Tuesday, October 1, 2024

प्रि–मनसुनमा किन चल्छ हावाहुरी ?

काठमाडौं– मार्च, अप्रिल र मे, यी तीन महिनाको अवधि प्रि–मनसुनको हो। यो समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने समस्या पनि देखा पर्ने गर्छ।

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियामा हावाहुरीले पुर्याएको वितण्डा। तस्वीर स्रोत: इकान्तिपुर डटकम

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने गर्छ। प्रि मनसुनमा हावा चल्नु सामान्य मानिएपनि आइतबार बेलुका पूर्वी नेपालको बारा, पर्सा लगायतका जिज्लामा ठूलो हावाहुरी चल्यो। तीव्र गतिको हावाहुरीका कारण, घर, गोठ, विजुलीका पोल, टेलिफोनका पोल, रुख, लगायत भौतिक संरचना भत्किदा २७ जनाको ज्यान गइसकेको गृहमन्त्रालयले जनाएको छ। ६ सयभन्दा बढी घाइते भएका छन्।

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ भन्छन्, ‘सामान्यतयाः १२ घण्टा अघि मौसमको पूर्वानुमान हुन्छ। तर, कहिलेकाहीँ अचानक मौसममा फेरबदल समेत भइदिन सक्छ।’

मौसम पूर्वानुमान महाशाखाकाले पनि आइतबारको बुलेटिनमा ‘नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको’ उल्लेख गरेको थियो।

तर, असिना पानी मात्र आएन तीव्र गतिमा हावाहुरी चल्यो। श्रेष्ठ भन्छन्, ‘सामान्यतयाः हावाहुरी चल्ने पूर्वानुमान गरिन्छ। तर, हिजो (आइतबार) को हावाहुरीझै कुनै निश्चित स्थानमा भनेर प्रायः कम नै हुन्छ।’

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल ‘स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भएको बताउँछन्। ‘स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ,’ उनले भने।

चक्रवातको विकास हुँदा पनि अत्यन्तै ठूलो न्युनचापीय क्षेत्रको विकास हुन्छ। त्यसैले हावाको गति वायुमण्डलमा विकास हुने निम्न चापीय क्षेत्रको तीव्रतामा भर पर्ने गर्दछ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशको पहाडी भेगको थोरै स्थानमा र पूर्वी तराई भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ, भने राति पूर्वी भु–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ।

किन चल्छ हावाहुरी?
मौसमविद्हरुका अनुसार सामान्य अवस्थाको भन्दा तीव्र गतिमा बहन थालेमा हावाहुरी लागेको भन्ने गरिन्छ। हावा जुनसुकै बेला पनि चल्छ। तर, पि–मनसुनमा हावाले हुरीको रुप लिने जोखिम बढी हुन्छ।

बिहानै चर्को घाम लागेपछि जमिन तात्दा दिउँसो बहने हावामाथि जान्छ। चिसो हावा भने तल आउने गर्छ। तर, राति उल्टो गरी बहन्छ। त्यतिबेला पनि हुरी चल्ने गर्छ।

वरिष्ठ मौसमविद् श्रेष्ठका अनुसार सामान्यतया वायु उच्चचापीय क्षेत्रबाट निम्न चापिय क्षेत्रमा बहने गर्छ। जमिन तातेपछि जमिनको हावामाथि जान्छ। अनि हावा सहतभन्दा माथि वायुमण्डलमा गएपछि तल जमिन केही खाली हुन खोज्दा त्यहाँ निम्न चापिय क्षेत्र बन्ने गर्दछ। निम्न चापीय क्षेत्रमा आसपासको उच्चचापीय क्षेत्रबाट हावा बहन्छ। यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा हावाको वेग केही बढी हुने गर्दछ। र, हावा लागेकाे महसुस गरिन्छ।

‘वायुमण्डलको विभिन्न क्षेत्र तथा तहमा वायुको गतिमा केहि उतारचढाब भैरहेको हुन्छ र यसमा पृथ्वीको गतिले पनि केहि भूमिका खेलेको हुन्छ,’ उनी भन्छन्, ‘गति असामान्य हुँदा उत्पन्न हुने उतारचढावका कारण विभिन्न ठाउँमा निम्न चापिय क्षेत्रको विकास हुन्छ। न्यूनचापीक्षेत्र विकास भएको ठाउँमा पनि उच्चचापीय क्षेत्रबाट निम्न चापिय क्षेत्रमा हावा बहन्छ । यसो हुँदा पनि हवाको गति केहि बढी हुने गर्दछ।’

ताजा समाचार

सम्बन्धित समाचार