Thursday, November 28, 2024

चतुष्पदे भकुण्डे भुतः सालक

प्रदीप भट्टराई

संस्कृत भाषामा ‘शल्लक’ भनिने स्तनधारी चौपायालाई हामी आम मानिसहरूले ‘सालक’ भनेर चिन्ने गर्दछौँ । नेपाली शब्दकोषमा सालकलाई ‘जीउभरि माछाका जस्तै कत्लै कत्ला भएको, लामो माटो पुच्छर हुने, हरेक खुट्टामा ५/५वटा नङ हुने, जल थल दुवैमा हिँड्ने चतुष्पद प्राणी’ भनी चिनाउन खोजिएको छ । अंग्रेजी भाषामा यसलाई Pangolin ‘पाङ्गलिन’ भनिन्छ भने धेरैले ‘प्याङ्गोलिन’ भनेको पाइन्छ । (यस आलेखमा पनि धेरैले भन्ने र सुन्ने गरेको ‘प्याङ्गोलिन’ शब्दको प्रयोग भएको छ ।)

प्याङ्गोलिन मलेसियन शब्द ‘Penggulung’बाट बनेको हो जसको अर्थ ‘जो गुडुल्की पर्छ’ भन्ने हुन्छ । सालकलाई नेपालका विभिन्न स्थानमा भिन्न भिन्न नामहरूले चिनिने गरेको पाइन्छ जस्तै तराईमा ‘हिलेमाछो’ वा ‘सालमछरी’, पश्चिम पहाडमा ‘भकुण्डे भुत’, त्यस्तै लमजुङतिर ‘पाखेमाछो’ आदि ।

सालकको दैनिकीमा यसका ३ मुख्य भागहरू खपटा, जिब्रो र नङग्राको महत्व अरू अङ्गहरूभन्दा बढी भएको पाउँछौँ । खपटा बचावटको लागि, जिब्रो आहाराका लागि र नङग्रा बसोबासका लागि । सालकको अधिकांश भाग खपटाले ढाकिएको हुन्छ । खपटा केराटिन भन्ने पदार्थबाट बनेको हुन्छ । यही पदार्थबाट हाम्रो औंलाको नङ, रौं पनि बन्ने गर्दछ । खपटा दह्रो, कडा साथै बाक्लो हुने हुनाले सालकले सम्भावित जोखिमको अवस्थामा अरूबाट बच्न खपटालाई ढालको रूपमा प्रयोग गर्दछ । औसत रूपमा एक वयस्क सालकको करिब २० प्रतिशत तौलको हिस्सा खपटाको हुन्छ ।

आफ्नो शरीरको तुलनामा निकै लामो जिब्रो हुने सालकले यही जिब्रोको सहायताले विशेषतः कमिला र धमिरा जस्ता कीराहरू खाने गर्दछ । सालकको ¥याल टाँसिने प्रकृतिको हुनाले कीराहरू जिब्रोमा टाँसिएर आएपछि सालकले कीराहरूलाई सिधै निल्ने गर्दछ । यसो गर्नुको कारण सालकको दाँत नहुनु पनि हो । कीराहरू पचाउन सालकले साना साना ढुङ्गाहरू पनि खाने गर्दछ । एउटा सालकले एक वर्षमा सरदर ७ करोड कीराफट्याङ्ग्रा खान्छ । सालकका छोटो खुट्टामा भएका लामा र तिखा नङग्रा वासस्थानको लागि दुलो खन्न, रूख चढ्न, कीराहरूको घर भत्काउन उपयोग गर्दछ ।

यस निशाचर जनावरले आफूमाथि कुनै खतरा भएको महसुस ग¥यो भने टाउकोदेखि पुच्छरसम्मै लुकाएर भकुण्डो जस्तो डल्लो परेर बस्दछ । यिनीहरू आफ्ना शत्रुहरूलाई टाढा राख्न पुच्छरमा रहेको ग्रन्थिबाट एक किसिमको दुर्गन्धित तरल पदार्थ निकाल्न पनि सक्छन् ।

सालकका विभिन्न ८ प्रजातिहरूमध्ये ४ प्रजाति अफ्रिका र ४ प्रजाति एसिया महादेशमा पाइन्छन् । दक्षिण एसियामा मुख्यतया २ प्रजातिका सालकहरू पाइन्छन् । कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) । यी दुवै प्रजाति विश्वव्यापी रूपमा नै अवैध चोरी सिकार तथा व्यापार हुने प्रजातिभित्र पर्दछन् । कालो सालक बङ्गलादेश, भारत, नेपाल, चीन, लाओस, थाइल्याण्ड, आदि देशहरूमा पाइन्छ भने तामे सालक बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानमा पाइन्छ । कुनै कुनै लेखहरूमा बङ्गलादेशमा सुण्डा प्रजातिको सालक पनि पाइने उल्लेख गरेको भेटिन्छ ।

नेपालमा सालकको उपस्थितिलाई हेर्दा यो ५५ प्रतिशत जिल्लामा भेटिएको छ । सालक नेपालका ४३ जिल्लामा पाइन्छन् । सालक संरक्षण कार्ययोजना (सन् २०१८–२०२२) का आधारमा तामे सालक कञ्चनपुर, बारा, पर्सा, सुर्खेत, चितवन लगायत ७ जिल्लामा पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्जमा पनि तामे सालक पाइन्छ । कालो सालक काठमाडौं, ताप्लेजुङ, चितवन, धादिङ, बाग्लुङसहित २३ जिल्लामा पाइन्छ । संरक्षित क्षेत्रहरू जस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरूण राष्ट्रिय निकुञ्ज, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कालो सालक पाइएको छ । सो कार्ययोजनाले कास्की, नुवाकोट, डडेल्धुरा, सल्यान, सिरहा, मोरङलगायत १४ जिल्लामा दुवै या एक प्रजातिको सालक पाइएको पुष्टि गर्दछ ।

जोखिम

सालक जोखिममा पर्नुको प्रमुख कारण मानव जाति नै हो भन्दा अतिशयोक्ति नहोला । विगत एक दशकमा १० लाखभन्दा बढी सालक मानवीय प्रवृत्तिका कारण मारिएका छन् । यसैले पनि सालक विश्वभर अवैध तस्करी हुने स्तनधारी जनावरको सूचीमा पहिलो स्थानमा आउँछ । परम्परागत औषधिमा खपटाको प्रयोग, मांस आहार, अन्धविश्वास, सोख आदि मानवीय आचरणले विकराल अवैध व्यापारलाई बढावा दिइरहेको छ । सालकको मासु खान वा अरूलाई खुवाउनुलाई प्रतिष्ठाको रूपमा पनि लिने गरिन्छ । हामीले सन् २०१९को अन्त्यदेखि हालसम्म पनि भोगिरहेको एक स्वास्थ्य विपत्ति (कोभिड १९)लाई सालकको उपभोगसँग जोडिएको छ ।

दोस्रो कारणमा वासस्थानमा हानि तथा क्षति पु¥याउनु हो । वन विनास, वासस्थान संकुचन तथा खण्डिकरण, जलवायु परिवर्तन, मिचाहा प्रजातिको उपस्थिति, कृषिको अस्वस्थकर विस्तार आदि सालकको वासस्थनमा नकारात्मक असर पु¥याउने कारण हुन् । किसानको साथी भनिने यो प्राणी हाम्रै कृषि प्रणालीका कारण जोखिममा छ । विद्यमान विषादीको अत्यधिक उपयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारेको हामीलाई अवगतै छ । यही व्यवहारले सालकको मूख्य आहारा रहेका कमिला, धमिरा जस्ता कीराहरूको सङ्ख्यामा कमि आई खानाको स्रोतहरू नाश भइरहेका छन् । आहाराको खोजीमा भौँतारिरहँदा मानव पाशोमा पनि परिरहेका छन् ।

अवैध व्यापार
विश्वस्तरमा नै सबैभन्दा बढी अवैध व्यापारको चपेटामा परेको प्रजातिमध्ये सालक अग्रपङ्तिमा नै पर्दछ । जिउँदो तथा मृत पूर्ण शरीर, मासु मात्र, खपटा मात्र वा सबै एकैपटक पनि समातिएका घटनाहरू उल्लेख्य छन् । उदाहरणका लागि सन् २०१९ मा मात्रै लगभग ७४ टन सालकको खपटा सिङ्गापुर, हङकङ, मलेसिया, भियतनाम, युगाण्डामा समातिएको थियो । एक अनलाइन समाचारका अनुसार नाइजेरियाले सन् २०२२ मा अवैध व्यापार नियन्त्रण गरी कुल १ हजार ६ सय १३ टन सालकको खपटा जफत गरेको थियो । अनुसन्धानले सन् १९७० को दशकयता सालकको संख्या आधाभन्दा कम भइसकेको देखाएको छ ।

नेपालमा पनि विभिन्न समयमा जिउँदो सालक, सालकको खपटा समातिएको हामीले सुनेकै छौँ । नेपालमा सालकको अवैध व्यापार तथा चोरीसिकारमा विभिन्नस्तरका तस्करहरू सक्रिए भएको भनिए पनि देशभित्रै खपत हुनेभन्दा पनि अन्यत्र देशमा पठाउनकै लागि सम्लग्नता देखिएको छ । नेपालमा विसं २०६९ देखि २०७५ साउन मसान्तसम्म नेपाल प्रहरीले सालकको खपटा मात्रै १०० केजी बरामद गरेको छ । नेपाल प्रहरीको सक्रियतामा यही वर्ष (२०८० पुसमा) संखुवासभाबाट २ सय ८ किलो सालकको खपटासहित अभियुक्तहरूलाई पक्राउ गरिएको थियो । यो परिमाणको सालकको खपटा एकै स्थानबाट पक्राउ परेको नेपालमा पहिलोपटक हो । योभन्दा पहिला २०७४ माघमा स्तानबुल हुँदै नेपाल आएका दुई जना चिनियाँ नागरिकले १ सय ६१ किलो सालकको खपटालाई ६ वटा सुटकेसमा हालेर ल्याएको बखतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले पक्राउ गरेको थियो । १० केजीभन्दा कम जफत भएका घटनाहरू धेरै छन् ।

सामान्यतया अवैध सिकार पश्चात सिकारीभन्दा एक तह माथिको अपराधी व्यक्तिले मासुको हकमा स्थानीयस्तरमा खपत हुने भए स्थानीय ग्राहकसम्म वा नजिकको रेस्टुरेन्टमा पु¥याई नाफा असुल्छन् । यदि स्थानीयस्तरमा खपत नहुने भए मासु र खपटा दुवै सहरी क्षेत्रसम्म पु¥याउँछन् । मागअनुसार राष्ट्रिय वा अन्तर्राष्ट्रिय गन्तव्य कुन हो यकिन गरी निकासी गर्ने गर्दछन् । सिमापार पठाउनु पर्ने वा धेरै देशहरू छिचोल्दै जानु पर्ने भएमा विभिन्न उपायहरू अपनाइन्छ । यस प्रक्रियामा विभिन्न तहगत सम्लग्नता हुनु नै पर्ने हुन्छ । स्रोतबाट गन्तव्यसम्म पुग्न कानूनका छिद्रहरू खोज्ने, भ्रष्टाचारीको सहयोग लिने वा वैध व्यापारको आडमा अवैध व्यापार गर्ने प्रक्रिया निरन्तर छ ।

दुई चिनियाँ नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सालकको खपटालाई कछुवा हो भन्दै ढाँटेका थिए । यद्यपि कछुवाको व्यापार पनि अवैध नै हो । तस्करहरूले सामुद्रिक बाटोलाई मुख्य मार्गको रुपमा प्रयोग गर्दै आएका छन् । सालकका खपटालाई उस्तै किसिमका सामान वा वैध व्यापार हुने कृषि उपजहरू, कोइला, काठ, गधाको छाला, प्लास्टिक तथा धातुको फोहोर आदि सामानसँग मिसाएर पठाउने गर्दछन् । कम प्रविधि जडान भएका विमानस्थलहरू पनि निकासीको मार्गको रुपमा प्रचलित छन् । निकासी कागजात नै नक्कली बनाउने, हुँदै नभएको ठेगाना राख्ने, बिच बाटोमा अर्कै प्याकेजिङ्ग गर्ने, बेग्लै सामानको कागजात बनाउने जस्ता विधि पनि अपनाउने गरेको पाइन्छ । अपराधीहरू नयाँ–नयाँ विधि प्रयोग गरेर, कानून कार्यान्वयन गर्ने निकायलाई छल्दै आफ्नो अभिष्ट पुरा गर्न लागिपरेका छन् ।

संरक्षण तथा पहलकदमी
सालकको संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तमा व्यापक चासो, बहस तथा पहलकदमी भएका छन् । सबै प्रजातिहरू ती पाइने देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनद्वारा संरक्षित छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN)ले तामे सालकलाई सङ्कटापन्न (Endangered) र कालो सालकलाई अति सङ्कटापन्न (Critically Endangered) सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धि (CITES) ले सालकलाई आफ्नो अनुसूची १ (Appendix I) मा समावेश गरेका छ । अत्यधिक अवैध व्यापार भएकाले सन् २०१७ मा दक्षिण अफ्रिकामा भएको CITES को १७ औँ पक्ष राष्ट्रहरूको सम्मेलनले सालकका सबै प्रजातिहरूलाई अनुसूची १ मा ल्याएको हो । यसले सालकको कुनै पनि प्रकारको व्यापारलाई निषेध गर्दछ ।

नेपाल सरकारले सालकलाई संरक्षित जनावरको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा सालक मार्ने, खरीद–बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सन् २०१२ यता हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबारलाई विश्व सालक दिवसको रुपमा मनाइने गरिन्छ । तसर्थ आज (१७ फेब्रुअरी २०२४) विश्वभर नै विभिन्न कार्यक्रमहरू गर्दै विश्व सालक दिवसका कार्यक्रम तय गरिएका छन् ।

नेपालमा भएका प्रयासहरू

सालक संरक्षण तथा अवैध चोरी सिकार र व्यापार नियन्त्रणका लागि नेपालमा नीतिगत प्रयासदेखि स्थानीयस्तरका क्रियाकलापहरू भएका छन् । नेपाल सरकारले सन् २०१८देखि २०२२लाई समेटेर बनाएको सालक संरक्षण कार्ययोजना नीतिगत प्राथमिकता बोध गराउने मानकका रूपमा लिन सकिन्छ । प्रस्तुत योजनाको समयावधि सकिएकोले योजना कार्यान्वयनको अवस्थिति मुल्याङ्कन गर्दै नयाँ योजना ल्याउनु पर्ने देखिन्छ । नेपालले सालक अनुगमन निर्देशिका सन् २०१९ जारी गरेको छ । नेपालभरबाट वैज्ञानिक दृष्टिले स्तरीय साथै एकरुपता कायम भएको तथ्याङ्क सङ्कलन गर्न यो निर्देशिका तयार गरिएको हो ।

स्थानीयस्तरमा सालक संरक्षण तथा यससम्बन्धी अपराध नियन्त्रणका लागि विभिन्न क्रियाकलापहरू भएका छन् । जस्तै मकवानपुरमा सालक पार्कको स्थापना भएको छ । यसको उद्देश्य सालक मित्र जीव हो, मित्रको संरक्षण गर्नु बुझ्झकी मित्रको कर्तव्य हो भन्ने सन्देश जनमानसलाई दिनु रहेको छ । काठमाडौंको मच्छेगाउँको बाघभैरव सामुदायिक वन क्षेत्रमा ‘सालक पदमार्ग’ घोषणा गरिएको छ । स्थानीयहरूको अग्रसरतामा सालक संरक्षण कार्यक्रमहरू सञ्चालित छन् ।

अन्त्यमा

सालक एकान्त मन पराउने, शान्त वातावरणमा बस्न रुचाउने, लजालु, मानवलाई हानि नगर्ने, कृषि प्रणालीको एक अभिन्न सहयोगी जीव हो । सालक संरक्षण कार्यले व्यापकता पाउनुका साथै संरक्षणको मुद्दा मूलधारमा ल्याई नियामक साथै कार्यान्वयन गर्ने निकायहरूले पनि अपनत्व लिएको पाइएको छ । क्रमिक रूपमा हुँदै गरेका संरक्षणका कार्यहरूलाई निरन्तरता दिँदै कानून कार्यान्वयन गर्ने निकायहरू, आम जनमानस र सालक पाइने स्थानका स्थानीयहरूको हातेमालोमा जोड दिनुपर्ने देखिन्छ ।

नीतिगत व्यवस्थाहरू समय सापेक्ष परिमार्जित गर्दै जाने, स्थानीयहरूलाई सालकको महत्व बुझाउने, कृषि कर्महरू वातावरण मैत्री बनाउन प्रोत्साहन गर्ने, सालकको वासस्थान पहिचान तथा संरक्षण गर्ने आदि कार्यहरूलाई अझ प्रभावकारी रुपमा बढाउँदै लैजानु वान्छनीय हुनेछ । अवैध चोरी सिकार नियन्त्रणका लागि कानून कार्यान्वयन गर्ने सबै निकायमा कार्यरत अधिकारीहरूको क्षमता अभिवृद्धि गर्दै नयाँ आउने चुनौतीहरू सामना गर्न प्रोत्साहित गर्दै जानु पर्दछ । निर्वाचित जनप्रतिनिधिलाई सामेल गर्ने, स्थानीय पाठ्यक्रममा यसको महत्व बुझाउने सामग्री समेट्ने, शिक्षक तथा विद्यार्थीलाई सुसूचित गर्ने, अवैध कार्यको निगरानी गर्ने संयन्त्रको विकास गर्ने, सूचना आदान—प्रदान आदि पहलकदमी लिनुपर्ने हुन्छ । सालकको अवैध व्यापारको प्रचलित बाटो, ओसारपसार गर्न अपनाइएका विधिहरू, घटना हुन सक्ने सम्भावित स्थानहरू र हालसम्म सम्लग्न भई पक्राउ परेकाहरूबाट प्राप्त सूचनाहरूको विश्लेषण, अध्ययन गरी तथ्याङ्कले निर्देशित गर्ने कदमहरू चालिनु पर्दछ ।

विश्व जगतले भोगिरहिएको समस्या भएका कारण एक निकाय वा एक देशले मात्र एकलौटी हिसाबले कार्य गर्दा गन्तव्यमा पुग्न नसकिने यथार्थ सबै सामु उजागर भएकै पाटो हो । त्यसैले राष्ट्रियस्तरमा काम गर्ने निकायले एकआपसको सहयोगमा स्थानीय तह साथै राज्यव्यापी र अन्तर्राष्ट्रियस्तमा कार्य गर्ने निकायले दुई देश वा अन्तर महादेशीय समन्वयलाई जोड दिँदै अगाडि बढ्नु हामी सबैका लागि श्रेयस्कर बाटो हुनेछ ।

भट्टराई दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (सावेन)का वरिष्ठ वातावरण अधिकृत हुन् । यो लेखलाई संस्थाको भनाइको रुपमा लिइने छैन ।

ताजा समाचार

सम्बन्धित समाचार