पत्रपत्रिकामा आजः मान्छे मार्ने बाघ कैदमा !, पुल बनाउन भारतीय अवरोध

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा तीन कार्यालयको कार्यक्रम सार्वजनिक भन्ने शीर्षकमा कमल खत्रीको समाचार छापिएको छ। म्याग्दीका तीन कार्यालयले चालू आव ०७६र७७ मा सञ्चालन गर्ने कार्यक्रम र स्वीकृत बजेट सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा संयुक्त कार्यक्रमको आयोजना गरी स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

राजधानी
-आजको राजधानीमा मान्छे मार्ने बाघ कैदमा ! भन्ने शीर्षकमा सुदीप अधिकारीको समाचार छापिएको छ। सामान्यतया आपराधिक घटनामा संलग्न भई कसुरदार ठहरीय त्यस्तो व्यक्तिलाई कैद तथा जरिमाना सजाय हुने गरेको सुनेकै हो । तर, वन्यजन्तुले पनि कसुर गर्दा कैद सजाय भोग्नुपरेको भन्ने सुन्दा अनौठो लाग्ला तर यो सत्य हो । बर्दियामा बस्तीमा पसेर मान्छे मार्ने बाघ यतिखेर निकुञ्जको कैद अर्थात् रेस्क्यु सेन्टरमा छ ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा बाटैदेखि बिचौलिया भन्ने शीर्षकमा राधा खनालको समाचार छापिएको छ। आइतबार बिहान १० बज्न १० मिनेट बाँकी छँदै नापी कार्यालय झापामा चहलपहल बढ्न थाल्यो। लाग्थ्यो, सेवाग्राही बिहानैदेखि कार्यालयमा आए र कर्मचारी पनि सेवा दिइरहेका छन्। उनीहरू न सेवाग्राही थिए न त कर्मचारी। उनीहरू त बिचौलिया रहेछन्। घडीमा १० बज्यो। केही सेवाग्राही कार्यालयमा छिर्दै थिए। बिचौलियामध्येका एकले ‘ओहो तपाई कहाँबाट यहाँ रुयहाँ हामी छौं नि, तपाईंलाई के दुःख ? ’ भन्दै हात मिलाउन थाले। सेवाग्राही अलमलमा परे।

-पुल बनाउन भारतीय अवरोध भन्ने शीर्षकमा गोविन्द महतोको समाचार छापिएको छ। भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ। सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सानो सीमा स्तम्भ २८७/२१ देखि दक्षिण–पूर्व र मुख्य सीमा स्तम्भ २८८ देखि ४ सय ५० मिटर उतर–पूर्वमा जमुनि नदीको ४० मिटर लम्बाइको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको हो। मुखियापट्टी मुसहरनियालाई भारतको व्यापारी केन्द्र साहरघाट जोड्ने पुल निर्माणमा एसएसबीले अवरोध गर्दा निर्माण अन्यौल परेको छ।

नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा चिडियाखानामा भित्रिइन् ‘कान्छी’ भन्ने शीर्षकमा टीका बन्धनको समाचार छापिएको छ। सदर चिडियाखानाले जोडी नभएका जन्तुलाई जोडी बाँध्ने प्रक्रिया अघि बढाएसँगै नीलगाई (घोडगधा) थपिएको छ। सोमबार रूपन्देहीबाट ११ महिना हाराहारीको पोथी ल्याइएको हो। एसियाली मुलुकमा पाइने यो जन्तु ठूलो प्रजातिको मृग हो, यसलाई लिलीगाईका नामले समेत चिनिन्छ। जावलाखेलस्थित चिडियाखानामा यसअघि दुई भाले नीलगाई मात्रै थिए।

कान्तिपुर
-आजको कान्तिपुरमा बाढीले धान, कीराले मकै सखाप भन्ने शीर्षकमा समाचार छापिएको छ। सुनकोसी गाउँपालिका ५ नांगेडाँडाका किसान प्रेमबहादुर गिरी बारीमा बसेर टोलाइरहन्छन् । उमेरले ८० पुगेका उनी मकैबाली कीराले सखाप पारेपछि निराश भएका हुन् । खडेरीका कारण ढिलो लगाएको मकैबाली गोड्ने बेलामा कीराले बोट नै नास गरिदिएपछि वर्ष दिन खाने अन्न यसपालि घर भित्रिने छाँट उनले देखेका छैनन् ।

ताजा समाचार

सम्बन्धित समाचार