काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा मादी पुल निर्माणको म्याद दोस्रोपटक थप्ने तयारी भन्ने शीर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ। सम्झौताअनुसार तोकिएको समयमा काम नगरेका ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको छ। मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बनाउने जिम्मा पाएको ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको हो। सम्झौताअनुसार निर्धारित समयमा काम नसकेपछि यो पुल बनाउन यसअघि नै एकपटक म्याद थपिसकिएको थियो।
-फलफूलका बिरुवा वितरण भन्ने शीर्षकमा समाचार छापिएको छ। रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले करिब १२ हजार फलफूलको बिरुवा वितरण गरेको छ। व्यवसायिक रूपमा फलफूल खेती विस्तार र प्रवद्र्धनका लागि शाखाले कृषकलाई ११ हजार आठ सय ९० वटा फलफूलका बिरुवा वितरण गरेको हो।
-‘विषादी जाँच नगरी तरकारी, फलफूल नल्याउनू’ भन्ने शीर्षकमा समाचार छापिएको छ। एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्त्र्याउन अन्तरिम आदेश दिएको छ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुईदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम आदेश दिएको हो।
-सडक ठप्प हुँदा बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य भन्ने शीर्षकमा दमन राईको समाचार छापिएको छ। पहिरोका कारण राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुँदा खोटाङका बिरामी हेलिकोप्टर चार्टर गरी अस्पताल जान बाध्य बनेका छन्। वर्षा र पहिरोका कारण खोटाङबाट सहर पुग्ने सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालले रेफर गरेका बिरामी महँगो शुल्क तिरेर हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका हुन्। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम, दिक्तेल–काठमाडौं, दिक्तेल–कटारीलगायत सडक शुक्रबारदेखि ठप्प छन्।
-न गास रह्यो न बास, ‘चिउरा चपाउँदा बंगारा दुख्यो सरकार’ भन्ने शीर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ। भोकले १५ दिने शिशु अनन्दनी रोइरहेकी छन्। आमा लक्ष्मीनिया सदाय ९मुसहर० दूध चुसाएर भोक मेटाउने कोसिसमा छन्। तर अघाउने दूध नआएकाले अनन्दनीको रुवाइ थामिएको छैन। सिरहा कर्जन्हा नगरपालिका–३ सुन्दरपुरको सुकुमबासी बस्तीअघि त्रिपालमुनि बस्दै आएको बाढीपीडत सदाय परिवारमा देखिएको कारुणिक दृश्य हो यो।
-वन्यजन्तुको आक्रमणले एक वर्षमा १२ को मृत्यु भन्ने शीर्षकमा समाचार छापिएको छ। आर्थिक वर्ष २०७५र७६ मा चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा मात्रै वन्यजन्तुको आक्रमणमा परेर १२ जनाको ज्यान गइसकेको छ। पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर मंगलबार पनि एकजनाको मृत्यु भएसँगै मृतकको संख्या त्यति पुगेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जंगली हात्तीको आक्रमणमा परेर सातजनाले ज्यान गुमाएका छन्। त्यसैगरी बाघ र गैंडाको आक्रमणबाट दुई÷दुई र मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको उनको भनाइ छ।
राजधानी
-आजको राजधानीमा देशभरका हजारौं स्थानमा जग्गा अतिक्रमण, उजुरी अत्यन्तै न्यून भन्ने शीर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ। देशभरमा हजारौं स्थानमा सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणका विषय सार्वजनिक भइरहेको भए तापनि उच्चस्तरीय भूमि आयोगमा भने न्यून मात्रामा मात्रै अतिक्रमणविरुद्ध उजुरी परेका छन्। आयोगमा अतिक्रमणविरुद्ध न्यून उजुरी परेपछि हजारौं स्थानमा जग्गा हडपेर बसेका भूमाफियाहरूले उन्मुक्ति पाउने सम्भावना बढेको पाइएको छ। सरकारले गठन गरेको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका अनुसार निवेदन दिने अन्तिम दिन मंगलबारसम्म देशका विभिन्न स्थानबाट ९० वटा मात्र उजुरी परेका छन्। जुन निकै न्यून हो।
-पाइपलाइनको तेल साउन अन्तिम साताबाट भन्ने शीर्षकमाकौशिला कुँवरको समाचार छापिएको छ। अबको एक महिनापछि भारतबाट पाइपलाइनद्वारा पेट्रोलियम पदार्थको आयात हुने भएको छ । भारतको मोतीहारीबाट नेपालको अमलेखगन्जसम्म बिच्छ्याइएको पाइपलाइनको परीक्षण कार्य अन्तिम चरण पुगेको छ । सो पाइपलाइनबाट तेल ल्याउन पहिलो चरणको सबै परीक्षण गरिसकेर सोमबारदेखि पाइपलाइनबाट पानी पठाएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
-मापदण्डविपरीतका क्रसर उद्योग बन्द भन्ने शीर्षकमा सरिता दाहालको समाचार छापिएको छ। मकवानपुरमा रहेका र मापदण्डविपरीत सञ्चालनमा रहेका सबै क्रसर उद्योग र हाल सञ्चालनमा रहेका बालुवा प्लान अनिश्चित समयका लागि बन्द गरिने भएको छ ।आर्थिक वर्ष २०७६/७७ को पहिलो दिन १ साउनबाटै अनिश्चित समयका लागि क्रसर उद्योग र बालुवा प्लान्ट बन्द गरिने भएको हो ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा राजधानी जोड्ने सडक बेहाल भन्ने शीर्षकमा कृष्ण सारू मगरको समाचार छापिएको छ। प्रदेश ३ को राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोडने दुईवटा छोटो मार्ग बेवारिसे बनेको छन्। तीनवटा तहका सरकारले बाटो मर्मतमा चासो नदिँदा ६ दिन अघि गएको पहिरो पन्छाउने सुरु भएको छैन। पहिरो हटाउन नसक्दा कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक बिहीबारदेखि अवरुद्ध छ।
-पीडितलाई राहत बाँड्न ढिलाइ भन्ने शीर्षकमा समाचार छापिएको छ। प्रदेश २ मा बाढीबाट ३२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन्। हजारौं घरबारविहीन भई सडक र सार्वजनिक स्थलमा बस्न बाध्य छन्। बाढीमा सबै सिरिखुरी गुमाएकालाई दुई छाक टार्न पनि धौ धौ छ। बाढी प्रभावितलाई राहत वितरण गर्न पनि उस्तै ढिलाइ भइरहेको छ।
कान्तिपुर
-आजको कान्तिपुरमा तरकारी आयात पर्याप्त, मूल्य वृद्धि उच्च भन्ने शीर्षकमा राजु चौधरीको समाचार छापिएको छ। उपत्यकामा पर्याप्त तरकारी भित्रिए पनि बजारमा उच्च मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारी बजारमा औसतमा ८ सय टन तरकारी भित्रिन्छ । मुलुकभर वर्षा र बाढी पहिरो गए पनि तीन दिनयता तरकारी बजारमा आयात सामान्य नै छ ।
-पहिला पोखरी अहिले पार्किङ भन्ने शीर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ। नेपाल भाषामा पलेस्वाँ पुखु भनिने सप्तपाताल पोखरीमा ललितपुर महानगरपालिकाले पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । यसको विरुद्धमा पाटनबासीले विरोध जनाएका छन् । सप्तपाताल पोखरी लगनखेलस्थित अशोक थुरको सान हो ।
-वाग्मतीले लखेट्यो ४ सय परिवार भन्ने शीर्षकमा शिव पुरीको समाचार छापिएको छ। शुक्रबार राति बाढीले घर डुबाएपछि जसोतसो ज्यान जोगाएकी दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाकी ६५ वर्षीया सरस्वती कोइरीको बायाँ खुट्टा भाँचिएको छ । बाढीबाट जोगिन भाग्ने क्रममा उनको खुट्टा भाँचिएको हो ।
-कर्णाली करिडोरको निर्माण सुस्त भन्ने शीर्षकमा तुलाराम पाण्डेको समाचार छापिएको छ। वर्षा सुरु भएसँगै राष्ट्रिय गौरवको कर्णाली करिडोर खुलालु–हुम्ला सल्लीसल्ला सडकको काममा सुस्तता आएको छ । वर्षाले काम नरोकिए पनि कामदारको संख्यामा कमी भएको निर्माण कार्य दलले जनाएको छ ।
गोरखापत्र
-आजको गोरखापत्रमा राहतका लागि क्षति विवरण सङ्कलन तीव्र भन्ने शीर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। तराईमा बाढी र डुबानका कारण अलपत्रमा परेकाको उद्धार सकेलगत्तै राहतका लागि क्षतिको विवरण सङ्कलन अभियान सुरु भएको छ । घरबारविहीन भएकालाई शिविरमा राखेर तत्कालीन राहतसहित विवरण सङ्कलन गरिँदैछ । हरेक टोल, गाउँ र नगर क्षेत्रमा भएका मानवीय, भौतिक र आर्थिक क्षतिको पूर्ण विवरणको सङ्कलन सुरु भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विपद्पछि भएको जनधनको क्षति, भौतिक संरचनाको पूर्ण क्षति, आंशिक तथा अन्य क्षतिको अवस्था यकिन गरेपछि मात्र ठोस राहत प्रदान गर्न सकिने प्रमुखहरूको भनाइ छ ।
-अवरुद्ध सडक सञ्चालनमा भन्ने शीर्षकमा गोपालचन्द्र सुवेदीको समाचार छापिएको छ। बिहीबारदेखिको अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका अधिकांश सडकमा यातायात सञ्चालनामा आएका छन् । खासगरी मकवानपुर, सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट महोत्तरीलगायत जिल्लाका विभिन्न सडक अवरुद्ध भएका थिए । त्यस्तै मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटमा पनि सडकहरू अवरुद्ध भएका थिए ।





