काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
-आजको राजधानीमा आठ महिनाअघि नै पाइपलाइनबाट तेल भन्ने शीर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। निर्धारित समयावधिभन्दा आठ महिना अघि नै पाइपलाइनबाट तेल आएको छ । मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट निर्धारित समयावधिभन्दा आठ महिना अघि नै तेल आएको हो । धेरैजसो राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनका काम भने निर्धारित समयभन्दा आठ महिना सकिएको छ ।
-सडक सम्पर्क विच्छेद हुँदा हेलिकोप्टरबाट खाद्यान्न भन्ने शीर्षकमा ईश्वर तामाङको समाचार छापिएको छ। अविरल वर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका–३ मानेभञ्याङका पाँच घर विस्थापित भएको खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडाले जानकारी दिए ।पहिरोले घर भत्किन थालेपछि पाँच परिवारलाई अहिले महेन्द्र माध्यमिक विद्यालयको भवनमा सारिएको प्रमुख खतिवडाले बताए । पहिरोबाट टेकबहादुर विक, कमल तामाङ, कमल घिमिरे, मनबहादुर तामाङ, गंगा शाक्यको घर पहिरोले तान्ने थालेपछि घर छाडेर विद्यालय भवनमा आश्रय लिएर बसेका छन् ।
गोरखापत्र
-आजको गोरखापत्रमा मानव निर्मित संरचनाले बढी क्षति भन्ने शीर्षकमादेवबहादुर कुँवरको समाचार छापिएको छ। नेपालमा प्राकृतिक विपद्भन्दा मानव निर्मित संरचना र कमजोरीका कारण जनधनको ठूलो क्षति हुने गरेको छ । बाढी, पहिरो, डुबान, आगलागी, सडक दुर्घटना, महामारीजस्ता गम्भीर प्रकृतिका विपद्मा मानवीय कमजोरी पनि देखिएको छ । गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार प्रत्येक वर्ष ४२ किसिमका विपद्बाट ९४१ देखि एक हजार दुई सय जनासम्मको अकालमै ज्यान जान्छ । त्यस्तै १५ देखि आठ सयजना बेपत्ता, ९२८ देखि २२ हजार घाइते, ३१ हजारदेखि एक लाख १३ हजार घरपरिवार प्रभावित हुने गरेका छन् ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा खाँडोखोला फुटेर तिलाठी डुब्यो भन्ने शीर्षकमा दिनेश पराजुलीको समाचार छापिएको छ। अविरल वर्षा र बाढीका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका डुबानमा परेको छ । दुई हजार पाँच सय घर डुबानमा परेको र २५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए । सप्तकोसी, खाँडो, महुली, जितालगायत खोलामा आएको बाढीले गाउँपालिकाका करिब ४० प्रतिशत घर डुबानमा परेको उनको भनाइ छ । २८ असारको बाढी सुक्न नपाउँदै गाउँपालिका पुनः डुबानमा परेको हो ।





