Tuesday, October 1, 2024

सोलार प्रविधिबाट तरकारी बारीमा सिंचाइ

धनगढी–भजनी नगरपालिका–५, कुटी गाउँका किसानहरू सोलार प्रविधिबाट भूमिगत पानी तानेर तरकारी बारीमा सिंचाइ गर्दै आएका छन्।

यसअघि धान, गहुँ र तोरी लगाउँदै आएका यहाँका स्थानीय सोलार प्रविधि जडान गरेपछि भूमितगत पानीको भरपुर उपयोग गरेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन्।

‘पहिले नल्का (हेण्डपम्प) चलाएर बाल्टिनमा पानी बोक्नुपर्ने बाध्यता थियो। विजुली जडान गरेर मोटर जोड्न पैसा पुग्दैनथ्यो,’ कुटीकी गौरी चौधरीले भनिन्, ‘अहिले सोलार प्यानल जोडेपछि बारीसम्म पाइपबाट पानी पुग्छ।

उनी पहिले आफूलाई खानका लागि मात्र बारीमा मौसम अनुसारको तरकारी लगाउथिन्। तर, पछिल्लो एक वर्षदेखि बेमौसमी तरकारी समेत लगाउने गरेको र गाउँ, बजारमा बिक्री गर्ने गरेको गौरीले बताइन्।

गौरीले अहिले २ कट्टा जमिनमा बोडी, करेला, फर्सी लगायतका तरकारी लगाएकी छिन्।  गाउँघरमा अझै बस्तु् विनिमय प्रणाली छ। त्यसको भरपुर सदूपयोग गर्दै आएकी छन्, गौरी। ‘सबैसँग नगद हुँदैन। धान, गहुँ लगायत अन्नसँग साटेर पनि तरकारी दिने गरेकी छु,’ उनले भनिन्। एक सिजनमा १५ देखि २५ हजारसम्म कमाउने गरेको गौरीले बताइन्।

कुटीकै इन्द्रादेवी डगौंराले पनि ४ कट्टा जमिनमा प्याज र खुर्सानी लगाएकी छन्। नलबाट पानी पेलेर हाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ। सोलार प्रविधिबाट भूमिगत पानी तान्न थालेपछि यहाँका कृषक खुसी छन्।

‘नल भन्दा सोलारबाट तरकारीमा सिँचाइ हुँदा धेरै सहज भएको छ। पहिला पानी भएपनि मेहनत बढी गर्नुपर्ने हुन्थ्याे। अहिले समयसँगै कमाइ पनि राम्रो भएको छ,’ उनले भनिन्। इन्द्रादेवीले एक सिजनमा लगाएको तरकारीबाट ६० हजारसम्म कमाई गर्ने गरेको बताउँछिन्।

त्यस्तै, अञ्जु डगाैंराले पनि चार कट्टा जमिन तरकारी खेती लगाएकी छिन्। उनीहरुले मिलेर सोलार प्रविधिबाट निस्कने पानीको पालै–पालो आ–आफ्नो तरकारी बारीमा सिंचाइ गर्छन्। पानीको सहजता र तरकारीबाट आएको आम्दानीबाट घरव्यहार चलाउन सहज भएको बताउँछिन् अन्जु।

कुटी गाउँको लौवस्ता र लखराइ टोलका २६ घरपरिवार सोलार प्रविधिबाट भूमिगत पानीले तरकारी बाली सिंचाइ गर्दै आएका छन्। उनीहरूले सृजना तरकारी समूह र जुनकिरी तरकारी समूह समेत गठन गरेका छन्।

अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाको सहकार्य र यूएसआइडीको सहयोगमा सृजनालाई २ र जुनकिरी तरकारी समूहलाई एउटा सोलार सहयोग गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार