Saturday, October 26, 2024

धुँवा खाँदै, साइकल कुदाउँदै

काठमाडौं–काठमाडौं बालाजुका वीरबहादुर नेवार (५२) २० वर्षदेखि साइकल चढ्दै आएका छन् । उनी किनमेलका लागि होस् या कार्यालय साइकलमै पुग्छन् ।

बालाजुदेखि लगनखेलस्थित कार्यालय आउजाउका लागि साइकल चढ्ने गरेका नेवार सोमबार जावलाखेलमा भेटिए ।

एकैछिन पर्खिएर हामीसँग कुराकानी गरेका नेवारले भने, ‘म दैनिक साइकलमा कार्यालय आउने/जाने गर्छु। साइकलमै हिँड्न थालेको २० वर्ष भयो । जतिखेर जहाँ जान मन लाग्यो, साइकल चढ्यो अनि हिँड्यो।’

काठमाडौंमा बढ्दो ट्राफिक जामका कारण कतिबेला गन्तव्यमा पुगिने हो एकीन नहुने भएपनि उनी भित्री गल्लीबाट साइकल कुदाउँछन् । भन्छन्, ‘मुख्य सडकमा जाम भएको हुन्छ तर, म सधैं समयमै गन्तव्य पुग्छु।’

उनका अनुसार साइकलमा बालाजुबाट लगनखेल पुग्न एक घण्टा लाग्छ। ‘त्यो समयमा मोटरसाइकल र गाडीको चेपुवामा ज्यान बचाउँदै आउनुपर्छ,’ साइकलयात्रीका पीडा सुनाउछन् नेवार।

यति भन्दै उनी २० वर्ष अघिको स्मरण गर्न थाले । ‘पहिला यति धेरैं गाडी नै थिएनन्। निर्धक्कसँग सडकमा साइकल कुदाउथे,’ उनले भने, ‘अहिले मोटरसाइकल र गाडीले कतिबेला किच्ने हो भन्ने भय रहन्छ।’

अहिले त साइकलमा हिँड्दा समेत गाडीको धुँवा खानुपर्ने पीडा रहेको सुनाउछन् उनी। ‘किनाराबाट साइकलमा हिँडिरहेको हुन्छु अगाडिको गाडीले धुँवाको मुस्लो फाल्छ,’ उनी सुनाउँछन्। नेवार एक घण्टाको यात्रामा कयौं गाडीको धुँवा लिदै कार्यालय पुग्छन्।

साइकल चलाउँदा वातावरण र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको बताउने नेवार थप्छन्, ‘मेरो साइकलले न धुँवा फाल्छ । न त ध्वनी प्रदूषण गर्छ। म जस्ता सयौं साइकल यात्रुले आफ्नो स्वास्थ्यमा मात्र होइन अरुको स्वास्थ्यमा समेत असर नगर्ने साधनको प्रयोग गरेका छन्।’

त्यतिमात्र कहाँ हो र ? उनलाई सडकमा साइकल कुदाउँदा ‘यो गाडी कुद्ने सडक हो ?’ जस्ता तिता बचन प्रायः सुन्नु पर्छ।

‘साइकल चलाउनेका लागि छुट्टै बाटो भएको भए हुन्थ्यो । साइकल चलाउँदा कसैले उता जा भन्छ उसले त्यता । हामी साइकल यात्रुका लागि त सडक नै छैन जस्तो लाग्छ,’ नेवारले भने।

उहिले काठामाडौंमा साइकल चढ्नेको संख्या धेरै थियो । तर, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन बढेसँगै साइकल घरको कुनामा थन्कन थालेको नेवार बताउँछन्।

नेवार जस्तै काठमाडौं नयाँबसपार्कका सन्दीप विक (२६) सन्दीप पनि साइकलमै कार्यालय पुग्छन्। पहिले उनी सार्वजनिक यातायात चढथे । तर, सार्वजनिक यातायात गन्तव्यमा कतिबेला पुग्छ ठेगान नहुने अनि कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउन उनले साइकल किने । भन्छन्, ‘सात महिनादेखि दिनहुँ साइकल चढ्न थालेको छु।’

‘दैनिक एक घण्टा साइकलबाटै कार्यालय आउने/जाने गर्र्छु,’ उनले भने, ‘तर साइकल चलाउने छुट्टै लेन नहुँदा ठूला बस, ट्रकले किच्छन कि भन्ने डर लागिरहन्छ। उनीहरू पूरै सडक आफ्नै मात्रै हो जस्तो गर्छन्।’

त्यस्तै, ललितपुरकी सुस्मीता तामाङले पनि छोराका लागि साइकल किनिन। तर, साइकल कहाँ कुदाउने ठाउँ छैन।

‘सडकमा ठूल्ठूला गाडी गुड्छन् । त्यहाँ बच्चाहरूले साइकल चलाउने कुरै भएन,’ तामाङले भनिन्, ‘कतै ठाउँ छैन घरको कौशीमै साइकल चलाउँछ।’

वातावरणविद् भुषण तुलाधर काठमाडौंकां सडक गाडीका लागि मात्र विस्तार गरिएको टिप्पणी गर्छन।। ‘साइकल यात्रुका लागि छुट्टै लेन नै छैन,’ तुलाधर भन्छन्, ‘साइकल यात्रु र पैदल यात्रुका लागि छुट्टै लेन बनाउन सके काठमाडौंको प्रदूषण पनि कम गर्न सकिन्छ।’

काठमाडौंको तीनकुनेदेखि माइतीघरसम्म १ दशमलव ७ किलोमिटर र तिलगंगादेखि सिनामंगलसम्म १ दशमलव ८ किलोमिटर दूरीको साइकल लेन बनाइएको छ ।

साइकल सिटी नेटवर्क (सीसीएनएन) का अध्यक्ष शैल श्रेष्ठ तीनकुनेदेखि माइतीघरसम्मको साइकललेन ‘नाम मात्र’ को भएको बताए। ‘यो साइकलका लागि बनाइएको बाटो होइन । फुटपाथसँगै जोडिएको छ। हामीले भन्ने गरेको छुट्टै साइकल लेन हो,’ उनी भन्छन्, ‘सरकारले साइकललाई प्राथमिकतामा राखेको छैन।’ साइकल चढ्न प्रोत्साहन गरेमा प्रदूषण घट्ने, ध्वनि प्रदुषण नहुने र आर्थिक रूपमा पनि कम व्ययभार पर्ने उनी बताउँछन्।

जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को अध्ययनले उपत्यकामा २० वर्ष को अन्तरमा साइकलको प्रयोग गर्नेको संख्यामा ५ दशमलव १ प्रतिशतले घटेको देखाएको छ। जाइकाका अनुसार सन् १९९१ मा ६ दशमलव ६ प्रतिशतले साइकलको प्रयोग गर्थे भने सन् २०१२ मा सो प्रतिशत झरेर १ दशमलव ५ प्रतिशतमा पुगेको छ ।

यो अवधिमा मोटरसाइकल चढ्नेको संख्या भने तेब्बर बढेको तथ्यांकले देखाउँछ। सन् १९१९ मा ९ दशमलव ३ प्रतिशत मात्र मोटरसाइकल चलाउथे भने सन् २०१२ मा यो संख्या झण्डै तेब्बर बृद्धि भएर २५ दशमलव ८ मा पुगेको छ।

वि.स. २०६८ सालको नेपालको जनगणना अनुसार नेपालका ३३ प्रतिशत घरपरिवारमा साइकल तथा १ दशमलव ६ प्रतिशत गाडी छन्। जनगणनाअनुसार काठमाडौं उपत्यकामा ११ दशमलव ५ प्रतिशत घरमा साइकल र ५ दशमलव ३ प्रतिशत गाडी रहेको तथ्यांक भएपनि साइकल चढ्नेहरू घट्दै गएका छन्।

मिति २०७५ बैशाख १८ मा प्रकाशित भएको धुँवा खाँदै, साइकल कुदाउँदै सामाग्री पहिलो विश्व साइकल दिवस सन्दर्भ पारेर पुनः प्रकाशित गरिएको छ ।स.

ताजा समाचार

सम्बन्धित समाचार