१८ भदौ, काठमाडौँ ।
भोटेकोशी नदीको भीषण बाढी नेपाल–चीनको मात्रै समस्या नभएर यो घटना हिमालय क्षेत्रको साझा जोखिमका रूपमा विश्लेषण गर्न थालिएको छ ।
जलवायु परिवर्तनको प्रभावले हिमालय क्षेत्र नै जोखिममा पर्न थालेको चिनियाँ विज्ञहरूको विश्लेषण छ । जलवायु परिवर्तन, विकट भू–बनोट र सीमापारिका सम्भावित जोखिमहरूको निगरानीमा कमीकमजोरी रहेकामा उनीहरू सहमत छन् ।
इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका जलवायु र वातावरणीय जोखिम प्रमुख झाङ कियाङगोङका अनुसार बाढीको गतिका विभिन्न कारकहरू हुन सक्छन् । हिमपहिरो खसेर हिमनदीहरूलाई ठूलो धक्का दिएपछिको प्रभाव स्वभाविक रूपमा बाढीको आकारमा बदलिएको, तीब्र बेगसहितको बाढीले साँघुरा उपत्यका र खोँच छिचोल्दा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति भएको उनको विश्लेषण छ ।
नदी किनारा आसपासको खुकुलो भू–बनोटलाई बाढीले धक्का दिँदा त्यसको असर र प्रभावले जनधनको क्षति भएको झाङ बताउँछन् । आगामी दिनमा हिमनदीजन्य विपद् दोहोरिन सक्ने झाङसहितका अधिकारीहरू सहमत छन् । शृंखलाबद्ध हिमबाढीको प्रत्यक्ष जोखिमा नेपाल–चीनका भू–भाग र बस्तीहरू पर्ने चीनको राष्ट्रिय जलवायु केन्द्रले जनाएको छ ।
यसैबीच विगत ६ दशकको अवधिमा तिब्बती पठारका करिब ७ हजार हिमनदी पग्लिएका पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको असर हिमालय श्रृंखलाहरूमा पर्दा हिमनदीहरूको आकार बढ्ने, स–सना हिमनदीको अस्तित्व विलय हुने जस्ता घटना बढिरहेका छन् ।
भोटेकोशी नदीको भीषण बाढीले पु¥याएको ठूलो जनधनको क्षतिपछि चिनियाँ विज्ञहरूको यस्तो बताएका हुन् । विगत ६ दशकमा तिब्बती पठारमा हिमनदीको क्षेत्रफल करिब २४ प्रतिशतले घटेको छ । करिब ७ हजार साना हिमनदी पूर्ण रूपमा हराइसकेका छन्,’ चीनको राष्ट्रिय जलवायु केन्द्रका उपनिर्देशक गाओ रोङले बुधबार (१७ भदौमा) चीनसहित अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूसँग भने ।
उनले अघि भने, ‘आगामी दिनमा तिब्बती पठारभरिका हिमनदीको संरचनात्मक स्थिरता अझ घट्नेछ । हिमनदीजन्य विपद् अझ बारम्बार हुन सक्छन् र शृंखलाबद्ध विनाशकारी प्रभाव बढ्न सक्छ ।’ १० भदौमा नेपालतर्फको लाङटाङ लिरुङमा हिमनदी टुटेर झरेको पहिरोले चीनतर्फ २१ जनाको मृत्यु भएको छ । सो घटनामा ५ सय ४१ जना आफ्ना नागरिक बेपत्ता भएका चीनले जनाएको छ ।
१ हजार २ सय ५० शव फेला
भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका १ हजार २ सय ५२ जनाको शव फेला परेको छ ।
सबैभन्दा बढी शव चितवनमा फेला परेको छ । बिहीबार (१८ भदौ) दिउँसोसम्ममा चितवनमा ३ सय ५५ शव भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नवलपरासी पूर्वमा २ सय १८ र नवलपरासी पश्चिम १ सय ९०, नुवाकोटमा १ सय ७७, रसुवामा १ सय २७, गोखरामा ६९, धादिङमा ६०, तनहुँमा ३८ र भारतमा १८ शव भेटिएको हो । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव भारतीय पक्षले पश्चिम नवलपरासीमा बुझाइएको छ ।
संकलन गरिएकामध्ये हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरी मुख्यालयले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनदेखि अन्य प्रक्रिया पूरा गरेर हालसम्म पहिचान नभएका ३ सय ७०, ३ सय १४ पुरूष र २ सय १३ महिलाको शव अल्पकालिन समयका लागि माटोमुनी व्यवस्थापन गरिएको छ । काफ्ले अनुसार बाढीमा बेपत्ता भएका ४ हजार ८ सय ७५ जनाको खोजी भइरहेको छ ।
लक्ष्मण कार्की/प्रशिक्षार्थी





