काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा सडकमा पहिरोको वितण्डा भन्ने शीर्षकमा नगेन्द्र उपाध्यायरगोविन्द केसीको समाचार छापिएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्। बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ। पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन्। प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ। त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै छ।
-राहत नपाउँदा आहत डुबानपीडित भन्ने शीर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ। असार अन्तिम साताको अविरल वर्षाका कारण सर्लाहीका बाढी एवं डुबानपीडितहरू पर्याप्त राहत नपाउँदा झनै पीडित बनेका छन्। डुबानले घर लडेकाहरू उचित सरकारी राहतको आशामा बसेको तीन साता बितिसकेको छ। सरकारी स्तरबाट भने पीडितलाई राहत त परै जाओस् क्षतिको विस्तृत तथ्यांक संकलनसमेत सम्पन्न हुन सकेको छैन।
-म्याद सकिँदा काम आधा भन्ने शीर्षकमादिलबहादुर छत्यालको समाचार छापिएको छ। सुदूर–पश्चिम प्रदेशको गौरव आयोजना भनिएको धनगढी–मोहना–अत्तरिया जोड्ने ६ लेन सडकको म्याद सकिँदा आधा पनि काम भएको छैन। आयोजना कार्यालय र निर्माण कम्पनीको कमजोरीका कारण ठेक्का सम्झौताअनुसार आयोजना सम्पन्न गरिसक्नुपर्ने म्याद सकिएको दुई महिना हुँदा आधामात्रै काम भएको हो।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा सल्टियो मुआब्जा विवाद भन्ने शीर्षकमा नगेन्द्र उपाध्यायरगोविन्द केसीको समाचार छापिएको छ। नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा मुआब्जा विवाद सुल्झेको छ। नागढुंगा–नौबिसे सुरुङमार्ग काठमाडौं र धादिङको सीमा क्षेत्रमा निर्माण हुँदै छ। काठमाडौंको मुआब्जा रकम यसअघि नै सल्टिए पनि धादिङतर्फ तय हुन सकेको थिएन।
डोरी टाँगेर खोला वारपार भन्ने शीर्षकमा नितु घलेको समाचार छापिएको छ। गतवर्ष असारमा लगातार पानी परेपछि लुभू-लामाटार सडकखण्डमा पर्ने गोदावरी खोलाले एउटा कार बगाएको थियो। कारधनीलाई सुरक्षित बाहिर निकालियो। तर कार निकाल्न सकिएन। महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार डोजरको सहायताले कार बाहिर ल्याउने प्रयास गरिएको थियो।
-म्याद नथप्दा निर्माण रोकियो भन्ने शीर्षकमा कैलाश जोशीको समाचार छापिएको छ। पौने दुई अर्बको लगानीमा निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडक आयोजनाको म्याद सकिएको छ। जेठमा सडक निर्माण सम्झौताको म्याद सकिएको हो। मोहना-अत्तरिया सडक निर्माण कार्यालयले एक वर्ष म्याद थपका लागि संघीय सडक सुपर्वेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई अनुरोध गरेको थियो। तर कार्यालयले एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने वस्तुगत राय सहितको प्रतिबद्धता पत्र मागेको हो। २०७४ जेठमा दुई वर्षकालागि सडक निर्माण सम्झौता भएको थियो।
-फुट्यो ताल, टुट्यो सपना भन्ने शीर्षकमा दिल शिरीषको समाचार छापिएको छ। चट्टानसहितको पहिरोले गत वर्ष बडिगाड खोला थुनिर ताल बन्यो। ढोरपाटन-२ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो। ताल फुटाएर निकास दिन अढाई महिनाजति उनले प्रयास गरे। केही उपाय लागेन। बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि ताललाई पर्यटकीय गन्तव्य बनाउन लागे। हिउँद लाग्दा तालमा डुंगा चल्न थाल्यो। थापासहित २७ कुमाल परिवारले डुंगा चलाएर आयआर्जन गरे। आन्तरिक पर्यटकको आवागमन बाक्लिँदै थियो। अन्य किराना, चनाचटपटको व्यापार बढ्दो थियो। तर, पर्यटक भित्र्याएर आम्दानी गर्ने स्थानीयको सपना ताल फुटेपछि चकनाचुर भएको छ।
कान्तिपुर
-आजको कान्तिपुरमा टेकाको भरमा संग्रहालय भन्ने शीर्षकमा लीला श्रेष्ठको समाचार छापिएको छ। राष्ट्रियकला संग्रहालय भवनको दक्षिणतर्फको छाना त्रिपालले छोपेको छ । भूकम्पपछि अस्थायी सुरक्षाका लागि राखेको त्रिपाल मक्किएर फाटेपछि पुनः अर्को त्रिपालले छाना ढाकेको हो । सोही त्रिपालबाट समेत पानी छिरेर छानामा प्वाल परेको छ ।
-ललितपुरले पनि ल्यायो दुई ब्रुमर भन्ने शीर्षकमा समाचार छापिएको छ। ललितपुर महानगरपालिकाले सोमबार २ ब्रुमर खरिद गरेको छ । महानगरले टेन्डर प्रक्रियाद्वारा युरो ४ एमिसन स्ट्यानर्डका ब्रुमर खरिद गरेको हो । महानगरले बोलपत्र आहृवान गर्दा जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो ।





