काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा बर्खामा भेलपहिरोले बर्बादी भन्ने शीर्षकमा शिवहरि घिमिरेको समाचार छापिएको छ। काठमाडौं उपत्यकाको ‘कर्णाली’ भनेर चिनिने ललितपुरको दक्षिणी भेकमा पर्ने बागमती गाउँपालिकाका बासिन्दा हिउँदमा सडक खोल्दा ज्यादै हर्षित देखिन्थे। गाउँघरमा मोटरबाटो पुगेपछि अब विकास हुन्छ भनेर ढुक्क थिए स्थानीय। शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य सामाजिक सुरक्षाका दृष्टिकोणमा पनि दक्षिण ललितपुर निकै पछाडि छ। यहाँका गोटीखेल, प्युटार, बुखेल, मानिखेल, आस्राङ र ठूलादुर्लुङ विकट क्षेत्र हुन्।
-वन्यजन्तु बस्ती पस्ने क्रम घट्यो भन्ने शीर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ। विश्व दुर्लभ वन्यजन्तु सूचीमा रहेको एकसिंगे गैंडा कहिले वरपरका बस्तीमा जाने र धनजनको क्षति गर्ने, कहिले गाउँले तथा तस्करहरू जंगल जाने र गैंडा मार्ने हुँदै आएको थियो। यस्तो अनपेक्षित र आपराधिक व्यवहार रोक्ने तथा दुर्लभ एकसिंगे गैंडासहित अन्य वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो।
-समयमा समन्वय नहुँदा भूकम्पपीडित मारमा भन्ने शीर्षकमा शेरबहादुर जेरोको समाचार छापिएको छ। खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो। भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन्। पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि पनि लाभग्राहीको सूचीमा उनको नाम परेन।
-लखन्देही खोलामा अवैध उत्खनन भन्ने शीर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ। जिल्लाको लखन्देही खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ। सरकारले असारदेखि भदौसम्म नदी वा खोलाबाट नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए पनि लखन्देही खोलामा भने गिटीबालुवा निकाल्ने क्रम निरन्तर भइरहेको छ। दिनहुँ दर्जनौं ट्र्याक्टरबाट गिटीबालुवा अवैध निकासी भइरहे पनि सम्बन्धित नगरपालिका कार्यालय तथा स्थानीय प्रहरी प्रशासन मौन छन्। पूर्व–पश्चिम राजमार्गस्थित पुल उत्तर र दक्षिणस्थित खोलाबाट ट्र्याक्टरमा बालुवा लोड भइरहेको दृष्य बग्रेल्ती देखिन्छ।
-पोखरा–मुग्लिन सडक चार लेन बन्दै भन्ने शीर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ। पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ। पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा नयाँ बसपार्क कब्जा भन्ने शीर्षकमा राजेश बर्मार निर्दोष घोरसाइनेको समाचार छापिएको छ। काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ। ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो। आयोगका तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आटनो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो।
राजधानी
-आजको राजधानीमा ४९ मध्ये ३३ विमानस्थल मात्रै सञ्चालनमा भन्ने शीर्षकमा मधुजंग पाण्डेको समाचार छापिएको छ। मुलुकभर निर्माण भएका कुल ४९ वटा विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा आएका छन्। अन्य विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालनका लागि सरकारले धेरै प्रयास गरे पनि विभिन्न समस्याका कारण अझै सबै विमानस्थलबाट हवाई सेवा सञ्चालन गर्न नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
-कृषि विकास आयोजनाको वार्षिक प्रगति निराशाजनक भन्ने शीर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। आर्थिक वर्ष २०७५\७६ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कृषि क्षेत्र विकासका सञ्चालन आयोजनाको वार्षिक प्रगति निराशाजनक पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०७५\७६ को वार्षिक प्रगति विवरण यस्तो पाइएको हो । मन्त्रालयकै मातहतमा आर्थिक वर्ष २०७५\७६ सञ्चालन भएका कृषि परियोजना र कृषि विकासका कार्यक्रम वार्षिक प्रगति निराशाजनक रहेका छन् ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा तीन वर्षभित्र बन्नुपर्ने पुल साढे आठ वर्षमा जग मात्र निर्माण भन्ने शीर्षकमा मणिलाल विश्वकर्माको समाचार छापिएको छ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ र ११ को सीमामा पर्ने मैनाबत्ती खोलाको पुल बन्न थालेको साढे आठ वर्ष पूरा भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइए पनि अहिलेसम्म जग मात्र तयार भएको छ । समयमा पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर वर्षायाममा पनि मैनाबत्ती खोेला वारपार गर्न बाध्य छन् ।





