नेपालगन्ज – एकसातादेखि महामारीको रुपमा फैलिएको फैजी कीराको प्रकोपबाट बाँके र बर्दियामा करिब २० हजार हेक्टरमा लगाइएको धानबाली सखाप भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
फौजी कीराको प्रकोप बढ्दै गएका कारण धानबालीमा क्षतिको परिमाण पनि दिनानुदिन बढ्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत शकिल अहमद खाले बताए।
बाँकेमा धान खेती गरिएको ३६ हजार ५ सय हेक्टर मध्ये करिब ५० प्रतिशत अर्थात साढे १७ हजार हेक्टर क्षेत्रमा फौजी कीराको प्रकोप फैलिएर धान बालीमा क्षति पुगेको छ। त्यसैगरी बर्दियामा पनि करिब २५ सय हेक्टरमा लगाइएको धानबालीमा फौजी कीराले क्षति पुर्याएको बाली संरक्षण अधिकृत खाले जानकारी दिए।
असोज महिनाको अन्तिम सातादेखि फैलिएको फौजी कीराको प्रकोपले बाँके र बर्दियामा पाक्ने अवस्थामा पुगेको धानमा निक्कै ठुलो क्षति पुराए पनि प्रदेश नं ५ सरकारले फौजी कीरा नियन्त्रणका लागि हालसम्म कुनै सहयोग नगरेको गुनासो कृषि प्राविधिकहरुको छ।
असोजको २४ गते फौजी कीराको प्रकोपबाट धानबालीमा क्षति हुन सुरु भएकाले नियन्त्रणका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्दै कृषि ज्ञान केन्द्र बाँकेले प्रदेश नम्बर ५को कृषि मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय लिखित अनुरोध गरेको थियो।
कृषकहरु फौजी कीराले धान सखाप भयो भन्दै दिनहुँ ठूलो संख्यामा कृषि ज्ञान केन्द्रमा आउने गरेका छन्। कीरा नियन्त्रणका लागि विषादी आवश्यक पर्छ । तर, ज्ञान केन्द्रसँग विषादी खरिद गर्नका लागि बजेट छैन। ज्ञान केन्द्रसँग भएको ५० हजारले विषादी खरिद गरेर वितरण गर्यो।
विषादी हुदाँसम्म ज्ञान केन्द्रमा आएका किसानहरुलाई विषदीको बोत्तल दिएर पठाए पनि सकिएपछि थप किन्नका लागि बजेट नभएका कारण रित्तै हात फर्काउने गरेको बाली संरक्षण अधिकृत खाले बताए।
फौजी कीरा नियन्त्ररणका लागि विषादी किनेर किसानहरुलाई वितरण गर्नका लागि संरक्षण प्रयोगशाला, स्थानीय तहहरुलाई आग्रह गरेको छ।
फौजी कीरा (आर्मी वर्म ) उज्यालो हुँदा धानको गाँजमा लुक्छ र सूर्यास्त भए पछि निस्केर सैनिक शैलीमा धानको बाला काटेर नष्ट पार्छ।
दिनभर धानको गाँजमा लुकेर बस्ने फौजी कीराले अँध्यारो भएपछि धानको बोटमा चढेर बाला काटेर भुइमा झारेर नोक्सान गरिदिन्छ । फौजी कीराको प्रकोप भएको क्षेत्रमा धानको बोटहरु बालाविहीन ठुटै भएका छन्। एउटा फौजी कीराले एकै रातमा २ सय देखि ३ सय सम्म अन्डा पार्ने र २/३ दिनमा कोरलेर बच्चा निकाल्छ । एकै साथै ठूलो संख्यामा फौजी कीराको संख्या वृद्धि भई छोटो समय मै निक्कै धेरै क्षति पुर्याउने गरेको बाली संरक्षण प्रयोगशाला खजुरा बाकेका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत पुष्पराज बेल्बासेले बताए ।
फौजी कीराको प्रकोपले दुई /तीन दिन मै पाकेर काट्ने अवस्थामा पुगेको धान बालीमा ८० /९० प्रतिशत सम्म क्षति पुगेको किसानहरुले बताएका छन्। विषादी किनेर राती हाल्दा पनि फौजी कीराहरु नमरेको बाँके डडुवाका किसान जंग बहादुर बर्माले बताए।
एक सातादेखि प्रकोपको रुपमा देखिएको फौजी कीराले बाँकेको नेपालगन्ज, कोहलपुर , डुडुवा , नरैनापुर , राप्ती सोनारी, जानकी , बैजनाथ र बर्दियाका बढैयाताल क्षेत्रमा किसानहरुले लगाएको २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सान पुर्याइसकेको छ । फौजी कीराको प्रकोप तीव्र गतिमा फैलिरहेको छ।
फौजी कीराको प्रकोप नियन्त्रण गर्नका लागि इमिडाक्लोप्रिड (१७.८ प्रतिशत एससी ) नामक विषादी प्रति लिटर पानीमा १ मिलिलिटर मिसाई प्रति कठ्ठा धान खेतमा १५ देखि २० लिटर घोल बनाएर साँझ घाम अस्ताए पछि छर्कन कृषि ज्ञान केन्द्र बाकेले किसानहरुलाई आग्रह गरेको छ।
केन्द्रले फौजी कीराको क्षतिबाट धान जोगाउन प्रभावित क्षेत्रमा सिँचाई गर्न, ८० देखि ८५ प्रतिशत धानको दाना पहेंलो भए पछि काट्न, मट्टितेल र विषादी छर्कन किसानहरुलाई आग्रह गरेको छ।