काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा भेरी–बबई डाइभर्सनमा विभागको अवरोध भन्ने शीर्षकमा निर्मल घिमिरेको समाचार छापिएको छ। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाले सुरुङ परीक्षण गरी माघसम्म ३६ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन राखेको प्रस्ताव अघि बढाउन सिँचाइ विभागले आलटाल गर्दा काममा अवरोध सिर्जना भएको छ।
-प्रदेश १ मा माटोमा अम्लीयपन बढी भन्ने शीर्षकमा अमर खड्काको समाचार छापिएको छ। पूर्वको प्रदेश १ का १४ जिल्लाको माटोमा अम्लीयपन बढ्दै गएको छ। धेरै माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन–फस्फोरसको मात्रा घट्दै गएकाले उत्पादन शक्तिमा पनि बर्सेनि कमी आउने गरेको छ।
-चुरे संरक्षणमा झारा टार्ने नियत भन्ने शीर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ। प्रदेश २ को प्रदेशसभामा बिहीबार कांग्रेस संसदीय दलका नेता रामसरोज यादी तथा विपद्को प्रमुख कारण चुरे विनाश रहेकाले चुरे संरक्षण साझा मुद्दा बन्नुपर्ने माग गरे। संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा लाग्न यादवले प्रदेश सरकारलाई सुझाए।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्ट प्राकृतिक स्रोतमा किचलो भन्ने शीर्षकमा समाचार छापिएको छ। कैलालीको चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाबीच बालुवा खोला र काली खोलाको स्रोतमा विवाद देखिएको छ। चुरेले दुवै खोलाको ठेक्का लगाएको थियो। गौरीगंगाले त्यसविरुद्ध राष्ट्रपति चुरे संरक्षण समितिमा उजुरी दिएको छ। दुवैले खोलाबाट प्राप्त हुने स्रोतमा दाबी गरेका छन्।
-आधा पानी भण्डारमै छाडिने भन्ने शीर्षकमा काजी श्रेष्ठ शीर्षकमा समाचार छापिएको छ। शिवपुरी जलाधार क्षेत्रबाट संकलितमध्ये ५० प्रतिशत पानी जलभण्डारमा अनिवार्य छाड्नुपर्ने नियम छ। त्यस्तै खानेपानीबाहेक अन्य प्रयोजनका लागि प्रयोग हुँदै आएको पानी सातामा एक दिन पूरै जलस्रोतमा छाड्नुपर्ने अर्थात् वाटर होलिडे मनाउने व्यवस्था छ। तर कार्यान्वयन हुन सकेको छैन।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा एक घर, एक इनार अनिवार्य भन्ने शीर्षकमा समाचार छापिएको छ। घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अभियान सुरु गर्न सरोकारवाला निकायसँग छलफल थालेको छ ।
-भूकम्प गएको चार वर्षपछि गुम्बा पुनर्निर्माण सुरु भन्ने शीर्षकमा केशव गुरुङ्र समाचार छापिएको छ। भूकम्प गएको चार वर्षपछि गोरखाका ५० वटा गुम्बा पुनर्निर्माण तथा मर्मत गर्ने गरी कार्य योजना बनेको छ । भूकम्पले क्षति पुर्याएका एक सय चार गुम्बामध्ये ५० वटा गुम्बा पुनर्निर्माण तथा मर्मतका बजेट आएपछि पुनर्निर्माण सुरु भएको हो ।
-जटिल बन्दै बागमतीको मुआब्जा विवाद भन्ने शीर्षकमा मुना कुँवर समाचार छापिएको छ। नदीको ‘बहाव प्रकृतिका विषय’ मा सहमति जुट्न नसक्दा बागमती नदीबाट पीडित भनिएका स्थानीय बासिन्दाको मुआब्जा समस्याको समाधान हुन सकेको छैन । सरकारले मुआब्जा दिनुपर्ने माग गर्दै बागमतीपीडित स्थानीय बासिन्दा अढाई दशकदेखि विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन् । उनीहरू फेरि एकपटक मुआब्जा माग गर्दै धर्ना बसेका छन् । स्थानीय बासिन्दा भन्छन्, ‘सरकारले बागमतीको प्राकृतिक बहावलाई कृत्रिम रूपमा परिवर्तन गरी हाम्रो जग्गा कब्जा गरेकाले मुआब्जा दिनुपर्छ ।’ यता सरकार भन्छ, ‘नदीको बहाव प्राकृत्रिक नै भएकाले मुआब्जा दिनुपर्दैन ।’
-माथिल्लो त्रिशूली ‘थ्री बी’ को निर्माण ३५ प्रतिशत पूरा भन्ने शीर्षकमा समाचार छापिएको छ। जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको निर्माण ३५ प्रतिशत सकिएको छ । ३ वर्ष निर्माण अवधि रहेको आयोजना २९ फागुन ०७७ भित्र सक्ने लक्ष्य छ । निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको हो । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये ७ सय २४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ ।





