काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने भन्ने शीर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो।
-मर्मत गरिँदै सडक भन्ने शीर्षकमा दिलबहादुर छत्यालरपुष्पराज जोशीको समाचार छापिएको छ। धनगढी उपमहानगरपालिका–३ मा सघन सहरी आयोजनाअन्तर्गत निर्माण गरिएको सडक एक महिनामै भत्किएपछि मर्मत गर्न थालिएको छ। नागरिक दैनिकमा सडक भत्केको समाचार प्रकाशित भएपछि मर्मत गर्न थालिएको हो। निर्माणाधीन चक्रपथअन्तर्गत राजपुर–भन्सार खण्डसम्मको करिब ९ किलोमिटर निर्धारित समयभित्रै असार मसान्तमा सन्पन्न गरिएको थियो। सडक बनेको एक महिनामै ठाउँठाउँमा भाँसिएर चिरा परेको थियो।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा आयातीत तरकारीको विषादी परीक्षण सुरु भएन भन्ने शीर्षकमा गणेश लम्सालको समाचार छापिएको छ। प्रदेश–१ सरकारले स्थापना गरेको विषादी अन्वेषण प्रयोशालामा अझै विदेशबाट आयात गरिएका तरकारीको परीक्षण हुन सकेको छैन। विराटनगर भन्सार कार्यालयले मान्यता नदिँदा प्रदेश सरकारको कृषि, भूमि तथा सहकारी मन्त्रालयले विराटनगरमा स्थापना गरेको ‘विषादी दु्रत विश्लेषण प्रयोगशाला’मा भारतबाट आयात भएका तरकारीको अझै परीक्षण नभएको हो।
-भारतीय कृषि उत्पादनलाई भन्साररहित प्रवेश दिन सकिँदैन:वाणिज्य सचिव भन्ने शीर्षकमा समाचार छापिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निवर्तमान सचिव केदारबहादुर अधिकारीले भारतका कृषि उत्पादनलाई नेपालमा भन्साररहित प्रवेश दिन नसकिने बताएका छन्। भारतीय कृषिसँग नेपालका उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै कृषि वस्तुको व्यापारमा समान सुविधा दिन नसकिने बताएका हुन्। यस विषयमा भारतसँग वार्ता भइरहेको उनले बताए। सरकारी अधिकारीलाई मंगलबार नै वाणिज्यबाट संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ।
-निकासी प्रवर्द्धन गरेका कृषि उपजकै निर्यात घट्दो भन्ने शीर्षकमा ख्याम भुजेलको समाचार छापिएको छ। सरकारले विदेश निर्यातका लागि प्रवर्द्धन गर्ने वस्तुको सूचीमा राखेको कृषि उपजको निकासी वृद्धि हुनुको साटो ओरालो लागेको छ। निर्यातबाट राम्रो आम्दानी हुने अलैँची, चिया र अदुवाको निकासी खस्कँदै गएको छ। वैदेशिक व्यापार तथा निकासी प्रवर्द्धनकेन्द्रको तथ्यांकअनुसार अदुवाको निकासी सबैभन्दा बढी ३३।७ प्रतिशतले घटेको छ । आव ०७४र७५ नेपालबाट २ करोड ३१ लाख २२ हजार ५ सय किलो अदुवा निर्यात भएको थियो।
राजधानी
-आजको राजधानीमा सडकले तात्यो संसद् , दसैं–तिहार आउनै लाग्दासमेत सडक नबनेकामा आक्रोश भन्ने शीर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। उपत्यकाको सडकको अवस्थालाई लिएर संसद्मा चर्को आवाज उठेको छ। मुख्य चाडपर्व आउनै लाग्दासमेत सडकको अवस्था नफेरिएको भन्दै सांसदहरूले कडा रूपमा सरकारको विरोधसमेत गरेका छन्। उनीहरूले पटकपटक सडक विस्तार, मर्मत र कालोपत्रे गर्न आवाज उठाउँदै आएका छन्। उता, सर्वसाधरणले सडकमै उत्रिएर विरोध प्रदर्शन गर्दै आएका छन्। संसद्देखि सडकसम्म सडक मर्मत र कालोपत्रे गर्न पटकपटक आवाज उठ्ने गरे पनि गति लिन सकेको छैन।





