काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा साझामा ९९५ लगानी सरकारको भन्ने शीर्षकमा सुवास भट्टको समाचार छापिएको छ। आर्थिक वर्ष सकिनु दुई दिनअघि मात्र सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा सेयर लगानीका रूपमा तीन अर्ब रुपैयाँ थपेको छ । सरकारले साझालाई पैसा दिएको भन्दै विवाद भएको छ । तर, वास्तवमा साझालाई सरकारले पैसा दिएको होइन, साझा आफैँमा सरकारी संस्था हो । यो संस्थामा ९९ प्रतिशत लगानी सरकारकै छ । सरकारको लगानी रहेका अधिकांश संस्था डुब्ने गरेकाले साझा यातायातको व्यवस्थापनप्रति पनि औँला उठेको छ । आर्थिक वर्ष ०७०र७१ मा यातायात सेवा पुनः सञ्चालन भएयता पाँच वर्षमा तीन वर्ष साझाले सञ्चालन खर्च पनि जुटाउन सकेको छैन ।
-पूर्वाधारका अधिकांश योजना कछुवा गतिमा भन्ने शीर्षकमा दीपेन्द्र अधिकारीको समाचार छापिएको छ। प्रदेश सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत रहेको जिल्लास्थित पूर्वाधार कार्यालयले थालेका अधिकांश योजना अधुरा छन् । धेरैजसो योजनाको सम्झौता गत वैशाख अन्तिममा भएकाले पूरा हुन नसकेको हुन् । उपभोक्ता समिति र ठेक्काबाट काम भए पनि दुवैबाट भएको काम प्रगति औसतमा ५० प्रतिशत छ । योजनाको रकम १५ लाखदेखि तीन करोडसम्मको छ । चितवनमा सञ्चालित योजनामध्ये केशरवाग–सीतामाई सडक र प्रेमबस्ती–फूलबारी–शिवनगर–पार्वतीपुर–शुक्रनगरदेखि मेघौली एयरपोर्टसम्मका दुई योजनाको भने सम्झौता हुन सकेन ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा रेल आउँछ-आउँछ, आउँदैन भन्ने शीर्षकमा मनिका झाको समाचार छापिएको छ। जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ।
-बाढीपीडितलाई बासको चिन्ता भन्ने शीर्षकमा फणि महतको समाचार छापिएको छ। वर्षाका कारण भत्किएको घरमा च्यापिएर पनि बाँचेका रौतहटको इशनाथ नगरपालिका बन्जाराहाटोलका रामनारायण साहको परिवार छिमेकीको घरको बरन्डामा बसिरहेको छ। असार २८ गते राति पानि परिरहेको थियो। साहको परिवार मस्त निन्द्रामा थिए। राति करिब एकबजे घर भत्कियो उनको परिवार पुरियो। तीन छोरा र एक छोरी सहित श्रीमती लालवतिदेवी जसोतसो निस्कीए। छिमेकमा हल्ला गरे।
नागरिक
-आजको नागरिकमा ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी भन्ने शीर्षकमा दिलबहादुर छत्यालरपुष्पराज जोशीको समाचार छापिएको छ। हरैया शिविरमा बसेका सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घर भत्काइएका छन्। आफ्नो लालपुर्जा भएको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्।
-वातावरणीय मूल्यांकनका सर्त पालना नगरेको संसदीय उपसमितिको ठहर भन्ने शीर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माण भइरहेको ह्वासिन सिमेन्ट उद्योगले वातावरणीय मूल्यांकन सर्त पालना नगरेको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले सिमेन्ट उद्योगले वातावरणीय मूल्यांकनअनुसारको सर्त पालना नगरेको निष्कर्ष निकालेको हो।
कान्तिपुर
-आजको कान्तिपुरमा वन हाउजिङका नाममा न्यायाधीश विवादमा भन्ने शीर्षकमा कृष्ण ज्ञवालीको समाचार छापिएको छ। सरकारी वनको जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश दिएका जिल्ला न्यायाधीश अर्जुन कोइरालामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्मा पत्र पठाएको छ ।कोइरालाको आदेशबाट ९२ रोपनी सरकारी वन एउटा हाउजिङ कम्पनीका नाममा दर्ता भएको पाइएपछि अख्तियारले छानबिनका लागि पत्राचार गरेको हो ।
-पोखरीमा बन्दै थियो विद्यालय भन्ने शीर्षकमा दामोदर न्यौपानेको समाचार छापिएको छ। टेकुको प्रसिद्ध पचली भैरवको पोखरीमा विद्यालयले भवन बनाउन सुरु गरेपछि गुठियार, स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायतले भवनको जगै भत्काइदिए । पचली भैरव छेउकै महेन्द्र सरस्वती आधारभूत विद्यालयको जगमाथि पिल्लर राख्न उठाइएको फलामको रड काटिदिए ।
-महानगरको महत्त्वाकांक्षा: ३ वर्षभित्रै मोनोरेल भन्ने शीर्षकमा दामोदर न्यौपानेको समाचार छापिएको छ। काठमाडौं महानगरले आगामी ३ वर्षभित्र राजधानीको चक्रपथमा मोनोरेल सञ्चालनमा ल्याइसक्ने महत्त्वाकांक्षी कार्ययोजना घोषणा गरेको छ । काठमाडौं महानगरले नगरसभाबाट पारित चालु अर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र चक्रपथमा मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने योजना घोषणा गरेको हो ।
-बाँध हेर्दै फर्कंदै भन्ने शीर्षकमा शिव पुरीको समाचार छापिएको छ। गृहमन्त्री रामबहादुर थापा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको टोलीले हेलिकप्टरबाट लालबकैया र वाग्मती नदीका बाँधको निरीक्षण गरेर फर्केयता अन्य नेता तथा सरकारका मन्त्रीहरुको लर्को लाग्यो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि बाँध हेरेर फर्किए ।





