पत्रपत्रिकामा आजः मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने, सात आयोजनाको वातावरणीय अध्ययन

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

गोरखापत्र
आजको गोरखापत्रमा मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने भन्ने शीर्षकमा लक्ष्मण दर्नालको समाचार छापिएको छ। सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ । सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।

अस्पतालको फोहोरबाट खाना पकाउने ग्यास भन्ने शीर्षकमा शिवा तामाङको समाचार छापिएको छ। भएभरका फोहोर एउटै डस्टबिनमा फाल्ने संस्कारले फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोरको समस्या कहिल्यै समाधान नहुने मुख्य कारण पनि त्यही हो भन्छन्– फोहोर व्यवस्थापनमा काम गरिरहेका विज्ञहरू । फोहोरलाई स्रोतमै छुट्याउँदा जोखिमयुक्त फोहोरसमेत आम्दानीको दरिलो माध्यम बन्ने अनुपम उदाहरण बनेको छ शिक्षण अस्पताल ।अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई पनि प्रभावकारी ढङ्गमा व्यवस्थापन गरी विगत दुई वर्षदेखि अस्पतालले प्रतिमहिना ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरिरहेको छ । दुईवटा चुलो निरन्तर बल्ने बायोग्याससमेत उत्पादन गर्दै आएको छ । नेपाल हेल्थ केयरको प्राविधिक सहयोगमा अस्पतालको १९ वार्डमा मात्र सञ्चालित फोहोर व्यवस्थापनको सफल नतिजाको प्रतिफल हो त्यो ।

फेरि भारी वर्षा हुने सम्भावना भन्ने शीर्षकमा समाचार छापिएको छ। र्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

नलगाडमा सबै मुआब्जा यसै वर्ष भन्ने शीर्षकमा सहदेव बस्नेतको समाचार छापिएको छ। लामो समयदेखि मुआब्जा पाउन नसकेका नलगाड हाइड्रोपावर निर्माणस्थलका प्रभावित स्थानीयवासीले चालू आर्थिक वर्ष २०७६/७७ मा मुआब्जाबापतको सबै रकम पाउने भएका छन् ।चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सरकारले प्रभावित सबैलाई मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रुपियाँ विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने भएको हो ।

राजधानी
आजको राजधानीमा बाढी र पहिरोको विनाश लीला, ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाइते भन्ने शीर्षकमा सविन शर्माको समाचार छापिएको छ। मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मानवीय क्षति र प्रतिकार्यको विवरण सार्वजनिक गर्दै केन्द्रका उपसचिव वेदप्रसाद खनालले ३४ जिल्लामा बाढी र पहिरोको प्रकोपले क्षति पु¥याएको जानकारी दिए ।

सात आयोजनाको वातावरणीय अध्ययन भन्ने शीर्षकमा समाचार छापिएको विद्युत् विकास विभागले विभिन्न ठूला सात आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको कामलाई तीव्र पारेको छ । ती आयोजनाको क्षमता एक हजार ७ सय ५९ मेगावाट रहेको छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यसाथ अध्ययनको कामलाई गति दिएको हो ।सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार