्रमण गरेयता ५ प्रमुख पश्चिमी तेल कम्पनीले करिब पाँच खर्ब अमेरिकी डलर नाफा कमाएको उल्लेख गर्दै विकासशील देशलाई तापक्रम वृद्धिसँग अनुकूलन गर्न परिचालन गरिएको जलवायु वित्त करिब ३४ अर्ब डलर मात्र रहेको बताए । विश्वभर जलवायु परिवर्तनका असर तीव्र भइरहेका बेला उनको यस्तो आह्वान आएको हो ।
युरोपमा बढ्दो गर्मी र डढेलोदेखि नेपाल तथा तिब्बतमा हिमनदी पग्लिँदा आएको विनाशकारी बाढीसम्मका घटनाले जोखिम बढाइरहेका छन् । तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमाभन्दा अस्थायी रूपमा माथि जाने सम्भावनाले चरम मौसमी घटनाको जोखिम थप बढाउने वैज्ञानिकले चेतावनी दिएका छन् ।
कार्यक्रममा अर्थतन्त्रलाई हरित बनाउने, उत्सर्जन घटाउने तथा विकासशील मुलुकलाई जलवायु लक्ष्य पूरा गर्न र जोखिम सामना गर्न आवश्यक वित्त जुटाउने विषयमा जोड दिइने छ । टर्कीले सन् २०३५ सम्म विश्वव्यापी अन्तिम ऊर्जा खपतमा विद्युतको हिस्सा ३५ प्रतिशत पुर्याउने ‘३५×३५’ लक्ष्य अघि सारेको छ । तर नवीकरणीय ऊर्जाको हिस्सा स्पष्ट गरिएको छैन ।
यसबीच, जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका लागि जलवायु वित्त र क्षति तथा नोक्सानी कोष महत्वपूर्ण विषय बन्ने देखिएको छ । नेपालका विदेशमन्त्री शिशिर खनालले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने जलवायु जोखिममा रहेका देशका लागि आर्थिक सहयोग परोपकार नभई कानूनी तथा नैतिक दायित्व भएको बताएका छन् ।
गैरनाफामूलक संस्था युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सकी राहेल क्लिटसले जलवायु परिवर्तनबाट बढी प्रभावित तर कम वित्तीय सहयोग पाएका देशका लागि क्षति तथा नोक्सानी कोषमा नेपालको भूमिका महत्वपूर्ण हुने बताइन् । गुटेरेसले जलवायु न्याय र कमजोर मुलुकको आवाजलाई विश्वमञ्चमा प्रभावकारीरूपमा उठाउँदै आएका उनले बताइन् ।
रासस/एएफपी





