काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा भक्तपुरमा खानेपानी अभाव भन्ने शीर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। भक्तपुर नगरपालिका–८ मा रहेको लिवाली आवास क्षेत्रमा ६१० घरधुरी बस्छन् । तर, त्यसमध्ये १३० घरमा मात्रै खानेपानीको पाइप पुगेको छ । बाँकी करिब पाँच सय घरधुरीले पानी थाप्ने पालो नै पाउँदैनन् । उनीहरू दैनिक ट्यांकर र जारको पानी किनेर उपभोग गर्न बाध्य छन् ।
-बेनीमा खानेपानीको चरम अभाव भन्ने शीर्षकमा कमल खत्रीको समाचार छापिएको छ। जिल्ला सदरमुकाम बेनीमा खानेपानीको चरम अभाव भएको छ । बेनी–जोमसोम सडकको गलेश्वरदेखि राहुपारेखण्ड विस्तारका क्रममा पाइप फुटेका कारण खानेपानी आपूर्ति नहुँदा खानेपानी आभाव भएको हो । पाइपलाइनमा क्षति पुगेपछि दुई महिनादेखि खानेपानीको सहज आपूर्ति हुन नसकेको बेनीका खेम केसीले बताए । उनका अनुसार बेनी बजारका अधिकांश घरमा वैकल्पिक स्रोत नभएका कारण खानेपानी संकट भएको हो ।
-कर्णाली प्रदेशमा रासायनिक मलको खपत न्यून भन्ने शीर्षकमा खगेन्द्र भट्टराईको समाचार छापिएको छ। अर्गानिक प्रदेश घोषणाको तयारीमा रहेको कर्णालीमा रासायनिक मलको खपत न्यून देखिएको छ । आर्थिक वर्ष ०७५र७६ मा कर्णालीमा ३ हजार ९ सय १ मेट्रिकटन मात्र खपत भएको मन्त्रालयका उपसचिव हरि पण्डितले जानकारी दिए । सो वर्ष नेपालमा ३ लाख ६४ हजार २० मेट्रिकटन रासायनिक मल खपत भएको थियो । यो अनुपातअनुसार कर्णालीमा रासायनिक मल खपत एक प्रतिशत मात्र भएको छ । कर्णालीका मुगु, हुम्ला र डोल्पामा रासायनिक मलको खपत शून्य रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । खेतीयोग्य जमिनमा स्थानीय जैविक मलको प्रयोगले रासायनिक मलको खपत घटाएको कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कान्तिपुर
-आजको कान्तिपुरमा अब खेतमै माटो परीक्षण भन्ने शीर्षकमा जितेन्द्र साहको समाचार छापिएको छ। किसानको खेतखेतमा पुगेर निःशुल्क माटो परीक्षण सेवा उपलब्ध गराउन प्रदेश १ सरकारले असोजदेखि गुड्ने प्रयोगशाला प्रयोगमा ल्याउने भएको छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २० असारमा उपकरणसहित ७५ लाख रुपैयाँमा माटो परीक्षण घुम्ती प्रयोगशाला किनेको हो ।
नागरिक
-आजको नागरिकमा भारतबाट भित्रिएका चौपायाले सकस भन्ने शीर्षकमा अर्जुन ओलीको समाचार छापिएको छ। नेपालगन्ज उपमहानगरपालिकाले सडकमा देखिने चौपायालाई समयसमयमा नियन्त्रणमा लिन्छ र कान्जी हाउसमा राख्छ। तर पनि सडकमा गाई, गोरु र खच्चडको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। छाडा चौपायाका कारण उपमहानगर क्षेत्र अस्तव्यस्त बनेको छ। सडकमा चौपाया छाडिँदा दिनहुँजसो दुर्घटना हुने गरेका छन्। छाडा चौपायाको बिगबिगी बढ्दा उपमहानगर क्षेत्र अस्तव्यस्त बनेको छ।
-कमजोर तटबन्ध भत्कियो, दुई अर्ब खेर भन्ने शीर्षकमा निर्मल घिमिरेको समाचार छापिएको छ। सामान्यतः लन्चिङ, स्पट, स्पर र ड्यामसहित बनेका तटबन्धको आयु २५ वर्ष हो। प्राविधिकका अनुसार नदीमा बाढी नआएको सामान्य अवस्थामा लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध ५० वर्षसम्म टिक्छ। तर सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध दुई वर्ष नबित्दै भत्किन थालेको छ।





