काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा बाढीले ढल्दै र पुरिँदै सीमास्तम्भ भन्ने शीर्षकमा किरणमान बज्राचार्यको समाचार छापिएको छ। ढेड महिनाअघि जिल्लाको विजयनगर गाउँपालिकामा पाँचवटा सीमास्तम्भ बाढीले ढालेको थियो तर अझै तिनको संरक्षण हुन सकेको छैन। गाउँपालिकाका–५ र ६ स्थित दुई खोलामा आएको बाढीले सीमास्तम्भ ढालेको थियो। सीमास्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीले सीमास्तम्भ सार्दै लगेको छ। गत असार २८ गते साँझ भेलले वडा नं ५ स्थित सुरई नदीमा चार र वडा नं १ स्थित अर्रा नदीमा एउटा स्तम्भ लडाएको थियो।
कान्तिपुर
-आजको कान्तिपुरमा बर्सेनि बग्छ करोडौंको सडक भन्ने शीर्षकमा प्रकाश बरालको समाचार छापिएको छ। बडिगाड गाउँपालिकाले गत वर्ष केही योजनालाई गौरवका रूपमा सूचीकृत गर्यो । ती योजनामा कम्तीमा २ करोड लगानी भयो । योजनामध्ये केही भवन निर्माणका छन् । केही सडकका हुन् ।
-९७२ स्थान पहिरोको उच्च जोखिममा भन्ने शीर्षकमा प्रतीक्षा काफ्लेको समाचार छापिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको लर्सघा बस्ती पहिरोको उच्च जोखिममा छ । दुई महिनाअघि आएको पहिरोका कारण बस्ती जोखिममा परेको हो । घरभित्रै पहिरो पसेपछि जोखिममा रहेको यो बस्तीका विषयमा गण्डकी प्रदेशसभामा पनि सांसदले आवाज उठाए । जोखिमको वास्ता नगरी बिनाइन्जिनियरिङ ट्र्याक खोलिएको ग्रामीण सडकका कारण उक्त बस्तीलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको छ ।
-कहिले गुड्ला रेल ? भन्ने शीर्षकमा सन्तोष सिंहको समाचार छापिएको छ। जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जगनगर रेल्वे सञ्चालनको प्रतीक्षामा छन् । ‘पर्यटक जनकपुर–जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ ।’
राजधानी
-आजको राजधानी काकाकुल सहरमा २ अर्बको खानेपानी भन्ने शीर्षकमा केशवराज पौडेलको समाचार छापिएको छ। काभ्रेको सबैभन्दा ठूलो पाँचखाल उपत्यकामा २ अर्ब २२ करोड लागतमा एकीकृत खानेपानी आयोजनाको सहमतिपत्रमा हस्ताक्षर भएको छ । काभ्रेको काकाकुल सहरको रूपमा रहेको पाँचखालमा सुनकोसी नदीको पानी लिफ्टिङ गरेर खानेपानी ल्याउने योजना अनुरूप बिहीबार सुनकोसी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र सहरी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराईले हस्ताक्षर गरेका छन् ।
-खुला दिसामुक्त जिल्ला घोषित भन्ने शीर्षकमा दीपशंकर चौलागाईको समाचार छापिएको छ। देशका ७७ जिल्लामध्ये खुला दिसामुक्त जिल्लामा घोषणामा दोलखा ६७औं स्थानमा परेको छ । नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले औपचारिक रूपमा दोलखा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्दै यस्तो बताएका हुन् । यससँगै दोलखा जिल्ला पनि खुला दिसामुक्त जिल्ला घोषित भएको हो ।
-बाढीपहिरोबाट खानेपानीमा क्षति भन्ने शीर्षकमा ओपेन्द्र बस्नेतको समाचार छापिएको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोले अश्वारा खानेपानीमा मुख्य पाइपलाइन बगाउँदा लाखौंको क्षति पुगेको छ । केही दिनअघि आएको बाढीले करिब साढे ३ सय मिटर जीआई पाइप बगाउनुका साथै चेम्बर गेटभल्भमा क्षति पुग्दा ११ लाख बढीको क्षति भएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरि भण्डारीले जानकारी दिए ।
-विद्युतीय सवारीमा आकर्षण भन्ने शीर्षकमा समाचार छापिएको छ। गाडी उत्पादक कम्पनीले धमाधम इलेक्ट्रिक प्लान्ट राख्न थालेपछि नेपालमा पनि यसको चर्चा चुलिएको छ । सरकारले इलेक्ट्रिक गाडी आयातमा भन्सार छुट दिएपछि थप यसमा आकर्षण बढेको छ । नाडा अटो सोमा पनि इलेक्ट्रिक गाडीमा ग्राहकको घुइँचो छ । नेपालमा २–३ वर्ष अघिसम्म पनि विद्युतीय गाडीबारे खासै चर्चा थिएन । खासगरी तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले कार्यालय प्रयोजनका लागि विद्युतीय गाडी खरिद गरेपछि यसबारे थप चासो र चर्चा बढ्न थालेको हो ।





