३ मंसिर, अजरबैजान
जलवायु परिवर्तन न्यूनीकरणका अभ्यासमा सहकार्य गर्न नेपालले बंगलादेशलाई आग्रह गरेको छ ।
अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२९) मा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच जलवायुका साझा मुद्दाबारे छलफल भएको हो ।
नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्न सुरू गरेको उल्लेख गर्दै मन्त्री शाहीले भने, ‘भविष्यमा हाम्रो ऊर्जासम्बन्धी सहकार्यलाई थप उचाइमा पु-याउन अग्रसर रहन चाहन्छौँ ।’ बंगलादेश र नेपालबीच जलवायु परिवर्तनका विषयमा धेरै समानता भएकाले यस विषयमा सहकार्यको ठूलो महत्व रहेको उनले बताए ।
जलवायु परिवर्तन वार्तामा तीन देश (बंगलादेश, भुटान र नेपाल)बीच सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरे । उनले भने, ‘हाम्रा लागि जलवायु विपदसँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १.५ डिग्री सेलसियसमा सीमित गर्ने विषय महत्वपूर्ण छन् ।’
प्रतिउत्तरमा बंगलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौता सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गरिन् । ‘यसले बंगलादेशलाई ऊर्जा क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत गर्नेछ । जलवायु परिवर्तन वार्तामा तथा साझा प्राथमिकतामा सहकार्य जरूरी छ’, उनले भनिन् ।
नेपाल, भूटान र बंगलादेशबीच समन्वयको आवश्यकता रहेको उल्लेख गर्दै उनले साझा प्राथमिकतामा जलवायु वित्तको मुद्दा राख्नुपर्ने र तापक्रम १.५ भन्दा तल सीमित गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
दुवै मन्त्रीहरूबीच दक्षिण एसियामा जलवायुजन्य हानि नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ । बंगलादेश, भूटान र नेपालबीच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बंगलादेशमा आयोजना गर्ने सहमति भएको छ ।
रासस