काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
गोरखापत्र
-आजको गोरखापत्रमा योजनाबद्ध विकासबाट विपद् न्यूनीकरण सम्भव भन्ने शीर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। यति बेला मध्य, पूर्व र पश्चिमका केही भेगमा भारी वर्षाको क्रम चलिरहेको छ । असार अन्तिम साताको वर्षापछिको बाढीपहिरो र डुबानले कैयौँको ज्यान लियो । घरबाट विस्थापित भएकाहरू अझै शिविरको बासमा छन् । के बाढीपहिरोको विपद् न्यूनीकरण गर्न सकिन्छ? जानकारहरूका अुसार योजनाबद्ध विकासले विपद् न्यूनीकरण सम्भव छ । जोखिमको कारण पहिल्याएर समाधानको दीर्घकालीन बाटोमा अगाडि बढ्न सरकार र सरोकारवालाले नसक्नु ठूलो समस्या भएको भूगर्भविद्हरूको भनाइ छ ।
राजधानी
-आजको राजधानीमा बाढीपहिरोको जोखिम बढ्यो भन्ने शीर्षकमा सविन शर्माको समाचार छापिएको छ। गत सोमबारदेखि सक्रिय बन्दै गएको मनसुनी वर्षा केही दिन जारी रहने बताउ“दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागले बाढी–पहिरोको जोखिम बढ्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।देशका विभिन्न स्थानमा सोमबारदेखि वर्षापछिको बाढी तथा पहिरोका कारण सडकखण्ड अवरुद्ध छन् । पहिरोमा परी गुल्मीमा ११ र चट्याङका कारण सप्तरीमा तीन जनाले ज्यान गुमाएका छन् ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा अब भारत निर्यात गरिने कृषि वस्तुमा समेत पाँच प्रतिशत नगद अनुदान भन्ने शीर्षकमा कृष्ण रिजालको समाचार छापिएको छ। सरकारले भारतमा निर्यात गरिने कृषि वस्तुमा समेत ५ प्रतिशत नगद अनुदान दिने भएको छ । ‘निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि २०७५’ को पहिलो संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । अब प्रशोधित बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवाको भारत निर्यात गर्दा ५ प्रतिशत नगद अनुदान उपलब्ध हुनेछ ।
-तटबन्धको नाममा ४९ लाख झ्वाम भन्ने शीर्षकमा दीपक भट्टको समाचार छापिएको छ। सदरमुकाम मन्थली बजार संरक्षणको नाममा प्रदेश सरकारबाट आएको ४९ लाख रुपैयाँ अनियमितता गरिएको गुनासो स्थानीयले गरेका छन् । रणजोर खोला किनारमा सामान्य तारजाली हालेर प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको आरोप स्थानीयको छ ।
नागरिक
-आजको नागरिकमा दर्जनौं बस्ती जोखिममा भन्ने शीर्षकमा मदन ठाकुरको समाचार छापिएको छ। असार अन्तिम साता बाग्मती र लालबकैया नदीमा आएको बाढीले बगाएको तटबन्ध मर्मत नहुँदा रौतहटका दर्जनौं बस्तीका लाखौं नागरिक डरैडरमा बाँच्न बाँच्न बाध्य छन्। जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहुँदा सदरमुकाम गौरसहित करिब आधा दर्जन स्थानीय तहका दर्जनौं गाउँ बाढीको जोखिममा छन्।
-मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर भन्ने शीर्षकमा अर्जुन ओलीको समाचार छापिएको छ। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो। त्यसअघि २०७३ असार १४ गते पनि ढकेरीस्थित झिझरी खोलाछेउमा परीक्षणकै क्रममा उक्त नहर भत्केको थियो। सरकारले समयमा नहर मर्मत नगर्दा जीर्ण बन्दै गएको छ। जीर्ण अवस्थाको नहर थप क्षति हुने अवस्थामा पुगेको छ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा पूर्व माओवादी कार्यकर्तालाई सेटिङमा मेलम्ची ठेक्का भन्ने शीर्षकमा विकास थापार सुरेन्द्र काफ्लेको समाचार छापिएको छ। मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो।
नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा हतारमा खन्ने कि तयारीका साथ खन्ने ? भन्ने शीर्षकमा समाचार छापिएको छ। ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।





