काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
-आजको राजधानी खलंगा नौ महिनादेखि विद्युत्विहीन भन्ने शीर्षकमा शुभाकर विश्वकर्माको समाचार छापिएको छ। जुम्ला सदरमुकाम खलंगा विगत नौ महिनादेखि अन्धकारमय बनेको छ । खलंगावासी टुकीको भरमा गुजारा गरिरहेका छन् । विद्युत् बाल्ने जुम्लावासीको आशामा झनै निराशा थपिएको छ । घुँघुतीमा रहेको साना जनविद्युत् उपभोक्ता समितिको नयाँ मेसिनको जडान गरिहेका निर्माण व्यवसायी, भारतीय ठेगेदार लाल दुवई जुम्लाबाट भागेका छन् ।
-सात करोडको डीपीआर तयार भन्ने शीर्षकमा युवराज विष्टको समाचार छापिएको छ। पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल अरुण डाँडाको विकास तथा विस्तारको लागि ७ करोडको विस्तृत कार्ययोजना तयार पारिएको छ । गाउँपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर स्थानीयसँगै गाउँपालिकाको आयस्रोतमा वृद्धि गर्ने उद्देश्यले काम अगाडि बढाएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
-आन्तरिक उडानमा समस्या भन्ने शीर्षकमा समाचार छापिएको छ। प्रतिकूल मौसमका कारण बुधबार मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।
गोरखापत्र
-आजको गोरखापत्रमा सर्वसुलभ भएन चार्जिङ स्टेसन भन्ने शीर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ। राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले वातावरणमैत्री विद्युतीय सवारीको प्रयोग गर्ने क्रम बढे पनि ती सवारीको चार्ज गर्ने स्टेसन भने विस्तार हुन सकेको छैन । वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरता कम गर्ने उद्देश्यसहित मुलुकभरि नै विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि विद्युतीय सवारी खरिद गर्न सरकारले केही दिनअघि साझा यातायातलाई तीन अर्ब रुपियाँ उपलब्ध गराएको छ ।
-विद्युत् निर्यात गर्न बढ्यो सक्रियता भन्ने शीर्षकमागोपालचन्द्र सुवेदीको समाचार छापिएको छ। निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षात्देखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्युत् करिब एक हजार मेगावाट थपिएर दोब्बर हुनेछ ।





