पत्रपत्रिकामा आजः कान्ति लोकपथ एक सातादेखि अवरुद्ध, तराईमा विषालु सर्पको बिगबिगी 

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

गोरखापत्र
-आजको गोरखापत्रमा प्रट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै भन्ने शीर्षकमा लक्ष्मण दर्नालको समाचार छापिएको छ। तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ। परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समयमै पेट्रोलियम आउने भएको हो। यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो।

-तराईमा विषालु सर्पको बिगबिगी भन्ने शीर्षकमा चाँदनी हमालरसरोज ढुङ्गेलको समाचार छापिएको छ। नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका सप्तरी तिलाठीका रामनारायण देव बताउनुहुन्छ । सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत्रमा बढेको छ । सर्पको आहारा मानिस होइन तर सर्पका आहरा र बासस्थान मानिसको बासस्थान वरपर नै हुन्छ । यसले मानिसको बस्तीमा सर्पको पहुँच हुन्छ । विपद्का बेला अत्तालिएको सर्पले आफ्नो ज्यान जोगाउन मानिसलाई डस्ने क्रम बढी हुने भएकाले सचेत भएर जोगिनुपर्ने विज्ञहरूको सुझाव छ ।

राजधानी
-आजको राजधानीमा अलपत्र बन्यो टेकु पुल भन्ने शीर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। टेकु–कालीमाटी आउजाउ गर्दा मुख्य सडससँगै देख्न सकिन्छ, विष्णुमती पुल । तर, त्यो पुलमा करिब ६ महिनादेखि सवारी आवतजावत रोकिएको छ । पुलको बीच भागमा पर्खाल लगाएर पुल प्रयोगमा अवरोध गरिएको हो । यसरी पुल प्रयोगमा अवरोध भने सरकार आफैंले गरेको हो ।निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले लापरबाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको र मापदण्डविपरीत निर्माण सामग्री प्रयोग गरिएको भन्दै सडक विभागले पुल प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

-साझा यातायातलाई ३ अर्ब रुपैयाँ भन्ने शीर्षकमा सुभाष साहको समाचार छापिएको छ। सरकारले तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ साझा यातायातलाई दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सो रकम साझा यातायात सहकारी संस्था लिमिटेडलाई नेपाल सरकारको सेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको लगानीका रूपमा सो रकम उपलब्ध गराउन लागिएको बताए ।

-तरकारीमा क्लोरोपाइडापस विषादी प्रयोग भन्ने शीर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ठाउँबाट उत्पादन भएका नौ थरीका तरकारीमा विषादीको परीक्षण गर्दा क्लोरोपाइडापस नामक विषादी प्रयोग गरेको फेला पारेको छ । विभागमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा नौवटा तरकारीको नमुनामा ३० प्रकारका विषादीको परीक्षण गर्दा क्लोरोपाइडापस नामक विषादी प्रयोग गरेको पाइएको हो ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा ठूला पुलको बोलपत्र मस्यौदा तयार भन्ने शीर्षकमा निर्दोष घोरसाइनेको समाचार छापिएको छ। ठूला र सहर नजिकका नदीमा ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने पुलको स्तरीय बोलपत्रको मस्यौदा तयार भएको छ। डिजाइन एन्ड बिल्ड मोडालिटीमा पुलको डिजाइन गर्नेले निर्माण ठेक्का पाउँछ। यो मोडालिटीमा निर्माण गर्दा डिजाइनको जटिलताका कारण हुने ढिलासुस्तीको अन्त्य हुने सरकारको विश्वास छ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा कान्ति लोकपथ एक सातादेखि अवरुद्ध भन्ने शीर्षकमा विजय कार्कीको समाचार छापिएको छ। कान्ति लोकपथ एक सातादेखि अवरुद्ध भएको छ । वर्षा र पहिरोको कारण गत शुक्रबारदेखि लोकपथ बन्द भएको हो । भालु खोला, जितपुरगढी, नयाँ गाउँ, टीकाभैरभ, कार्कीबाँसलगायतका ठाउँमा पहिरो गएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको आयोजनाका सूचना अधिकारी अमिन्द्र खड्काले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार