Tuesday, October 1, 2024

कञ्चनपुरमा नदी, खोलाको दोहन

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पर्ने बण्ड र मछेली खोलामा मापदण्डविपरीत निर्माण सामग्री उत्खनन् भइरहेको छ ।

खोलामा निर्माण सामग्री उत्खननका लागि बनाइएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) रिपोर्टमा बढीमा डेढ मिटर गहिराइसम्म मात्रै उत्खनन् गर्न पाउने उल्लेख छ ।

तर, त्यहाँ उल्लेख भएभन्दा ३÷४ गुणा गहिरो खनेर नदीबाट मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

नदीको बहाव नै परिवर्तन गर्ने गरी मछेली खोलामा निर्माण सामग्री उत्खनन् भइरहेको स्थानीय तथा कृष्णपुर नगरपालिका–२ का वडा सदस्य तुलुुसीदेवी कलौनीले बताइन्। ‘यहाँ मापदण्ड मिचेर निर्माण सामग्री उत्खनन् भइरहेको छ, जथाभावी रूपमा भइरहेको उत्खननले नजिकका बस्ती समेत जोखिममा छन्,’ उनले भनिन्।

मछेली खोलामा पुल छेउबाट निर्माण सामग्री उत्खनन् हुँदा पुलसमेत जोखिम गडबिजला सामुदायिक वनका हेरालु दलबहादुर विष्ट बताउँछन्। सामान्यतया पुलभन्दा ५ सय मिटर टाढा, नदी किनारबाट ५/५ मिटर टाढा र चुरेफेदीबाट २ सय मिटर टाढाबाट मात्रै निर्माण सामग्री उत्खनन गर्न पाइन्छ। यो मापदण्डविपरीत यहाँ उत्खनन भइरहेको छ ।


कृष्णपुर नगरपालिका–२ मछेली खोलाबाट मापदण्डविपरीत ढुंगा, गिट्टी उत्खनन गरिँदै।

यहाँका अधिकांश खोला,नाला वन क्षेत्रमै भएका कारण जथाभावी दोहनले वनमा पनि ठूलो असर परिरहेको छ। कृष्णपुर नगरपालिका–२ देखि वडा नम्बर ३ सम्म मछेली खोलाले बढी क्षति गर्ने गरेको वडा नम्बर २ का अध्यक्ष जयनारायण जोशीले बताए। ‘यो संवेदनशील क्षेत्र हो तर जथाभावी उत्खननले बस्ती नै जोखिममा छन्,’ उनले भने।

रातिको समयमा निर्माण सामग्री उत्खनन गर्न खोलामा डोजरको समेत प्रयोग हुने गरेको उनले बताए। मापदण्डविपरीत भइरहेको उत्खनन् रोक्न ४–५ जनाको मछेली खोलामा परिचालन गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत्त धामीले बताए।

भीमदत्त नगरपालिकाको वडा नम्बर ३ मा पर्ने खन्या खोलामा पनि मापदण्डविपरीत उत्खनन भइरहेको छ। चुरे फेदसँगै जोडिएको खन्या खोलामा ४-५ गुणा गहिरो खनेर मनपरी ढंगले ढुंगा र ग्राभेल निकाल्दा नजिकका बस्ती जोखिममा पर्ने सम्भावना रहेको छ।

भावरदेखि चुरेको फेदसम्मै डोजर प्रयोग गरी निर्माण सामग्री उत्खनन हुँदा उक्त क्षेत्रका सामुदायिक वनसमेत जोखिममा परेको शहीद स्मृति सामुदायिक वनका अध्यक्ष कर्णबहादुर विष्टले बताए।

उनका अनुसार चुरे फेदमै डोजर प्रयोग गर्दा केही वर्षयता खोलाको सिरानमा ठूलो पहिरो खस्ने क्रम पनि बढ्दै गएको छ।

उक्त क्षेत्रमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणले तटबन्ध निर्माणको काम गरिरहेको छ । तटबन्ध छेउबाट समेत निर्माण सामग्री निकाल्ने काम भइरहेको छ । खन्या खोलाको चुरे फेदीमा निर्माण सामग्री उत्खननकै लागि दैनिक २÷३ डोजर प्रयोग भइरहेका छन् । डोजरले ठाउँ ठाउँमा गहिरो खाल्डो खनेर खोलाकोस्वरूप नै बिगारेको छ । आईईई रिपोर्ट अनुसार महाकाली नदीमा पनि दैनिक बढीमा २ सय ५० घनमिटर मात्रै निर्माण सामग्री निकाल्न पाउने उल्लेख छ । तर, आईईईमा तोकेको मापदण्डभन्दा दैनिक कैयौं गुणा बढी निर्माण सामग्री उत्खनन भइरहेको छ । महाकालीमा एकै दिनमा ठूला साना गरी एक हजारको हाराहारीमा ढुवानी साधनहरू चल्ने गर्छन ।


कृष्णपुर नगरपालिका–२ मछेली खोलाबाट मापदण्डविपरीत ढुंगा, गिट्टी उत्खनन गरिँदै।

डिभिजन वन कार्यालय कञ्चनपुरले पनि अवैध रूपमा भइरहेको निर्माण सामग्री उत्खनन रोक्न स्थानीय तहलाई आग्रह गर्दै आएको डिभिजन वन अधिकृत मोहन काफ्लेले बताए । उनका अनुसार स्थानीय तहले नदी नालाको ठेक्का लगाउने र त्यसपछि नहेर्ने गरेका कारण समस्या आएको हो। खोलानालामा डोजरको प्रयोग स्थानीय तहले बन्द गर्नुपर्ने उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार