पत्रपत्रिकामा आजः वायु गुणस्तर मापन केन्द्र थपिँदै, रुख काट्न नदिने प्रदेश मन्त्रीको भनाइप्रति विरोध

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा खोला र कुलो पनि अतिक्रमित भन्ने शीर्षकमा राजन गाउँलेको समाचार छापिएको छ। सिन्धुलीमा गुठीको जमिन अतिक्रमणसँगै खोला तथा कुलोसमेत अतिक्रमणमा परेको पाइएको छ। भूमाफिया र स्थानीयको मिलेमतोमा घडेरी प्लानिङ तथा पुरानो बस्तीका नाममा खोला तथा नदीको धार नै परिवर्तन गरेर जग्गा अतिक्रमण गरिएको हो। जिल्लाको भौगोलिक क्षेत्रफल २ हजार ४ सय ९१ वर्ग किलोमिटरमा फैलिएको छ। उक्त क्षेत्रफलमध्ये २ लाख ४७ हजार ७ सय ९ हेक्टर मुख्य क्षेत्र र २५ हजार ९१ हेक्टर क्षेत्रफल बगर रहेका साना-ठूला गरी १ सय ४९ वटा खोला तथा नदी छन्। यो क्षेत्रफलमध्ये ६ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खोला तथा नदीको जग्गा व्यक्तिले अतिक्रमण गरेर हडपेको अनुमान छ।

-वायु गुणस्तर मापन केन्द्र थपिँदै भन्ने शीर्षकमा काजी श्रेष्ठको समाचार छापिएको छ। बढ्दो वायु प्रदूषण मापन गर्न सरकारले थप सात स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने भएको छ। चालु वर्ष मुलुकको विभिन्न स्थानमा वायु गुणस्तर मापन यन्त्र राख्ने तयारी गरेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए। देशभर १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी वायुको गुणस्तर मापन गरिँदै आएको छ। ‘सात स्थानमा मापन केन्द्र स्थापना गरी उपकरण राख्ने तयारी गरिरहेका छौं’, उपमहानिर्देशक जोशीले भने, ‘कहाँ(कहाँ राख्ने विषयमा टुंगो लागिसकेको छैन।’

-आफ्नै खर्चमा गैंडा गणना गरिँदै भन्ने शीर्षकमा काजी श्रेष्ठको समाचार छापिएको छ। दातृनिकायको सहयोगबिनै गैंडा गणना गरिने भएको छ। यसका लागि सरकारले १ करोड १० लाख रकम विनियोजन गरेको छ। गणनाको काम हरेक चार वर्षमा हुँदै आएको छ। बजेट अभावले गत वर्ष रोकिएको थियो।

कान्तिपुर
-आजको कान्तिपुरमा गुप्सीपाखामा हिमालको पानी भन्ने शीर्षकमा हरिराम उप्रेतीको समाचार छापिएको छ। न मुहान भेटियो, न त बोरिङ गरेर भूमिगत पानी ल्याउन सम्भव भयो । एकीकृत बस्तीका लागि घरहरू तयार हुँदै जाँदा पानीको संकट हुने देखिएपछि धार्चे–४ लाप्राकको गुप्सीपाखामा हिमालको पानी ल्याउने प्रबन्ध भएको छ ।

-सडकमै सकियो ७२ करोड भन्ने शीर्षकमा समाचार छापिएको छ। घाँजरीपिपल पुग्न सल्लीबजार, ढोरपिपल, सुनौली, स्वारा, छाँपडाडा गरी ५ ठाउँबाट सडक खनिएका छन् । तर कुनै पनि सडकमा नियमित गाडी सञ्चालनमा छैनन् । सबै सडक २ वर्षको अवधिमा खनिएका हुन् ।

नागरिक
-आजको नागरिकमा मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा भन्ने शीर्षकमा दिलबहादुर छत्याल, जगत खड्का र बिरा गडालको समाचार छापिएको छ। स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ। कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन्। यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन्।

-व्यवसायिक बन्न सकेन आलुखेती भन्ने शीर्षकमा गिरिराज बाँस्कोटाको समाचार छापिएको छ। लेकाली क्षेत्रमा बर्खे आलु खन्ने बेला अन्तिम चरणमा पुगेको छ। घट्दो खेती, रोग किराको आक्रमण तथा उत्पादन राम्रो नहुँदा आलुखेती खस्किँदै गएको छ। पर्याप्त सम्भावना भए पनि आलु खेतीको आधुनिकीकरण तथा व्यवसायीकरण हुन सकिरहेको छैन।

-कोसी कोरिडोरको काम ७५ प्रतिशत भन्ने शीर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ। २२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१ टावरमध्ये दुई सय ६० वटा टावरको फाउन्डेसन ९जग० को काम सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोरमा एक सय ४० वटा टावर इरेक्सन (खडा) गरिएको छ।

-रुख काट्न नदिने प्रदेश मन्त्रीको भनाइप्रति विरोध भन्ने शीर्षकमा उपेन्द्र यादवको समाचार छापिएको छ। बाराको टाँगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटान गर्न नदिने प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले दिएको अभिव्यक्तिको विरोध सुरु भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार