४ मंसिर, काठमाडौं
पक्षीका प्रजातिको अन्तरदेशीय सहज विचरण र संरक्षणमा हातेमालो औल्याउँदै नेपालका पक्षी अनुसन्धाताले चीनको बेइजिङमा आफ्नो प्रस्तुति राखेका छन् ।
दोस्रो एसियाली चरा सम्मेलनमा नेपालका ६ जना पक्षी अनुसन्धाताले आफ्नो प्रस्तुती राखेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसिएन)का दुर्लभ चराको सातो सूचीका सदस्य कृष्ण भुसालले जाडो याममा बसाइँसरी नेपाल आउने अति संकटापन्न बगाले बगेडीको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे ।
उनको प्रस्तुती विगत ७ वर्षको अनुगमन, बासस्थानको अवस्था, संरक्षण कार्यक्रम र चुनौतीबारेमा केन्द्रित रह्यो । तराइसहित नेपालका विभिन्न भेगमा अत्यधिक शिकारको कारण लोप हुने अवस्थामा पुगेको यो प्रजातिलाई आइयूसीएनले ‘अति संकटापन्न’को सूचीमा राखेको छ ।
लामो दूरीमा बसाइँसराइ गर्ने चराको अनुसन्धान र संरक्षणमा सहकार्य गर्न सकिने विकल्पबारे विषयविज्ञहरू संलग्न विश्वस्तरीय जमघटमा नेपाली टोली सहभागी भएको हो । एसियामा पाईने चरा र तीनको बासस्थानको अनुसन्धान र संरक्षणमा क्रियाशील विभिन्न ३९ देशका ५ सय २८ चरा अनुसन्धाता तथा संरक्षणकर्मी उक्त सम्मेलनमा सहभागी थिए ।
५ दिने सम्मेलन सोमबार (३ मंसिरमा) सम्पन्न भएको हो । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साइन्सेजको आयोजनामा सम्मेलन आयोजना भएको हो ।
नेपालमा गिद्ध संरक्षणको अवस्था र स्याटेलाईट ट्याग गरेका गिद्धको अन्तरदेशीय विचरण र संरक्षणमा हातेमालोको औचित्यबारेमा नेपाल पन्छी संरक्षण संघ (बिसीएन)का गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकित विलास जोशी र दुर्लभ सानो खैरो गिद्धको बारेमा पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले कार्यपत्र प्रस्तुत गरे ।
नेपालमा चरा अनुसन्धानको अवस्थाबारे थर्डपोल कन्जरभेन्सीका दीक्पाल कर्माचार्य र घर भँगेराको प्रजनन् चक्रबारेमा अनुज घिमिरेले प्रस्तुती राखे । त्यसैगरी, काठमाडौं उपत्यकाभित्रका हरित क्षेत्र र यसमा चरा विविधताको अन्तर सम्बन्धबारेमा सविना वस्थीले पोस्टर प्रस्तुत गरिन् ।
साथै सम्मेलनले एसिया क्षेत्रमा काम गर्ने चरा अनुसन्धानकर्ताहरूको छाता संस्था ‘एसियन अर्निथोलोजिकल एलायन्स’ पनि गठन गरेको छ ।