Monday, September 30, 2024

अर्थतन्त्रमा कृषि र वनको २६.५० प्रतिशत योगदान

काठमाडौँ–केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७५-०७६ मा आर्थिक वृद्धिदर ६.८१ प्रतिशत कायम भई अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विभागले हालसम्म उपलब्ध तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा सो प्रक्षेपण गरिएको जनाएको हो।

सरकारले भने बजेटमार्फत यो बर्ष ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएपनि मध्यावधिक समीक्षामार्फत त्यसलाई संशोधन गर्दै आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा कायम रहने अनुमान गरेको थियो । यद्यपि सो लक्ष्य समेत पूरा नहुने विभागले जनाएको छ।

२०७४-७५ मा ६.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा २०७३-७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो।

जीडीबीमा कृषि र वनको योगदान
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि र वन क्षेत्रको योगदान २६.५० प्रतिशत रहने भएको छ, भने मत्स्यपालनको ०.४८ प्रतिशत । बाँकी ७३.०२ प्रतिशत योगदान गैर कृषि क्षेत्रले दिएको छ ।

विभागका अनुसार जीडीबीमा कृषि र वनको कुल ८ खर्ब ११ अर्ब तथा मत्स्यतर्फ कुल १४ अर्ब ६६ करोड योगदान प्रक्षेपण गरिएको छ।

यो वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। जुन ८.८९ प्रतिशतले बढी हो। धानमा उत्पादन वृद्धि भएकाले कृषि क्षेत्रको वृद्धिदरले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुगेको हो। गत आर्थिक वर्षमा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

यो वर्ष कृषि क्षेत्रको वृद्धिदर ५.०३ प्रतिशतले भएको छ। अघिल्लो वर्ष यो क्षेत्रको वृद्धिदर २.७९ प्रतिशतले भएको थियो। दलहनबाहेक अरू सबै उत्पादनको वृद्धि भएको छ।

मत्स्यपालनको वृद्धि यो वर्ष ५.०२ प्रतिशतले भएको छ। अघिल्लो वर्ष यसको वृद्धि ६ प्रतिशतले भएको थियो।  चालू आवमा मौसमको अनुकूलताका कारणले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि, पुनःनिर्माणका लागि वन पैदावारका सामग्री तथा उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सकारात्मक प्रभाव परेको छ।

ताजा समाचार

सम्बन्धित समाचार