पत्रपत्रिकामा आजः बन्दाबन्दै उप्कियो कालोपत्रे, ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा बन्दाबन्दै उप्कियो कालोपत्रे भन्ने शीर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ। सडक कालोपत्रे गरिएपछि कम्तीमा दुईचार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन्। तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने काममा हेलचेक्र्याइँ भएको सहजै अनुमान गर्न सकिन्छ। सिरहाको लहान–भगवानपुर–ठाढी सडकले त्यही नियति भोग्नुपरेको छ। कमजोर बेसमाथि कालोपत्रे गरिएका कारण निर्माण सम्पन्न नहुँदै सो सडकखण्डमा कालोपत्रे उप्किन थालेको छ। यसबाट ठेकेदारहरूले कत्तिसम्म गुणस्तरहीन काम गरेका छन् भन्ने छताछुल्ल हुन पुगेको छ।

-राज्यको आँखा नपरेको ‘स्तुपा’ भन्ने शीर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ। सहरभसरि भूकम्पमा भत्किएका मठमन्दिर धमाधम ठडिँदै छन्। स्विस सरकारको सहयोगमा त्रिपुरा सुन्दरी र तलेजु भवानी भर्खरै उठ्यो। सरकारी लगानीमा बनिरहेको भीमेश्वर मन्दिरको भण्डारघर अन्तिम चरणमा छ। दुंगल, माथिल्लो र तल्लो टोलका स्तुपाले आकर्षक स्वरूप पाउँदै छन्। पाटी, डबली धमाधम उठ्दै छन्।

-भुक्तानी नपाए सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी भन्ने शीर्षकमा ध्रुव दङ्गालको समाचार छापिएको छ। मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भएपछि पूर्वठेकेदार इटालियन सिएमसीका आपूर्तिकर्ता, स्थानीय बिक्रेता र मजदुरले आफ्नो बाँकी रकम भुक्तानी नपाए नयाँ कम्पनीलाई काम गर्न नदिने चेतावनी दिएका छन्।

-ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र भन्ने शीर्षकमा दमन राईको समाचार छापिएको छ। ठेकेदार कम्पनीले खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अलपत्र पारेको छ। २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल ठेकेदारको कारण अलपत्र परेको हो।

राजधानी
-आजको राजधानी हाम्रो गोदावरी राम्रो गोदावरी भन्ने शीर्षकमा नवीन लुइँटेलको समाचार छापिएको छ। पर्यटनको विकासमा गोदावरी नगरपालिका लम्किएको छ । प्राकृतिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक दृष्टिकोणबाट काठमाडौं उपत्यकाकै एक रमणीयस्थलका रूपमा गोदावरी नगरपालिकालाई लिइने गरिन्छ । हाम्रो गोदावरी राम्रो गोदावरी भन्ने नारासहित नगरपालिका अगाडि लम्किएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार