पत्रपत्रिकामा आजः नेपालमा जलवायु परिवर्तनको असर, वार्षिक ९० अर्ब नोक्सान, खानेपानीमा पदाधिकारीको मनपरी

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

राजधानी
-आजको राजधानीमा नेपालमा जलवायु परिवर्तनको असर, वार्षिक ९० अर्ब नोक्सान भन्ने शीर्षकमा सविन शर्माको समाचार छापिएको छ। विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले बर्सेनि झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो ।

-बन्यो सुनकोसी नदीमाथि पक्की पुल भन्ने शीर्षकमा दिनेश थापाको समाचार छापिएको छ। बलेफी र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको । अरनिको राजमार्गको झोलुंगेनजिकै सुनकोसी नदीमाथि निर्माण गरिएको पुलको भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले शनिबार उद्घाटन गरेका छन् ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा खानेपानीमा पदाधिकारीको मनपरी भन्ने शीर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। सूर्यविनायक नगरपालिका–१ मा सञ्चालित सिरुटार खानेपानी आयोजनाका पदाधिकारीले मनपरी गर्दै आएका छन् । गाउँको खानेपानी समस्या सुल्झाउन सञ्चालित आयोजनामा १८ वर्षअघि बनेको समितिले नै व्यवस्थापन गरिरहेको छ । उपभोक्ता समितिले आयोजनामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छैन ।

-पशु चौपाया छाडा छोड्दा वृद्धभत्ता नै रोकियो भन्ने शीर्षकमा टोपलाल अर्यालको समाचार छापिएको छ। रिडी बजार क्षेत्रमा छाडा चौपायाको संख्या बढेपछि स्थानीय तहले नियन्त्रणका लागि कडाइ गरेको छ । गाईगोरु छाडा छाड्नेलाई वृद्धभत्ता नै कटौती गरिदिएको छ । रुरु गाउँपालिका–१ कि टीकादेवी न्यौपाने बजारमा गाई छाड्दा वृद्धभत्ताबाटै वञ्चित भएकी छिन् । गाई छाडेर बजार क्षेत्र फोहोर पारेको भन्दै स्थानीयले विरोध गरेपछि उनी अप्ठ्यारोमा परेकी छिन् । स्थानीय तहले उनलाई ०७५ कात्तिकदेखि वृद्धभत्ता रोकिदिएको हो ।

-पर्म परम्परा जोगाउँदै रुम्जाटारका किसान भन्ने शीर्षकमा पूर्णप्रसाद न्यौपानेको समाचार छापिएको छ। रुम्जाटारको पर्मेली गीत खोजिखोजी कलाकारले म्युजिक भिडियो बनाउन थालेका छन् । यी ओखलढुंगाको रुम्जाटारमा हरेक वर्ष गुन्जने गीतका शब्दहरू हुन् । यतिवेला रुम्जाटारका किसान कोदो रोपाइँमा व्यस्त छन् । अन्य ठाउँको तुलनामा रुम्जाटारको रोपाइँ निकै फरक हुन्छ । सयौँ वर्षदेखि चलेको पर्मेली परम्परा अझै कायमै छ ।

-गण्डक बाँधबाट नेपालतर्फ पूरा सिँचाइ गर्न बल्ल डिपिआर भन्ने शीर्षकमा पुष्प कोइरालाको समाचार छापिएको छ। गण्डक सिँचाइ आयोजनाबाट थप ६ हजार हेक्टर नेपाली भूभागमा सिँचाइ गर्ने आयोनजाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० भारतलाई बुझाउने भएको छ । सम्झौता भएको ६० वर्षपछि बल्ल जलस्रोत तथा सिँचाइ विभागले डिपिआर तयार गरी गत मंगलबार ऊर्जा मन्त्रालयमा पठाएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार