काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा ८० करोडको डिपिआर डस्टबिनमा :बाहिरी चक्रपथ निर्माण अन्योलमा भन्ने शीर्षकमा टेकराज थामी र जीवन बस्नेत समाचार छापिएको छ। लगानी बोर्डको अनिर्णयले बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माण योजना अलपत्र परेको छ । योजना बनेको १९ वर्षसम्म पनि सुरु हुन नसकेको बाहिरी चक्रपथ आफ्नै लगानीमा निर्माण गर्न दुई चिनियाँ कम्पनी इच्छुक थिए । त्यसैले पाँच महिनाअघि नै सहरी विकास मन्त्रालयले यससम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो । तर, बोर्डले कुनै निर्णय नगर्दा काम कहिले सुरु हुने भन्ने अन्योल कायमै छ । बनाइएको डिपिआर खारेज गरिएको छ ।
गोरखापत्र
-आजको गोरखापत्रमा विद्युत् ‘हब’ बन्दै प्रदेश १ भन्ने शीर्षकमा समाचार छापिएको छ। विद्युत् उत्पादनको हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश १ अग्रस्थानमा छ । सगरमाथा, मकालु, कञ्जनजङ्घा जस्ता उच्च हिमाशिखरबाट सुरु भई बाह्रै महिना बग्ने सप्तकोसी र त्यसका सहायक नदीहरु अरुण, तमोर, दूधकोसी, भोटेकोसी, सुनकोसी यसै प्रदेशमा भएकाले पनि यहाँ विद्युत् उत्पादनको सम्भावना बढी भएको हो । विद्युत् उत्पादनको गुणस्तरको दृष्टिकोणले पनि यी नदीको “रन अफ रिभर” क्षमता उच्च रहेको ऊर्जा उत्पादक हरि बैरागी बताउनुहुन्छ ।
नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा भूमी ब्यवस्थाको ब्यवस्थापन अव प्रबिधिबाट भन्ने शीर्षकमा समाचार छापिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समग्र जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गर्ने भएको छ। सार्वजनिक सरकारी र गुठीको जग्गाको संरक्षणका लागि देशभरका मालपोत र नापी कार्यालयमा प्रविधि मार्फत जग्गा प्रशासनको काम व्यवस्थापन गर्न लागिएको हो। गुठी जग्गाको संरक्षणका लागि सो प्रविधिले सहयोग पु¥याउने मन्त्रालयको दाबी रहेको छ।
-बागमती पीडितले अझै पाएनन् न्याय भन्ने शीर्षकमा समाचार छापिएको छ। बागमती नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले नदीलाई चौडा र सीधा बनाउन तटबन्ध निर्माण गर्दा व्यक्तिको जग्गा नदीभित्र परेपछि बागमती पीडितहरू आन्दोलित बनेका छन्।गुह्येश्वरीदेखि गोकर्ण ब्यारेजसम्मको जग्गामा तटबन्द निर्माणको क्रममा नदीमा आफ्नो जग्गा परेको भन्दै पीडितहरू गत वैशाखदेखि आन्दोलनमा उत्रिएका थिए। बागमतीलाई सफा बनाउने नाममा आफूहरूलाई सुकुम्बासी नबनाउन उनीहरू दैनिकरूपमा धर्ना बस्दै आएका छन्।





