पत्रपत्रिकामा आजः भक्तपुरमा खानेपानी अभाव, जाजरकोट–दुनै सडकबाट बाहिरिँदै सेना, अब सडक विभागको जिम्मा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा ओलाङचुङसँग जोडिँदै सिगात्से भन्ने शीर्षकमा खगेन्द्र अधिकारीको समाचार छापिएको छ। उत्तरी छिमेकी देश चीनको प्रमुख व्यापारिक केन्द्र सिगात्सेसँग ताप्लेजुङको ओलाङचुङगोला नाका सडक सञ्जालले जोडिने भएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका ६ सुकेटारबाट विस्तार भइरहेको उत्तर–दक्षिण लोकमार्गको रानीपुल–ओलाङचुङगोला खण्ड निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभीले सडकको ट्र्याक खोल्ने कार्यलाई गोला र लेलेप दुवै खण्डबाट अघि बढाउन ऐतिहासिक सहमति जुटाएको छ। अहिले लेलपको लुङथुङसम्म ट्र्याक खुलेको छ।

-जाजरकोट–दुनै सडकबाट बाहिरिँदै सेना, अब सडक विभागको जिम्मा भन्ने शीर्षकमा रुद्र खड्काको समाचार छापिएको छ। डोल्पा सदरमुकाम दुनैलाई गत मंसिरमा सडकको राष्ट्रिय सञ्जालमा जोडेको नेपाली सेनाले उक्त सडक सरकारलाई हस्तानान्तरण गरी छाड्ने तयारी गरेको छ। सेनाले जाजरकोट–दुनै सडकको ट्र्याक खोल्ने काम सके पछि सडक विभागलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको हो।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा भक्तपुरमा खानेपानी अभाव भन्ने शीर्षकमा ईश्वरकाजी खाइजूको समाचार छापिएको छ। वर्षायाममै भक्तपुर नगरवासी खानेपानी अभावमा परेका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागअनुसार खानेपानी उत्पादन तथा वितरण गर्न नसक्दा भक्तपुर नगरवासी वर्षायाममै खानेपानीको अभाव झेल्न बाध्य भएका हुन्।

गोरखापत्र
-आजको गोरखापत्रमा ४५ किलोमिटर सुरुङ बन्ने भन्ने शीर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ।प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ। रेलमार्ग निर्माणका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक प्रतिवेदन परराष्ट्र मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । सो प्रतिवेदनमा रेल मार्गको कुल लम्बाइ १३५ किलोमिटर रहेको प्रस्ताव गरिएको छ।

-सकियो ८० प्रतिशत रोपाइँ भन्ने शीर्षकमा सुरेशकुमार यादवको समाचार छापिएको छ। नदी नालाबाट बाढीको बहाव कम र डुबान रोकिएपछि किसानले धान रोपाइँलाई तीव्रता दिएका छन। अहिले झन्डै गत वर्षको हाराहारीमा रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले दिएको जानकारी अनुसार साउन १२ गतेसम्ममा ८०।१८ प्रतिशत रोपाइँ भइसकेको छ।

राजधानी
-आजको राजधानीमा १९ हजार बाख्रालाई खोप भन्ने शीर्षकमा ओपेन्द्र बस्नेतको समाचार छापिएको छ। पशु सेवा शाखा कार्यालय तुलसीपुरले १९ हजार बाख्रालाई पीपीआर खोप दिएको जनाएको छ। एक वर्षमा कार्यालयबाट स्वास्थ्य सेवा लिएका ३३ हजार १ सय पशुपक्षीमध्ये यो संख्या सबैभन्दा बढी हो। महामारी रोगका रूपमा परिचित यो पीपीआर रोग लागेका खसीबाख्रा एक साताभित्र मर्ने गर्दछन्। यो रोग लागेमा १ सय ७ डिग्रीसम्म ज्वरो आउने, मुख र गिजामा घाउ आउने, पखालामा रगत देखिने, नाकबाट बाक्लो सिँगान बग्ने र अन्तिममा पानीको मात्रा कम भएर बाख्रा मर्ने पशु सेवा कार्यालका पशु सेवा प्राविधिक सुवास आचार्यले जानकारी दिए। यो रोग लागेमा उपचार नहुने कार्यालयले बताएको छ।

कान्तिपुर
-आजको कान्तिपुरमा भ्यु टावरमा हुन्डी रकम भन्ने शीर्षकमा कृष्ण ज्ञवाली, दीपेन्द्र विष्टको समाचार छापिएको छ। जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा गैरकानुनी रूपमा संकलित रकम प्रयोग भएको भेटिएको छ।सिंगापुरमा संकलित रकम हुन्डीबाट नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार बिल्डर्स सञ्चालक मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

-१ लाख ८० हजार हेक्टर रोपाइँ क्षेत्र घट्यो ! भन्ने शीर्षकमा राजु चौधरीको समाचार छापिएको छ। मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १ लाख ८० हजार हेक्टरले घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरणअनुसार २०७५ मा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान रोपाइँँ भएको थियो। २०७६ मा आइपुग्दा रोपाइँको क्षेत्रफल घटेर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा झरेको छ।

-भूकम्पपछिको पुनर्निर्माण: ५ वर्षमा पौने ३ खर्ब खर्च भन्ने शीर्षकमा विमल खतिवडाको समाचार छापिएको छ। भूकम्प गएको ५ वर्षमा पुनर्निर्माणमा पौने ३ खर्ब मात्रै खर्च भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ५ वर्षको अवधिमा २ खर्ब ७६ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । सबैभन्दा बढी खर्च सरकारी ढुकुटीको भएको छ । दातृ निकायले प्रतिबद्धता गरेअनुसारको रकम आएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार