काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा लमजुङे किसान अलैँची रोप्न व्यस्त भन्ने शिर्षकमा शान्ता कमलीको समाचार छापिएको छ। जिल्लाका अलैँची किसान यतिवेला अलैँची रोप्न व्यस्त छन् । मनसुन सुरु भएसँगै अलैँची खेती गरिरहेका किसान अलैँची बिरुवा रोप्न सुरु गरेका हुन् । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले ३ असारदेखि बारीमा अलैँचीका बिरुवा लगाउन थालेको जानकारी दिए । उनले करिब २० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी गरेका छन् । उनले भने, ‘वर्षा लागेसँगै अब अलैँचीका बिरुवा रोप्न चटारो छ । १५ रोपनी क्षेत्रफलमा २५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी छ ।’ उनका अनुसार जिल्लाका अलैँची किसानले आफैँले बिरुवा उत्पादन गरेर लगाउने र बिक्रीसमेत गर्ने गरेका छन् । जेठ महिनाबाट साउन महिनासम्म बिरुवा रोप्ने गरिन्छ ।
-प्युठानमा पहिलो नेपाली कागज उद्योग सञ्चालन भन्ने शिर्षकमा सागर रिजालको समाचार छापिएको छ। जिल्लामै पहिलोपटक नेपाली कागज उद्योग सञ्चालनमा आएको छ । प्युठान नगरपालिका– १० सरिबाङमा जंगलमा खेर गइरहेको लोक्ता संकलन गरी नेपाली कागजको उत्पादन थालिएको हो । नेपाली कागजको माग बढ्दै गएपछि गौमुखी नेपाली कागज उद्योग स्थापना गरी कागजको उत्पादन थालेको उद्योगका सञ्चालक नेगनसिंह कुँवरले जानकारी दिए ।
राजधानी
-आजको राजधानीमा पहिल्यै बनेका घरलाई एकमुष्ठ तीन लाख भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। सरकारले भूकम्पपीडितका लागि अनुदान वितरणमा थप लचकता अपनाउँदै प्राविधिक पुग्नुअघि नै बनेका घरलाई पनि एकमुष्ठ तीन लाख दिने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।
-विकास खर्चमा पुरानै कार्यशैली भन्ने शिर्षकमा समाचार छापिएको छ। पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुई तिहाइको सरकार हुँदा पनि विकास खर्चबारे पुरानै कार्यशैली देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री कोइरालाले यस्तो बताएका हुन् । विकास त सकारात्मक रूपमा अघि बढेको राम्रो भए पनि किन असारे विकासका कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अहिले स्थायी सरकार छ । दुई तिहाइको सरकार बनेपछि पुरानो रोग कम हुने आधार भए पनि अझै यस्तो हुनु राम्रो नभएको उनको भनाइ थियो । उनले आयोजना कार्यान्वयनको क्षमता पनि बढाउनुपर्ने बताए ।
नागरिक
-आजको नागरिकमा माक्स बिना हिँड्नै मुस्किल भन्ने शिर्षकमा श्याम राईको समाचार छापिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन। माक्स लगाएर हिँड्नुपर्दैन। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे। अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन्।’ प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए।
-भैरहवामा ठूलो हवाई इन्धन डिपो बनाउँदै निगम भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। नेपाल आयल निगमले भैरहवामा अहिलेसम्मकै सबैभन्दा ठूलो एक करोड लिटर ९१० हजार किलोलिटर० क्षमताको हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर अहिलेसम्मकै ठूलो हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो।
कान्तिपुर
-आजको कान्तिपुरमा तीनकुने पुलको विकल्प खोजिँदै भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ। तीनकुनेस्थित वाग्मती नदीमा निर्माणधीन पुलको विकल्प खोजिने भएको छ । पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर गुणस्तरहीन काम गरेको पाइएपछि अहिले निर्माणको काम रोकिएको छ ।
-कफीमा काभ्रे अगाडि भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ। व्यावसायिक कफीखेतीमा काभ्रे जिल्ला अगाडि रहेको तथ्यांक मंगलबार सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागअन्तर्गत कृषि तथा पशुपन्छी गणना तथा सर्वेक्षण शाखाले सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षण २०७५र७६ ले व्यवसायीको संख्या, कफी लगाएको क्षेत्रफल र कफी उत्पादनको आधारमा काभ्रे अगाडि देखिएको हो ।





