काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा ललितपुरमा पानीका स्रोत कोलिफर्मयुक्त भन्ने शीर्षकमा नितु घलेको समाचार छापिएको छ। यूएनपार्क परिसरभित्र ज्वागलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ‘पम्प स्टेसन’ बनाएको छ। स्टेसनले जमिनमुनिको पानी तानेर शुद्धीकरण गरी उपभोक्ताको घरमा पठाउँछ। फलामको मात्रा धेरै भएकाले पानी पिउन योग्य छैन। तैपनि उपभोक्ताकहाँ पानी पठाउनै पर्ने बाध्यता छ। दैनिक कम्तीमा दुई घण्टा पानी वितरण गरिन्छ। धाराकै पाइपबाट पठाउने पानी घरायसी प्रयोजनका लागि मात्र हुने केयूकेएल बताउँछ। घरायसी प्रयोजनका लागि मात्र भए पनि पैसा भने खानेपानीकै सरह तिर्नुपर्छ।
-सात वर्षमा पनि बनेन पुल भन्ने शीर्षकमा राजेन्द्र कार्कीको समाचार छापिएको छ। जाजरकोट–जुम्ला सडकको छेडा–थलह खण्डमा पर्ने मोटरेबल पुलको निर्माण अलपत्र परेको छ। ठेक्का सम्झौता भएको सात वर्ष बित्यो। अझै पुल निर्माण भएको छैन। १८ महिनामा बन्नुपर्ने पुल सात वर्षसम्म नबनेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने निर्णय हुनुपर्ने हो। तर, सर्वोच्च अदालतको फैसला ढिलाइले पुल निर्माणको टुंगो नलागेको हो।
-ज्यानमारा पोखरी भन्ने शीर्षकमा गोपाल शर्माको समाचार छापिएको छ। घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए।
नागरिक
-आजको नागरिकमा ३० हजार कागतीका बिरूवा रोपिँदै भन्ने शीर्षकमा दिलीप पौडेलरमोहन गुरुङको समाचार छापिएको छ। कृषिप्रधान देश भए पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ। सरकारको ‘नमूना कृषि विकास कार्यक्रम’अन्तर्गत थुमपोखरा साना कृषि सहकारी संस्था लिमिटेड वालिङले एक हजार रोपनी जमिनमा ३० हजार कागतीका बिरुवा रोप्न सुरु गरेको छ।
-मिनटमै इमरजेन्सी ब्रेक ! भन्ने शीर्षकमा निर्मल घिमिरेको समाचार छापिएको छ। तपाईंलाई लाग्छ कि बजार क्षेत्रमा मात्र सवारीसाधनमा ब्रेकको प्रयोग बढी हुन्छ। पैदल यात्रुको चाँप भएका ठाउँमा ब्रेक नच्यापी धर पाइँदैन। यसको ठीक उल्टो सामान्य अवस्थामा पूर्वपश्चिम राजमार्गमा भने सवारीसाधन बेरोकटोक चल्छन्। एउटै रफ्तारमा सवारीसाधन चलाएर गन्तव्यमा पुग्न सकिन्छ। तर अहिले सार्वजनिक वा निजी सवारीसाधन प्रयोग गर्ने जोकोहीको पनि छाडा गाईवस्तुका कारण राजमार्गको यात्रा कष्टपूर्ण भइरहेको छ। यतिखेर राजमार्ग भएर यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउन जरुरी छ।
-सरकारले बिर्सियो, पीडितको पीडा उस्तै भन्ने शीर्षकमा ध्रुव दङ्गालको समाचार छापिएको छ। २०७१ साउन १७ गते। अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्याउने गरी जुरे पहिरो निम्तिएको दिन। पाँच गाउँ सुलुत्त सुनकोसी नदीमा विलय गराउँदै एक सय ४५ जनाको एकै चिहान बनाएको जुरे पहिरोको शुक्रबार (साउन १७) पाँच वर्ष पूरा भएको छ। बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घन्टासम्म टम्म थुनेर विशाल कृत्रिम ताल बनाएको पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो। दिन, महिना र वर्ष बित्दै जाँदा जुरे पहिरो बिर्सिइँदै गएको छ।
कान्तिपुर
-आजको कान्तिपुरमा मिच्नेलाई नै पुर्जा भन्ने शीर्षकमा समाचार छापिएको छ। सरकारले वर्षौंदेखि गैरकानुनी रूपमा वन क्षेत्र, ऐलानी र सार्वजनिक जग्गा हडपी बसेकाहरूलार्ई अतिक्रमित ठाउँमै वैधानिक रूपमा बस्न लालपुर्जा दिने कानुन बनाउन लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको प्रस्तावमा मन्त्रिपरिषद्ले अनुमोदन गरी अघि बढाएको भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक र वन क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकालाई ‘भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी’को संज्ञा दिइएको छ ।
-खुम्चिँदै चारकोसे भन्ने शीर्षकमा विनोद भण्डारीको समाचार छापिएको छ। मोरङ–सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको हो ।
-झोंछेमा एक लाइन पार्किङ भन्ने शीर्षकमा सीमा तामाङको समाचार छापिएको छ। भित्री क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या बढेसँगै वसन्तपुरस्थित झोँछेमा एक लाइन पार्किङ सुरु भएको छ । न्युरोड क्षेत्रमा काठमाडौं महानगरले स्मार्ट पार्किङ सुरु गरेसँगै ससाना गल्लीमा सवारीसाधनको चाप बढेपछि स्थानीयकै पहलमा एक लाइन पार्किङ सुरु गरिएको हो ।





