११ कात्तिक, चितवन ।
आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।
हरेक ४–४ वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी ३ महिना लगाएर बाघ गणना गर्न लागिएको हो । गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ । गैँडा गणना गर्न ३ साता लाग्छ । निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ ।
गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, शुक्लाफाँटा निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा गणना गरिनेछ । बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले १८ लाख रूपैयाँ विनियोजन गरेको छ । यसका लागि १ करोड ५० लाख रूपैयाँभन्दा बढी खर्च हुने गर्दछ ।
गैँडा गणनाका लागि पनि विभागले १८ लाख नै विनियोजन गरेको छ । गैँडा गणना गर्न २ करोड रूपैयाँ बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरूसँग सहयोग मागिने छ ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १ सय २८, बर्दिया निकुञ्जमा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राख्ने गरिन्छ । त्यस्ता क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा संख्या छुट्याइने उनले जानकारी दिए । हरेक बाघका पाटा फरक–फरक हुने गर्दछन् ।
गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशैभर १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ भेटिएका थिए ।
सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७ सय ५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा नेपालमा गैँडाको संख्या घटेर करिब १ सयको हाराहारीमा झरेको थियो ।
नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन निकुञ्जमा मात्रै ६ सय ९४, बर्दिया निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको थियो ।
रासस





