Sunday, September 29, 2024

स्वच्छ वायु, स्वस्थ जीवन

विराटनगर । सन् १९७२ को संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको र १९७४ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस आज जुन ५ तारिखमा संसारका एक सयभन्दा धेरै देशहरुमा मनाइदै छ । यो दिवसको एउटा प्रमुख लक्ष्य हो, वातावरणसम्बन्धी जनचेतना जगाउने । विश्वका धेरै देशहरु सहभागी हुने कार्यक्रम यस वर्ष चीनले आयोजना गरेको छ । नेपालमा पनि राष्ट्रिय र स्थानीय स्तरमा विविध सचेतनामूलक र संरक्षणमूलक कार्यक्रमहरु आयोजना गरिएका छन् ।

रामचन्द्र अधिकारी

यस वर्ष यो दिवसको नारा वायु प्रदूषणसम्बन्धी राखिएको छ —स्वच्छ वायु, स्वस्थ जीवन । जमीनमा बस्ने जीवहरुको जीवन मानिएको प्राणवायु अक्सिजनको स्रोत हावा वा वायु हो । पानीमा बस्नेहरुको अक्सिजनको स्रोत पानी भएपनि यसको प्राथमिक स्रोत हावा नै हो । तसर्थ हावामा यथेष्ट अक्सिजन नभई अन्य ग्यासहरुको वाहुल्यता रहयो भने सो हावा प्रदूषित हुन्छ, सबै किसिमका जीवहरुलाई असर गर्छ ।

मानव समुदाय त झन् हावा दूषित भएका कारण, हावामा अनेकन हानिकारक रसायन मिसिएका कारणले ठूलो स्वास्थ्य जोखिमको स्थितिमा छ । हरेक वर्ष संसारमा ७० लाख मानिसहरुको ज्यान वायु प्रदूषणबाट सिर्जित हुने रोगहरुबाट जाने गरेको छ । ७० मध्ये ४० लाख मानिस त एशिया प्यासिफिक क्षेत्रका पर्दछन् । विश्व स्वास्थ्य संगठनले भनेको छ – संसारका ९१ प्रतिशत मानिसहरु वायु प्रदूषित क्षेत्रमा बसोबास गर्छन् ।

यसको अर्थ यति धेरै मानिसको स्वास्थ्य प्रदूषित वायुको प्रभावमा छ । वायु प्रदूषणको गति तिव्र रुपमा अघि बढेको छ । अनपेक्षित तरिकाले वायु प्रदूषण बढेका कारणले मानवस्वास्थ्यमा ठूलो चुनौति थपिएको छ । वायुप्रदूषणको न्यूनीकरणका लागि हरेक वर्ष विश्वमा ठूलो धनराशी खर्च हुने गरेको छ । एक अध्ययनले देखाएको छ कि हरेक साल १० खर्ब डलर यस मामलामा खर्च हुने गरेको छ । तथापि सुधारको स्थिति आउने देखिएको छैन । बरु,प्रदूषणको ग्राफ आकाशिएको छ ।

विभिन्न अध्ययनले देखाए अनुसार सन् १९५० देखि २०१९ मा आइपुग्दा हावामा कार्वनडाइअक्साइडको मात्रा तीन सय पीपीएमदेखि चार साय पीपीएम पुगेको छ । अन्य हानिकारका ग्यासको मात्रा बढेको तर प्राण वायु अक्सिजनको चाहिँ घटिरहेको अवस्था छ । हावामा २१ प्रतिशत छ भनिएको अक्सिजन आज २० भन्दा उँदो लागिसकेको छ । १६ किलोमिटरभन्दा माथि रहेको ओजोन तह टुक्रिएर बनेको नासेन्ट अक्सिजन(एकल आणविक)ले पृथ्वी सतहमा आएर यहाँ भएको द्विआणविक अक्सिजनसँग मिलेर ओजोन (त्रिआणविक)बनाइरहेको छ । माथि भएको ओजोन त पृथ्वीको छानो हो तर सतहमा बनेको ओजोन अति हानिकारक ग्यास हो । यसले मानवस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने कुरा एकातिर छँदैछ अर्कातिर वनस्पतिलाई असर गरेरर खाद्य उत्पादनमा गिरावट ल्याइरहेको छ । सन् २०३० सम्ममा यस कारणबाट ठूलो खाद्य संकटको संभावना देखिएको छ । प्रत्येक वर्ष एक अर्ब डलर बराबर मूल्यको खाद्यन्न उत्पादनमा यस कारणबाट गिरावट आएको पाइएको छ । सतहमा बन्न आउने ओजोनबाट गहुँ र भट्मास बढी प्रभावित भएका छन् ।

विश्व स्वास्थ्य संगठनकै तथ्यमा आधारित भएर भन्दा— स्वच्छ वायुमा सास फेर्ने मानिस त नौ प्रतिशत मात्रै रहेछन् । खासगरी घरभित्र हुने प्रदूषणका कारण मात्र साढे चार अर्ब मानिस प्रभावित भएका छन् । दाउरा तथा खुल्ला चुल्हो बालेर खाना पकाउने जनसंख्या करिब ४० प्रतिशत छ ।

यसको अर्थ यति मानिसको बासस्थान पनि अति प्रदूषित छ । आजको समस्या मात्र होइन घरिघरि घटनाविशेषले भड्किने वायुप्रदूषणले संसारलाई अत्याउने गरेको छ । जस्तैः सन् १९५२ मा युरोपमा फैलिएको ग्रेट स्मगले आठ हजार मानिसलाई मारेको थियो । उर्जाको स्रोतको कुरा गर्दा आजको विश्वमा गह्रौँ कच्चा पेट्रोलियम प्रयोग हुने गरेको छ बढी मात्रामा । यो एक किसिमको ठूलो प्रदूषक हो ।

वायु प्रदूषणका कारणबाट हुने जो पुराना रोगहरु त छँदैछन् नयाँ रोगहरु पनि जन्मिरहेका छन् । जस्तैः एउटा बेइजिङ कफ भनिने विराम अहिले नयाँ आएको छ । नयाँ प्रविधि र वैकल्पिक उर्जास्रोतमा अगाडि छ भनिएको चीनमा वायु प्रदूषण हुने प्रमुख कारण तेलपाइप वा सवारी साधनका ग्यास चिम्नी मानिन्छन् । यस्ता सवारीले वायु प्रदूषणको ७० प्रतिशत हिस्सा लिएको छ ।

एशिया महादेशमा हुने जम्मा मृत्युको ६५ प्रतिशत र भारतमा हुने जम्मा मृत्युको २५ प्रतिशत प्रदूषित हावाकै कारण हुने गरेको तथ्यांक छ । नेपालमा हरेक साल ३५ हजार जना मानिसको वायु प्रदूषणजन्य रोगबाट मृत्यु हुने गरेको नाष्टद्वारा आयोजित एक कार्यक्रममा सन् २०१८ मा प्रतिवेदन दिइएको थियो । जसमध्ये ३६ प्रतिशत फोक्सोको क्यान्सर, ३४ प्रतिशत हृदयघात र बाँकी अन्य किसिमका रोगहरुबाट शिकार भई मृत्युको मुखमा पुग्छन् । अमेरिकामा पनि वायुप्रदूषणबाट हुने वार्षिक मृत्यु ५० हजार छ भने चीनमा सात लाख ५० हजार जना मानिस सालिन्दा वायुप्रदूषणबाट सिर्जित रोगबाट मर्ने गरेको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड यस्तो छ कि वार्षिक औसत १० माइक्रोग्राम प्रति घनमिटरभन्दा बेसी सूक्ष्म धूलोका कण हावामा हुनु भनेको प्रदूषण हो । त्यस्तै ओजोनको मात्रा एक सय माइक्रोग्राम प्रति घनमिटर प्रति आठ घण्टा हुनुपर्छ । यो सिलिङमाथि नाघेर गएको अवस्था वायु प्रदूषण हो । हावामा हानिकारक भनिएका हरितगृह ग्यासहरुको मात्रा पनि बढिरहेको पाइएको छ । यसका पछाडि प्राकृतिक नियम र मानवीय क्रियाकलाप नै कारण मानिएका छन् ।

प्रदूषणको अवस्था भयावह भइरहेको यस घडीमा वातावरण दिवसको नारा सान्दर्भिक रहेको छ । दिगो विकास लक्ष्यलाई साकार बनाउन समेत आजको दिनले वा वातावरण दिवसको प्रशंगले थप टेवा पुर्याउने छ । वायुलाई सुरक्षित तथा प्रदूषणमुक्त बनाउन नसकिएमा स्वास्थ्य जीवनको परिकल्पना गर्न सकिन्न । स्वास्थ्य जीवन भएन भने दिगो विकास सोच्न पनि सकिने अवस्था छैन ।

वायुप्रदूषणमा कमी ल्याउनका लागि मूलतः उर्जाको वैकल्पिक स्रोतका पहिचान तथा प्रयोग गर्न जरुरी छ । त्यसैगरी हाम्रा गाउँ शहरमा हुने विकास निर्माणका कामलाई व्यवस्थित तथा द्रुत किसिमले गरिनुपर्छ किनभने शहरी प्रदूषणको एउटा प्रमुख कारण सडक विस्तार भएको छ । वायुप्रदूषण कम गर्नलाई धूमपानलाई निरुत्साहित गर्न पनि आवश्यक कुरा हो । किनकि घरभित्रको प्रदूषण गराउने यो कारण निकै दर्बिलो छ ।

विरुवा रोप्ने र हुर्काउने अनि हरियाली शहरको अवधारणा ल्याउनु पर्छ । साथै पोखरी तथा सिमसारको संरक्षण अति महत्वपूर्ण कुरा हो । किनभने सिमसारहरुले हावामा भएका हानिकारक ग्यासहरुलाई सोसेर लिन्छन् र वायुप्रदूषण घटाइदिन्छन् ।

काठमाण्डौमा मात्र ४० वटा पोखरी विगत ७० वर्षमा मासिए भन्ने समाचार आएको छ । यस किसिमले देशैभरि कति मासिए होलान्, वायुप्रदूषणका हिसाबले भन्दा यो अति नै दुःख लाग्दो कुरा हो । तसर्थ प्राकृतिक स्रोतलाई जोगाउँदै,वातावरणमैत्री विकासलाई अंगिकार गर्दै,दिगो विकास लक्ष्यलाई लक्ष्यित गर्दै,सर्वसाधारणमा यसबारे सन्देश संवाहन गर्दै अघि बढियो भने मात्र हामी स्वच्छ वायु पाउँछौँ अन्यथा स्वास्थ्य जीवनको परिकल्पना पनि गर्न सकिन्न ।

ताजा समाचार

सम्बन्धित समाचार