Wednesday, October 29, 2025

मोन्थाको प्रभावले दोहोरिँदै वर्षा र हिमपात

११ कात्तिक, काठमाडौँ ।

सोमबार राति (१० कात्तिक) देखिको हिमपात र वर्षा गराउने मौसमी प्रणाली बिहीबार साँझ (१३ कात्तिक) देखि पुनः सक्रिय हुने भएको छ ।

बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवादको असर नेपाली भू–भागमा पनि पर्ने भएको हो । अरब सागरमा विकसित मौसमी प्रणालीले हाल देशका अधिकांश भेगमा हल्का र मध्यम वर्षासहित हिमाली भेगमा हिमपात गराइरहेको छ ।

मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने मोन्था क्रमशः कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भेगसम्म आइपुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मोन्थाकै कारण बिहीबार दिउँसो १३ कात्तिक) देखि शनिबार १५ कात्तिक) बिहानसम्म वाग्मती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित बन्ने विभागको प्रक्षेपण छ ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा वाग्मती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।’

यी प्रदेशका खोला, चुरे क्षेत्रबाट बहने खोला खहरे र नदीहरूमा जल सतह बढेर आकस्मिक बाढी आउने भएकाले खोला नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । सोमबारदेखि हिमाली भेगमा भइरहेको हिमपात पुनः दोहोरिने र हिमपातको असर उच्च पहाडी भेगसम्म देखिने प्रक्षेपण गरिएको छ ।

हाल अन्नपूर्ण लगायतका पदमार्गमा हिमपात भएकाले पदमार्गमा गएका पर्यटकको उद्धारका लागि सुरक्षाकर्मी लगायतको टोली खटिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार