काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा आलुमा अत्यधिक विषादी भेटियो भन्ने शीर्षकमा देवनारायण साहको समाचार छापिएको छ। भारतबाट आयात हुने आलुमा अत्यधिक विषादी पाइएको छ । सुनसरीको भन्टाबारी भन्सार कार्यालय भएर आएको आलुमा अत्यधिक विषादी पाइएको हो । त्यस्तो आलु आयातमा रोक लगाई क्वारेन्टाइनको निगरानीमा राखिएको छ ।
-स्याउ कुहिने डरले काँचै बिक्री भन्ने शीर्षकमा राजबहादुर शाहीको समाचार छापिएको छ। छायानाथ रारा नगरपालिका–५ मइतुकी नानी कार्की काँचो स्याउ बेच्न थालेकी छन् । गमगढीमा प्रतिदाना ५ रुपैयाँमा स्याउ बेच्न थालेकी हुन् । छायानाथ–४ की कमला रावलले पनि दैनिक एक डोको काँचो स्याउ ल्याएर गमगढी झर्छिन् ।
-दस दिनमा पानी भन्ने शीर्षकमा समाचार छापिएको छ। जगाती, बासिकचा क्षेत्रका बासिन्दाले गाग्री भर्न नपाएको तीन महिना बित्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले सातामा २ दिन वितरण गर्दै आएको पानी तीन महिनादेखि ठप्प भएको स्थानीयको गुनासो छ । भक्तपुर नगरका अधिकांशले ट्यांकरको भरमा पानीको उपभोग गर्दै आएका छन् ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा झोलुङ्गे पुल प्रथमिकता भन्ने शीर्षकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक रुपमा विकट रहेका स्थानमा तुइनमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता अन्त्य गर्नको लागि झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने भएको छ।
नागरिक
-आजको नागरिकमा सौराहाका हात्तीलाई सबैको माया भन्ने शीर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ। हात्तीले सौराहालाई विश्वसामु चिनाएको छ। सौराहाको पर्यापर्यटनमा हात्तीको महत्व धेरै छ। हात्ती चढेर गरिने घुमघाम (हात्ती सफारी) कै लागि हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटक अत्यधिक मात्रामा सौराहा आउँछन्। तसर्थ हात्तीलाई सोमबार सौराहामा विशेष माया दिइएको छ।
-सगरमाथा आरोहणबाट ४४ करोड राजस्व संकलन भन्ने शीर्षकमा भुवन शर्माको समाचार छापिएको छ। विश्वको अग्लो चुचुरो मानिएको सगरमाथा आरोहणबाट यस वर्षको वसन्तकालीन मौसममा राज्यले ४४ करोड २३ लाख रुपैयाँ राजस्व उठाएको छ। पर्यटन विभागका अनुसार सरकारले हरेक वर्ष दुईपटक सगरमाथा आरोहणको अनुमति दिने गरेको छ। जसअनुसार वसन्तकालीन मौसममा मार्च, अप्रिल र मे महिनाका लागि आरोहण अनुमति दिइन्छ भने शरद्कालअन्तर्गत अक्टुबर, नोभेम्बर र डिसेम्बर महिनाका लागि आरोहण अनुमति दिइन्छ। वसन्तकालीन मौसम भर्खरै सकिएको छ।
-टाढा छ केरुङ–काठमाडौं रेल भन्ने शीर्षकमा बालकृष्ण अधिकारीको समाचार छापिएको छ। प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउनथाल्यो। २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौं ल्याउने बताइरहेका छन्।





