Wednesday, November 27, 2024

कसले मिसायो आँधीखोलामा एमोनिया ?

    • माछासहित कछुवा, पानीहाँस, बकुल्ला र अन्य चराहरु पनि मरे
    • एग्रो फार्म मेडिकल कलेज संचालक खुमा अर्यालको
    • केन्द्रीय मत्स्य प्रयोगशालाले पनि नमूना परीक्षण गर्ने

काठमाडौं– एउटा एग्रो फार्मले आँधीखोलाको स्याङ्जा गल्याङस्थित खण्डमा एमोनियायुक्त कुखुराको सुली मिसाएपछि खोलाका माछासहित जलचरहरु सोत्तर भएका छन्। मिर्मीस्थित मत्स्य विकास केन्द्रले एग्रो फार्मले फालेको सुलीको एमोनियाले गर्दा जलचरहरु मरेको पुष्टि गरेको छ।

भिरकोट नगरपालिका–६ मा सञ्चालित खिलुङ कालिका एग्रो फार्मले वैशाख २१ गते राति नदीमा मिसाएको सुलीमा एमोनिया ग्यास अत्याधिक रहेको र त्यसले अक्सिजनको मात्रा एकदमै न्यून बनाइदिएपछि माछासहित हजारौं जलचर मरेका हुन्।

कालिका एग्रो फार्मका मुख्य संचालक खुमा अर्याल हुन्। उनी अघिल्लो संविधान सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार पनि थिए। उनले गण्डकी, युनिभर्सल र नेपालगंज मेडिकल कलेजमा लगानी पनि गरेका छन्।

मिर्मीस्थित मत्स्य विकास केन्द्रले घटना भएको करिव ४८ घण्टापछि सुली मिसाइएको पानीको नमूना परीक्षण गर्दा अक्सिजनको मात्रा प्रतिलिटर कम थियो, भने एमोनिया ग्यासको मात्रा बढी थियो ।

मत्स्य विकास केन्द्रका एक अधिकृतले हाकाहाकीलाई भने, ‘एमोनियाको मात्रा पोखरीमा प्रतिलिटर ० दशमलव ००२५ प्रतिशतसम्म रहन सक्छ भन्ने हुन्छ तर, बग्ने पानीमा शून्य बराबर नै हुन्छ। तर, आँधीखोलामा ड्यामसाइडको माथितिर प्रतिलिटर १ देखि २ मिलिग्रामसम्म एमोनिया पाइएको छ, ड्यामसाइडको तलतिर अलि कम थियो। एनोमियायुक्त सुलीका कारण जलचर मरेकोसहितको रिपोर्ट प्रमुख जिल्ला अधिकारीलाई बुझाउँने छौंं।’

केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंका वरिष्ठ मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरीका अनुसार माछालाई बाँच्नका लागि कम्तिमा प्रतिलिटर ५ मिलिग्राम अक्सिजनको आवश्यकता पर्छ। तर, सामान्यतयाः प्रतिलिटर ६ देखि ८ मिलिग्राम अक्सिजन हुनुपर्ने हुन्छ। ‘पोखरीभन्दा नदीमा रहेका माछालाई अक्सिजन अझ बढी चाहिन्छ,’ उनी भन्छन्।

चौधरीका अनुसार कुहिएको वस्तुबाट एमोनिया ग्यास निस्कन्छ। खाँदिएर राखिएको वस्तु कुहियो भने झन बढी ग्यास निस्कन्छ। एमोनिया ग्यास रङहिन हुन्छ भने यसको गन्ध कडा र पिरो हुन्छ।

उदाहरण दिँदै उनले भने, ‘घरबाट निस्किएको फोहर खाडलमा पुर्यौं। र, कुहिएपछि उत्खनन् गर्यौं भने नाक थुन्नुपर्ने गरी गन्हाउछ। अनि त्यसको गन्ध पनि पिरो महसुस गरिन्छ। त्यही नै एमोनिया ग्यास हो।’

सुली मिसाउँदा जलचर मरेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ‘घटनाको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न मत्स्य विकास केन्द्रलाई १० दिने समय’ दिएका थिए ।

मत्स्य विकास केन्द्रले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सहयोगमा आइतबार दिउँसो करिव ३ बजेतिर ड्यामसाइडको माथिको ४ स्थान, तलबबाट ३ स्थान र ड्यामसाइडमा एउटा गरी ८ स्थानको पानीको नमूना संकलन गरेको थियो।

मत्स्य विकास केन्द्रका मत्स्य विकास अधिकृत भीम पाण्डेय भन्छन्, ‘हामी नमूना संकलनका लागि जाँदा पानी कालो थियो। माछा मरिरहेका थिए। विज्ञहरूका अनुसार पोखरीमा लेदो हुने भएकाले पानी कालो भएपनि नदीमा प्रायः सङ्लो पानी हुन्छ। केन्द्रिय मत्स्य प्रयोगशाला काठमाडौं वरिष्ठ मत्स्य विकास अधिकृत चौधरी भन्छन्, ‘बहने नदीको पानी नै कालो हुनु भनेको अक्सिजनको मात्रा कम हुन्छ भन्ने नै हुन्छ।’

मत्स्य विकास केन्द्रको प्राविधिक टोली नमूना संकलनका लागि सोमबार पनि आँधीखोला पुगेको थियो। तर, टोली पुग्नुअघि नै नदीमा पानी सफा गर्न भन्दै ६५ बोरा चुना हालिएको थियो। ‘चुना हालेपछि पानी केही सङ्लो बनेको थियो। अक्सिजनको मात्रा पनि बढेको थियो,’ पाण्डेयले भने।

उक्त चुनाको मूल्य खिलुङ कालिका एग्रो फार्मले बेहोर्ने गरी गल्याङ नगरपालिकाले हालेको प्रशासकीय प्रमुख ईश्वरी पाण्डेले बताए।

फार्मबाट निस्कने सुली व्यवस्थापनका लागि गल्याङ नगरपालिका–७ को आँधीखोला किनारामा दुईवटा पोखरी बनाएको छ। पोखरी र आँधीखोलाको दूरी करिब ५० मिटर पर्दछ।

गत शनिबार राति जेसीभी एक्साभेटरको प्रयोग गरेर कुखुराको सुली खोलामा मिसाउँदा आँधिखोला जलविद्युत केन्द्रसम्मका करिब दुई लाख माछाका भुरा, एक लाख माछा, कछुवा, पानीहाँस, बकुल्ला, आँधीखोलाको माछा र पानी खाएका चरासमेत मरेको प्रशासनले आशंका गरेको छ।

केन्द्रीय मत्स्य प्रयोगशालाले पनि नमूना परीक्षण गर्ने
आँधीखोलाको पानीको नमूना परीक्षण केन्द्रीय मत्स्य प्रयोगशालाले पनि गर्ने भएको छ। यअसघि चिसोपानी मत्स्य विकास केन्द्रले संकलन गरेको घटनास्थलको पानीको नमूना केन्द्रीय मत्स्य प्रयोगशालालाई पठाउने तयारी गरेको हो।

केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंका वरिष्ठ मत्स्य विकास अधिकृत चौधरीका भन्छन्, ‘त्यहाँबाट पठाएको पानीको नमूना परीक्षण गर्दा वास्तविक रिर्पाेट त आउँदैन। कारण पुष्टि हुन्छ।’ उनका अनुसार संकलन गरेर पठाइएको पानीमा अक्सिजनसहित अन्य पदार्थको वास्तविक मात्रामा घटबढ भइसकेको हुन्छ।

बदमासी भएकै हो, कारबाही हुन्छ : प्रजिअ
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले कुखुराको सुली नदीमा बगाएर खिलुङ कालिका एग्रो फार्मले बदमासी गरेकाले कारबाही अगाडि बढाइएको बताए।

‘जलचर मर्नुको एकीन कारण र क्षतिको विवरणका लागि सम्बन्धीत निकायलाई निर्देशन दिइएको छ,’ हाकाहाकीसँग कुरा गर्दै प्रजिअ निरौलाले भने, ‘जलचर संरक्षण ऐन २०१७ अनुसार कारबाही अगाडि बढाइएको छ।’

प्रशासनले खिलुङ कालिका एग्रो फर्मका कार्यकारी प्रमुख शोभाकान्त ढकाल, स्काभेटर चालक कृष्ण परियार, डिल्लीराम अधिकारी र सन्तोष अर्याललाई जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको छ।

उनीहरु गत आइतबार प्रहरी नियन्त्रणमा रहेपनि ‘नगरपालिकाको जिम्मामा छोडिएको’ प्रजिअ निरौलाले बताए। उनका अनुसार जलचर संरक्षण ऐन २०१७ ले नियन्त्रणमा लिएको व्यक्तिलाई स्थानीय सरकारमा बुझाउने व्यवस्था भए अनुसार बुझाइएको हो।

जलसंरक्षण ऐन २०१७ (संशोधन २०७४ मंसिर) अनुसार हानिनोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। हानि नोक्सानीको मूल्यांकन गर्दा प्राविधिक अधिकारीलाई संलग्न गराउनुपर्नेछ। स्थानीय सरकारको फोहोरमैला ऐनअनुसार कसुर हेरेर पनि कारबाही तथा जरिवाना गर्नसक्नेछ।

खिलुङ कालिका एग्रो फार्मका सञ्चालक अर्याल मेडिकल सञ्चालक पनि हुन। उनी भने सुलीका कारण माछा नमरेको बरु कसैले सुलीमा विषादी मिसाइदिएको हुनसक्ने दाबी गर्छन।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनन्जय पौडेल संरक्षित जनावरको परिभाषामा पर्ने जल तथा थल प्राणीलाई मार्ने गरी विषादी प्रयोग भएमा राष्ट्रिय निकुञ्ज तथा वन एन २०२९ आकर्षित हुने बताउँछन्।

तर, आँधीखोलामा सुलीका कारण माछा मरेको घटनामा जलसंरक्षण ऐन २०१७ (संशोधन २०७४ मंसिर) नै आकर्षित हुने उनी बताउँछन्। यद्यपी, ऐन, नियमहरू समायानुकुल व्यवहारिक बनाउन जरुरी रहेको पौडेल ठान्छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार