Tuesday, November 19, 2024

निकुञ्जका बाघ पाल्न बजेट अभाव

४ मंसिर, चितवन
चितवन राष्ट्रिय निकुञ्जका ७ वटा खोर अहिले बाघले भरिएका छन् । विभिन्न स्थानबाट मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने, स्थानीयमा त्रास फैलाउने जस्ता गतिविधि गरेपछि नियन्त्रणमा लिएर खोरमा राखिँदै आएको छ ।

५ वर्षदेखि केही महिनाअगाडिसम्म नियन्त्रणमा लिइएका बाघलाई खोरमा राखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । ७ वटा खोर सबै भरिएको उनले बताए ।

खोरका बाघको गतिविधिलाई अध्ययन गरेर सामान्य अवस्थामा आएपछि मात्र प्राकृतिक बासस्थानमा छाड्ने गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताए । अहिले राखिएका सबै बाघको गतिविधि सुधारोन्मुख भए पनि प्राकृतिक बासस्थानमा छाड्न नमिल्ने उनको भनाइ छ ।

निकुञ्जबाट निस्कने, अन्य स्थानका निकुञ्जबाट मानव बस्तीमा निस्केर आक्रमण गर्न थालेपछि सुधारका लागि खोरमा राखिँदै आएको छ । अन्य जिल्लामा नियन्त्रणमा लिएकालाई पनि चितवन निकुञ्जको खोरमा ल्याएर राख्ने गरिएको थियो । अहिले सबै खोर भरिएको र नयाँ खोर निर्माण नभएकाले अन्यलाई राख्न नमिल्ने प्रमुख संरक्षण अधिकृत पन्तले बताए ।

नयाँ खोर निर्माण, खोरमा राखिएका बाघलाई दैनिक आहाराका लागि बजेट अभाव भएको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए । ‘निकुञ्जको बजेटमा नियन्त्रणमा लिएका बाघलाई आहारा खुवाउन बजेट छुट्याइएको हुँदैन’, उनले भने । बजेट नभए पनि प्रकृति संरक्षण कोष, अन्य सहयोगी संरक्षणसम्बन्धी संस्थाबाट खर्चको व्यवस्थापन हुँदै आएको उनले जानकारी दिए ।

निकुञ्जको कसरा, देवनगर र पूर्वी क्षेत्र सौराहामा बाघ राखिएको छ । एउटा बाघलाई एक दिनमा ७ किलो राँगाको मासु खुवाउने गरिएको छ । एउटा बाघलाई दैनिक ४ हजार २ सय रूपैयाँको मासुमा खर्च आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । खर्चको व्यवस्थापनको कठिनाइ भएकाले बजेट व्यवस्थापन गर्न माग गरिए पनि विभागबाट सुनुवाइ नभएको सूचना अधिकारी थापामगरले बताए ।

लामो समयसम्म खोरमा बस्दा प्राकृतिक वासस्थानको जस्तो सहजता नहुने भन्दै प्रमुख संरक्षण अधिकृत पन्तले बाध्यताले राख्न परेकाले बाघको आनीबानी व्यवहारमा सुधार आउनासाथ जंगलमा छाड्ने बताए । बाघको स्वास्थ्यका विषयमा चिकित्सकबाट परीक्षण तथा अध्ययन भइराखेको उनले जानकारी दिए ।

चितवन निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. विजय श्रेष्ठले ५ वर्षदेखिको खोरमा बाघ भए पनि अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या नआएको भन्दै प्राकृतिक वासस्थानमा बसेको जस्तो नभए पनि स्वास्थ्यमा जटिलता नभएको बताए । निकुञ्जले नियन्त्रणमा लिएर राखे पनि जंगल सफारीमा जाँदा नदेखिएपछि देवनगरमा राखिएको बाघ हेर्न आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् । खोरमा राखेको बाघ हेर्न जानेबाट शुल्कसमेत संकलन गर्ने गरिएको छ ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार